पत्रकार अनन्तराज न्यौपाने फेसबुकमा लेख्छन्– ‘एक मिडियाले आधारहीन र अपुष्ट खबर नबजाएको भए हिल्टन होटल जोगिनसक्थ्यो होला । त्यही मिडियाले छरेको भ्रम, स्टन्ट र प्रोपोगान्डाले अर्को विध्वंश सृजना गर्यो ।’
पत्रकार रञ्जित तामाङ फेसबुकमा लेख्छन्– ‘भ्यूज कमाउनेजस्तो तुच्छ कुराका लागि संयम गुमाएर बिना आधार पत्रकार बर्बराउँदा हिल्टन होटल खरानी बन्न पुग्यो । नेपाली पत्रकारिताको निधारमा हिल्टन होटलको ८ अर्बको कालो टीका पुस्तौंसम्म मेटिने छैन । म यस्तो धुन्धुकारी पत्रकारिताको पक्षमा न हिजो थिएँ, न आज, न भोलि नै ! सरी ।’
पत्रकार प्रकाशचन्द्र तिमल्सिना फेसबुकमा लेख्छन्– ‘हिल्टन होटल जल्नुको मुख्य दोषी दिलभूषण पाठक हो, उनको फेक युटयुबका कारणले सबैभन्दा ठूलो ब्रान्ड एक निमेषमा ध्वस्त भयो । यी त खासमा टंकेको मीत रहेछन् ।’
पत्रकार चेत नारायण फेसबुकमा लेख्छन्– ‘एक पत्रकारको गलत सूचना (मिस इन्फर्मेसन) सिकार बन्यो होटल हिल्टन, अनि उनै गलत सूचना दिन बकबक गर्ने पत्रकारले सहुलियतमा छोरी पढाएको युलेन्स स्कुल पनि खरानी भयो । अब ती बाबुले जेनजी उमेरकी उनकी छोरीलाई भन्न सक्छन् त ? ‘मेरो पत्रकारिताको मिस इन्फर्मेसनका कारण हिल्टन होटल र तिम्रो स्कुल जले, मिल्ने भए मलाई माफ गरिदिनु । हिल्टनमा मेरो मिस इन्फर्मेसन थियो जसकाे रापले युलेन्समा पनि आगोको लप्का देखियो ।’
पत्रकार सिताराम बराल फेसबुकमा लेख्छन्– जलेर ध्वस्त भएको हिल्टन होटलको हामी पत्रकारहरुलाई सन्देशः ‘राजनीतिक पार्टी र नेतृत्वमात्र होइन, सच्चिनुपर्ने आवश्यकता पत्रकारितामा अझ धेरै छ । प्रकाशन र प्रशारण गर्नुअघि के प्रकाशन–प्रशारण गर्ने–नगर्ने, दीर्घकालीन परिणाम हेरेर मात्र निर्णय गर्नु ल !
यी स्टाटस प्रतिनिधिमुलक मात्रै हुन् ।
जेनजी आन्दोलनमा हिल्टन होटलमा आन्दोलनकारीले करिब १४० पर्यटक बसेका होटलमा तोडफोड तथा आगजनी गरेपछि पत्रकार दिलभूषण पाठकले यसको जिम्मा लिनुपर्ने तर्क गर्दै आएका छन् । पाठकले आफ्नो युटुब च्यानल टफ टल्क विथ दिलभूषण पाठकमा टफ टल्क एक्सप्लेनरमा प्रशारण गरेको भिडियो कै कारण हिल्टन होटलमा धेरैको आँखा लागेको र आन्दोलनका क्रममा आगजनी गररे खरानी बनाएको धेरैको आकलन छ । त्यसको मूल कारणको रुपमा भदाै २४ गते आन्दोलनकारीले दिउँसो १२ बजेतिर होटलमा पुगेर तोडफोड र आगलागी गरे । केही घण्टाको अवधिमा होटल खण्डहर बन्यो ।
त्यही समाचारलाई लिइएको छ ।त्यही अपुष्ट समाचारका कारण होटलमा आगजनी भएको होटल व्यवस्थापनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । वैशाखमा जयवीर सिंह देउवा (पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तथा निवर्तमान परराष्ट्रमन्त्री आरजु देउवाका छोरा) को उक्त होटलमा लगानी रहेको भन्दै समाचार प्रकाशित भयो । त्यही पुष्टि नभएको समाचारलाई आधार बनाएर पाठकले २०८२ जेठ ३ गते आफ्नो युट्युब च्यानलमा भिडियो प्रशारण गरे । जुन निकै चर्चामा आयो । पछि होटल व्यवस्थापनले देउवाको कुनै लगानी नरहेको र प्रकाशित, प्रशारित समाचारमा कुनै सत्यता नभएको भन्दै समाचारको खण्डन गर्यो ।
घटना यतिमा मात्रै टुंगिएन, देउवाले गलत सूचना फैलाएको भन्दै साइबर ब्युरोमा पाठकविरुद्ध उजुरी दिए । पाठकलाई पक्राउ पुर्जी जारी भएपछि निकै विवाद चल्यो ।
तत्कालीन समयमा प्रकाशित भएका समाचार र सर्वसाधारणले गरेको चर्चा तथा यो विषयमा होटल व्यवस्थापन के भन्छ भन्ने विषय मात्रै ‘एक्स्प्लेनर’ भिडियो बनाएर प्रशारण गरेको पाठकको दाबी छ ।
भिडियो बाहिरिएपछि र अदालती प्रकृयामा जाँदा जति चर्चापरिचर्चा भयो त्योभन्दा धेरै अहिलेको भाषामा भन्नु पर्दा भिडियामा भएको केही अंश ‘भाइरल’ भयो । भाइरल बनाइयो । त्यो भिडियोको केही अंश मात्रै काटेर समाजिक संजाल फेसबुक रिल, युट्युब रिल, टिकटकमा धेरै चर्चा भयो ।
होटल व्यवस्थापनले होटलमा देउवा मात्रै नभएर उनको परिवारको कुनै लगानी नभएको दाबी गरेको छ । तर, समाजिक सञ्जालका चर्चामा आउनका लागि जे पनि गर्ने समाजले वास्तविकता केही बुझ्ने प्रयास गरेन। त्यही भिडियोमा भनिएको देउवाको नाम सम्झेर आक्रमण गर्यो । अर्बौ लगानी केही निमेषमा खण्डहर बन्यो।
उक्त होटलमा आगलागी भएपछि पत्रकारिता क्षेत्रका विभिन्न व्यक्तिहरुले सूचनाको स्रोत, गलत सूचनाले पार्ने प्रभाव, भिडियोमा भिउज कमाउने नाममा प्रशारण, प्रकाशन हुने सामग्रीका विषयमा प्रश्न गरेका छन् । कतिपयले यो घटनाको नैतिक जिम्मेवारी किन पाठकले नलिने भन्दै प्रश्न गरेका छन् ।
पुष्टि नभएको सूचनाका आधारमा भिडियो बनाएर भाइरल बनाउँदा अन्तर्राष्ट्रिय चेन रहेको हिल्टन होटल एन्ड रिसोर्ट्स जलेर साढे ८ अर्ब लगानी मात्रै खरानी भएन, यसले नेपालमा वैदेशिक लगानीमा पर्ने प्रभाव अहिले नै आंकलन गर्न सकिँदैन । उक्त होलटमा बसेका १४० पर्यटकले आफ्नो देशमा कस्तो सन्देश लैजान्छन ?
यो सबैभन्दा पेचिलो विषय हो । आफैले पुष्टि गर्न नसकिने सूचनालाई आधार मानेर, भिउजका लागि निर्माण हुने सामग्रीले कस्तो प्रभाव पार्ने रहेछ ? यो विषयमा नेपालको पत्रकारिता सचेत नहुने हो भने भोलीको दिनमा भदौ २४ गते मध्यन्न १२ बजेबाट दनदनी सल्केर कालो धुँवाको मुस्लोमा परिणत भएको साढे ८ अर्ब लागतको होटल हिल्टन पहिलो उदाहरण नहोला भन्ने के बेर ?
अहिले सामाजिक सञ्जालमा सबैका चासो यस्तै विषयमा परेको छ । यता होटल व्यवस्थापनले भने करिब १ वर्षमा होटललाई पुरानै अवस्थामा फर्काउने भन्दै विज्ञप्ति जारी गरेको छ । होटल पुनः निर्माण भएर सञ्चालनमा आउला, गल्ती गर्नेलाई राज्यले कारबाही गर्ला । तर, त्यो होटल केही समयअघिसम्म बसेका र केही समयको अन्तरालमा धुँवाको मुस्लोमा परिणत भएको होटल देख्ने विदेशी पर्यटकको मानस्पटलमा के पर्यो होला ? नेपाल प्रतिको उनीहरुको बुझाई के रह्यो होला ? नेपालमा लगानी गर्न चाहेका विदेशी लगानीकर्ताहरुले अहिले के सोचिरहेका होलान ?






प्रतिक्रिया दिनुहोस्