काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रतितपत्र (एलसी) खोलेर मुस्ताङ नाकाबाट पनि बस्तु आयात गर्न दिन बैंकहरुलाई निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले आज एकीकृत परिपत्र–२०८१ संसोधन गर्दै यस्तो व्यवस्था गरेको हो । अर्थात्, एलसी खोलिसकेको अवस्थामा पनि मुस्ताङ भन्सारबाट जाँचपास गर्न सकिनेछ ।
यसअघि चिनियाँ भूभागबाट आउने बस्तु तातोपानी भन्सार, सिन्धुपाल्चोक र रसुवा भन्सार, रसुवाबाट जाँचपास हुने भएमा मात्रै एलसीको सुविधा दिने व्यवस्था थियो । अहिले राष्ट्र बैंकले मुस्ताङ भन्सारका लागि पनि यो सुविधा दिने व्यवस्था गरेको हो । ‘चिनियाँ भूभाग भई ट्रक वा रेलमार्गबाट प्रतीतपत्रमार्फत आयात गर्दा निम्न भन्सार नाकाहरूबाट सामान आयात गर्नु पर्नेछ । क. तातोपानी भन्सार (सिन्धुपाल्चोक), ख. रसुवा भन्सार, (रसुवा) र मुस्ताङ्ग भन्सार (मुस्ताङ्ग),’ परिपत्रमा भनिएको छ ।
गत असार २३ गते रसुवामा आएको बाढीले रसुवा भन्सार क्षतिग्रस्त बनाएको छ । चीनतर्फको व्यापारमा सोही भन्सार कार्यालय बढी प्रयोग हुन्छ । तर, बाढीले उक्त भन्सार कार्यालय क्षतिग्रस्त गराएपछि चीनतर्फको व्यापार प्रभावित भइरहेको छ । त्यससँग जोडिएका सडक पनि प्रभावित भएका छन् । चीनतर्फको बैदेशिक व्यापारलाई सहजीकरण गर्न राष्ट्र बैंकले मुस्ताङ भन्सारबाट जाँचपास गरी आयात गरिने बस्तुमा एलसीको सुविधा दिने व्यवस्था गरेको हो ।






प्रतिक्रिया दिनुहोस्