काठमाडौं । भदौै २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण नेपालको कन्ट्री रेटिङको काम तत्कालका लागि स्थगित भएको छ । २ दिनसम्म भएको विध्वसकारी आन्दोलनका कारण कन्ट्री रेटिङको काम तत्कालका लागि स्थगन भएको हो ।
अन्तर्राष्ट्रिय एजेन्सी फिच रेटिङ्सका प्रतिनिधि सोभरेन क्रेडिट रेटिङको लागि अवस्था बुझ्न भदौ २४ गते नेपाल आउने कार्यक्रम तय भएको थियो । २३ गतेदेखि नै जेनजीले गरेको आन्दोलनका कारण यो प्रकृया स्थगन भएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता टंकप्रसाद पाण्डेयले उक्त आन्दोलनका कारण यो काम तत्कालका लागि स्थगन भएको बताए ।
‘सोभरेन क्रेडिट रेटिङका लागि अन्तर्राष्ट्रिय एजेन्सी फिचका प्रतिनिधि सोभरेन क्रेडिट रेटिङका लागि २४ गते नेपाल आउने समय तय भएको थियो’ प्रवक्ता पाण्डेयले भने, ‘२३ गतेदेखि आन्दोलन सुरु भएपछि २४ गते उहाँहरु आउन सक्नुभएन । तत्कालका लागि यो स्थगन भएको छ ।’
सोभरेन क्रेडिट रेटिङका लागि अन्तर्राष्ट्रिय एजेन्सी फिचले नेपालको रेटिङ गर्ने गरेको छ । लामो समयदेखि नेपालमा वैदेशिक लगानी कम भित्र्दै गएको छ । ‘गएको २० वर्षदेखि नेपालमा वैदेशिक लगानी कम हुँदै आएको छ’ नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल भन्छन्, ‘फिचको टोली नेपाल आउने तयारी हुँदै गर्दा आउन सकेन, यसले हाम्रो विश्वसनियता धरासायी बन्छ ।’ यसले अहिले मात्रै नभएर दीर्घकालमा पनि समस्या पर्ने उनको भनाइ छ ।
गत वर्ष फिचले गरेको सोभरेन क्रेडिट रेटिङमा नेपालले बीबी माइनस रेटिङ पाएको छ । जेनजी आन्दोलन नभएको थियो भने समयमा नै वर्ष पनि सोभरेन क्रेडिट रेटिङ हुने थियो । त्यसका लागि अर्थ मन्त्रालयले पनि धेरै काम गरेको थियो ।
निवर्तमान अर्थमन्त्री बिष्णु पौडेलले भदौ ९ रेटिङको गृहकार्य सुरु गर्न भन्दै मन्त्रालयमा बैठकसमेत डाकेका थिए । क्रेडिट रेटिङको तयारीका लागि ९ गते मन्त्रालयमा बसेको बैठकमा तयारी राम्रोसँग गर्ने र नेपालले हासिल गरेका उपलब्धिहरुलाई व्यवस्थित रुपमा प्रस्तुत गर्ने निर्णय गरेको थियो ।
बैठकमा पौडेलले नेपालले एक वर्षमा उल्लेखनीय प्रगति गरेको सन्देश जाने गरी तयारी गर्न निर्देशन दिएका थिए । फिचको टोली नेपाल आउने अघिल्लो दिनबाट जेनजीले गरेको आन्दोलनका कारण खर्बौंको क्षति भएको छ । त्यसले अन्तर्राष्ट्रिय बजारमा कस्तो सन्देश जाने हो ? हाम्रो विश्वसनियता के हुने हो ? भन्ने चिन्ता बढेको गभर्नर पौडेलको तर्क छ ।
यस पटकको रेटिङमा सरकारले अर्थतन्त्र, नीति तथा कानुनी क्षेत्र र सुशासनका क्षेत्रमा भएका सुधारका साथै राजनीतिक स्थायित्व, सडक, पर्यटन, जलविद्युत लगायतमा हासिल भएका उपलब्धिहरुलाई प्राथमिकता दिने तयारी गरेको थियो ।
देशमा भ्रष्टाचार बढ्यो, कुशासन भयो भन्दै जेनजीले गरेको आन्दोलनले सुशासन, राजनीतिक स्थायित्वमा थप प्रश्न खडा गरेको छ । जेनजी आन्दोलनका कारण नेपाल भित्रने पर्यटकको संख्यामा सुधार आउन समय लाग्ने बताइन्छ ।
यो नेपालमा पर्यटक भित्रने समय हो । जेनजी आन्दोलनकारीले गरेको आन्दोलनका हिलटन होटल, बर्णवास लगायत होटलमा लागेको आगोका कारण पर्यटकको आगमनमा कमी आउने कतिपयको तर्क छ । त्यसले पनि अब हुने रेटिङमा असर पर्न सक्ने बताइन्छ ।
जेनजीको आन्दोलन नभएको भए यो पटक नेपालले गत वर्षको भन्दा राम्रो रेटिङ पाउने सरकारको अपेक्षा थियो । साउन मसान्तसम्म नेपालमा कुल विदेशी विनिमय सञ्चिति २८ खर्ब ६ अर्ब ४ करोड रहेको छ । अमेरिकी डलरमा उक्त सञ्चिति २० अर्ब ३ करोड पुगेको छ । यस्तो सञ्चिति १६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।
नेपालमा विदेशी मुद्रा सञ्चिति धेरै भएको तथा ६ प्रतिशतको उच्च आर्थिक वृद्धिको प्रक्षेपणका आधारमा समेत फिचले नेपाललाई गत वर्षको तुलनामा राम्रो रेटिङ दिने सरकारको अपेक्षा थियो । जेनजी आन्दोलनका कारण यो सबै स्थगन भएको छ ।






प्रतिक्रिया दिनुहोस्