काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का कर्मचारीले श्रम अदालतले भने अनुसारका बोनस नदिएको भन्दै अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई करिब १३ घन्टासम्म कार्यालयमा बन्दी बनाएका छन् । नेप्सेका कर्मचारी युनियनले मंगलबार बिहान ११ बजेदेखि राति करिब १२ बजेसम्म अध्यक्ष र सीईओलाई कार्यालयमा नै थुनेर राखेका हुुन् ।
कर्मचारीलेहरुले अध्यक्ष र सीईओलाई कार्यालयमा थुनेर राखेपछि पटक-पटक प्रहरी नेप्सेमा पुगेको थियो । प्रहरी पुग्दा विवाद मिलिसक्यो भनेर फिर्ता पठाएका थिए । मध्ये रातिसम्म पनि कर्मचारीले अध्यक्ष र सीईओलाई बन्दी बनाएर राखेपछि प्रहरी वृत सिंहदरबारको टोली करिब साढे १० बजे नेप्सेमा पुगेर करिब १२ बजे कर्मचारीको रोहबरमा सबैलाई घर पठाइएको स्रोतको दाबी छ ।
नेप्सेका कर्मचारीले नाफाबाट ५ प्रतिशत बोनस सेयर पाउँदै आएका थिए । चार वर्षअघि अर्थ मन्त्रालयले १ प्रतिशत मात्रै बोनस दिनु भनेर निर्देशन दियो । अर्थको निर्देशनपछि नेप्से सञ्चालक समितिले कर्मचारीलाई १ प्रतिशत मात्रै बोनस दिने भयो। सञ्चालक समितिको उक्त निर्णयको विरोध गर्दै नेप्सेका कर्मचारी युनियन श्रम अदालत गयो । श्रम अदालतले ५ प्रतिशत बोनस सेयर दिनुभन्दै गत असारमा आदेश दियो । कर्मचारी अदालतको आदेशअनुसार ५ प्रतिशत बोनस सेयर पाउनुपर्ने माग गरिरहेका थिए । तर, सञ्चालक समितिले श्रम अदालतको आदेशले मात्रै नपुग्ने मन्त्रालयको पनि निर्देशन चाहिने अडान लियो ।
बोनस नियमावलीको ६ (३) मा अर्थ मन्त्रालयले स्वीकृति दिनुपर्ने भन्ने व्यवस्था छ । व्यवस्थापन त्यही नियमावली देखाएर अर्थको सहमति बिना निर्णय गर्न नसकिने अडानमा रहेको छ । यता कर्मचारीहरु भने अदालतभन्दा ठूलो मन्त्रालय होइन । अदालतको आदेशअनुसारको बोनस चाहिने अडानमा छन् । सोही अडानका कारण मंगलबार अध्यक्ष, सीईओसहित उच्च पदस्थ कर्मचारी नेप्सेमा थुनिएका हुन् ।
चार वर्षअघिसम्म ५ प्रतिशत बोनस पाइराखेका कर्मचारी गएको चौथो वर्ष मन्त्रालयले १ प्रतिशत मात्रै बोनस दिन निर्देशन दिएपछि बोनस नलिइ बसेका छन् । ५ प्रतिशत बोनस पाउ भनेर श्रम अदालत गएको युनियनले मन्त्रालयलाई भने विपक्षी बनाएको छैन । यदि युनियन अदालत जाँदा मन्त्रालयलाई पनि बिपक्षी बनाएको थियो भने अदालतले दिएको आदेश मन्त्रालयले पनि कार्यान्वयन गर्नुपर्ने हुने थियो । यो विवाद आउने थिएन । कर्मचारीले बोनस पाउने थिए ।
अहिले युनियन अदालतको आदेश देखाउने, सञ्चालक समितिले बोनस विनियमावली देखाउँदै अर्थको निर्देशन देखाउनाले विवाद चुलिएको हो । उक्त विवादका कारण अध्यक्ष, सीईओसहित उच्च पदस्थ कर्मचारी मंगलबार कार्यकक्षमा नै करिब १३ घन्टा बन्धक बनेको नेप्से स्रोतको भनाइ छ ।
नेप्सेका कर्मचारी युनियनले श्रम अदालतमा नाफाबाट कर्मचारीले बोनस पाउनुपर्ने भन्दै दिएको निवेदनमा बोनस दिन आदेश दिएको थियो । तर, श्रम अदालतको आदेशविपरीत नेप्से सञ्चालक समितिले कर्मचारीलाई बोनस नदिने निर्णय गरेपछि उनीहरू आन्दोलित भएका हुन् । कर्मचारीले प्रदर्शन गर्दै रातिको १ बजेसम्म अध्यक्ष र सीईओ सहितका पदाधिकरीलाई कार्यालयमा नै थुनेर राखेका हुन् ।
नेप्सेका कर्मचारी आज पनि आन्दोलनमा नै रहेका छन् । उनीहरुले श्रम अदालतको आदेश अनुसार बोनस पाउनुपर्ने माग गरेका छन् । आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने कर्मचारीको भनाइ छ । आज हातमा कालोपट्टी बाँधेर काम गरिरहेका छन् ।






प्रतिक्रिया दिनुहोस्