काठमाडौं । जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेशको महेन्द्रपुलस्थित नेपाल दूरसञ्चार कम्पनीको प्रदेश निर्देशनालय भवनमा तोडफोड तथा आगजनी हुँदा १ सय रुपैयाँ मूल्यका ७० हजार र ५ सय रुपैयाँ मूल्यका करिब २ सय कार्ड चोरी भएका छन् ।
यी कार्डबाट कुल ७१ लाख रूपैयाँ बराबरको रिचार्ज गर्न सकिन्छ। आइतबार नेपाल टेलिकमले आपतकालीन सूचना जारी गर्दै ती कार्ड प्रयोग नगर्न सबै उपभोक्तालाई आग्रह गरेको छ । ती कार्डका श्रेणी नम्बरसमेत सार्वजनिक गरिएको छ ।
सूचनामा भनिएको छ, ‘उक्त श्रेणी नम्बरभित्रका सबै कार्ड चोरी भएकाले प्रयोग नगर्नुहुन अनुरोध गरिन्छ । प्रयोगमा ल्याइएका कार्डले सेवामा समस्या उत्पन्न गराउन सक्छन् ।’ साथै, त्यस्ता कार्ड भेटेमा नजिकैको दूरसञ्चार कार्यालय वा प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ ।
नेपाल टेलिकमले चोरी भएका कार्ड बिक्री, वितरण तथा प्रयोग भए उपभोक्ताले नोक्सानी भोग्न सक्ने चेतावनी दिएको छ । थप जानकारीका लागि पोखरा प्रदेश निर्देशनालयको सम्पर्क नम्बर ०६१–५८०२०८० मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।







प्रतिक्रिया दिनुहोस्