काठमाडौं । एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी निर्देशक (सीईओ) रोशनकुमार न्यौपानेले असोज १ गते राजीनामा दिए । उनले आफ्नो दोस्रो कार्यकाल सकिन एक वर्ष बाँकी हुँदा बैंक छोडे ।
२०७५ साल मंसिरदेखि बैंकको सीईओ पद सम्हालेका उनलाई २०७९ कात्तिक १६ गते दोस्रो कार्यकालका लागि पुन: नियुक्त गरिएको थियो । दोस्रो कार्यकाल पूरा गर्न १ वर्ष बाँकी छँदै गत बुधबार राजीनामा दिए । न्यौपानेले नेतृत्व गरेको सुरुवातका वर्षहरूमा बैंकले राम्रो प्रगति गरेको देखिए तापनि पछिल्लो समय बैंकका अधिकांश सूचकहरू खस्किँदै थिए ।
बैंकमा पछिल्लो केही समययता वित्तीय सूचकहरूमा गिरावट आइरहेको छ । बैंकको वित्तीय सूचकमा गिरावट आउनु कारणमा प्रत्यक्ष वा परोक्ष रूपमा सीईओलाई जोडेर हेरिने गरिन्छ । पछिल्लो समय बैंकको नाफा, प्रतिसेयर आम्दानी, प्रतिसेयर नेटवर्थ तथा लाभांश क्षमतामा पनि गिरावट आइरहेको बैंकले सार्वजनिक गरेको वित्तीय विवरणले देखाउँछ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा बैंकको खराब कर्जा लगायतका सूचक पनि बढ्दो देखिन्छ । यसले बैंकलाई ऋणको जोखिम बढ्दै गएको संकेत गर्छ । विगतमा लाभांश बाँड्दै आएको बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश बाँड्न नसक्ने अवस्था रहेको बैंकले सार्वजनिक गरेको नन अडिट रिपाेर्टले देखाउँछ । गत आर्थिक वर्षसम्म आउँदा बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ४० पैसामात्रै छ ।
न्यौपाने सीईओ नियुक्त हुँदा बैंकको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ३१ पैसा थियो । न्यौपाने दोस्रो कार्यकालका लागि नियुक्त हुँदा प्रतिसेयर आम्दानी बढेर ३९ रुपैयाँ १३ पैसा रहेको थियो । पछिल्लो तीन वर्षमा बैंकको यस्तो आम्दानी निकै घटेको छ ।
बैंकको प्रतिसेयर नेटवर्थ पनि घट्दै गएको छ । न्यौपाने बैंकको सीईओमा नियुक्त हुँदा प्रतिसेयर नेटवर्थ १४९.९३ रुपैयाँ रहेको थियो । हाल बैंकको प्रतिसेयर नेटवर्थ १९९.३० पैसा रहेको छ । न्यौपाने दोस्रो कार्यकालको नियुक्त हुँदा बैंकको प्रतिसेयर नेटवर्क २१७.५२ रुपैयाँ थियो ।
गत आर्थिक वर्ष २०८१/८२ मा बैंकले २ खर्ब ९४ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको छ । बैंकको सीईओ न्यौपाने नियुक्त हुँदा १ खर्ब ६९ अर्ब ४३ करोड ४६ लाख निक्षेप संकलन गरेको थियो । न्यौपानेले बैंकको दोस्रो कार्यकाल सम्हाल्दा २ खर्ब ८९ अर्ब ४९ करोड ७९ लाख रुपैयाँ निक्षेप संकलन गरेका थिए ।
बैंकको निक्षेप ३ वर्षमा थोरै सुधार भएको छ । ७ वर्ष अगाडि १ खर्ब ४० अर्ब ५२ करोड रुपैयाँ कर्जा लगानी गरेको बैंकले गत आर्थिक वर्षसम्म आउँदा २ खर्ब ३३ अर्ब ४३ करोड रुपैयाँ बराबर कर्जा लगानी गरेको छ । न्यौपाने दोस्रो कार्यकालको लागि बैंकमा नियुक्त हुँदा बैंकले २ खर्ब ५२ अर्ब ४४ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।
न्यौपाने नियुक्त भएको वर्ष ७५ करोड ७८ लाख ६ लाख ७० हजार रुपैयाँ नाफा कमाएको बैंकले उनी दोस्रो कार्यकालका लागि नियुक्त हुँदासम्म ४ अर्ब ५२ करोड ५४ लाख २२ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ । बैंकले चालु आर्थिक वर्षको साउन मसान्तसम्म आउँदा ३१ करोड ९३ लाख नाफा कमाएको छ । बैंकको नाफा न्यौपानेको दोस्रो कार्यकालपछि खस्किँदो अवस्थामा रहेको देखिन्छ ।
यस अवधिमा बैंकको चुक्ता पुँजी भने बढेको छ । बैंकले बोनस सेयर बाँडेर चुक्ता पुँजी बढाउन सफल भएको हो । यस बैंकले आर्थिक वर्ष २०७९/८० मा आफ्ना लगानीकर्तालाई २९ प्रतिशत बोनस सेयर दिएको थियो । ३ वर्षको लाभांश एकै पटक दिँदा बैंकको लाभांश धेरै देखिएको हो ।
न्यौपाने बैंकको सीईओमा नियुक्त भएको वर्ष बैंकले २१ प्रतिशत लाभांश बाँडेको थियो । उक्त वर्ष बैंकले ११ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर बाँडेको थियो । त्यसपछिका केही वर्ष बैंकले लाभांश बाँडेको भए पनि २ आर्थिक वर्ष बैंकको पुँजी कोष पर्याप्त नहुँदा बैंकले लाभांश वितरण गर्न पाएको थिएन ।
हाल यस बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको छ । न्यौपाने सीईओमा नियुक्त भएको वर्ष बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ थियो । न्यौपानेले दोस्रो कार्यभार समाल्दा चुक्ता पुँजी ११ अर्ब ५६ करोड रुपैयाँ पुगेको थियो ।
बैंकको खराब कर्जा ३ वर्षको अवधिमा व्यापक रूपमा बढेको छ । आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको तुलनामा गत आर्थिक वर्ष (२०८०/८१) सम्म आउँदा बैंकको खराब कर्जा उच्च रूपमा बढेको हो । आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्म ०.४९ प्रतशितमात्र रहेको बैंकको खराब कर्जा गत आर्थिक वर्षसम्म आउँदा १.९२ प्रतिशत पुगेको छ । न्यौपाने नियुक्त भएको वर्ष (आर्थिक वर्ष २०७५/७६) मा यस बैंकको खराब कर्जा ०.२६ प्रतिशतमात्रै थियो । बैंकको खराब कर्जा बर्सेनि बढ्दै गएको छ ।
बैंकले एक समयमा अन्धाधुन्धा कर्जा प्रवाह गरेको थियो । त्यो कर्जा नउठेर अहिले बैंकले हैरानी खेप्दै आएको छ । बैंकले कर्जा उठाउन नसकेर दैनिक जसो लिलामीका सूचना निकाल्दै आएको छ । तै पनि लिलामी बिक्न सकेको छैन । बैंकले लिलामी गरेको सम्पत्ति बिक्री गर्न नसक्दा गैरबैंकिङ सम्पत्ति बढिरहेको छ ।






प्रतिक्रिया दिनुहोस्