Skip to content

एनआरएन अध्यक्ष श्रेष्ठले गरे बग्गीखानाको अनुगमन, सुरक्षा निकायसँग समन्वय गरेर पुनर्निर्माणमा सघाउने

nabil bank

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसी अध्यक्ष महेशकुमार श्रेष्ठले सुरक्षा निकायसँग समन्वय गरेर पुनर्निर्माण सघाउने बताएका छन् ।

गत भदौ २३ र २४ को जेन जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको काठमाडौँ उपत्यकाको ट्राफिक कन्ट्रोल रुम पुनर्निर्माण कार्यको अनुगमन गर्दै अध्यक्ष श्रेष्ठले यस्तो बताए ।

बग्गीखानास्थित ट्राफिक प्रमुख एसपी नवराज अधिकारीसँगको भेटमा अध्यक्ष श्रेष्ठले जनजीवन सामान्य बनाउन र समाजलाई लयमा फर्काउन सडक सुरक्षा अत्यन्तै महत्त्वपूर्ण भएकाले आफूहरूले पुनर्निर्माणमा सघाउन लागेको बताए ।

सो अवसरमा एसपी अधिकारीले एनआरएनएले गरेको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्य गरेर अघि बढ्नु पर्नेमा जोड दिए । अहिले कार्यालयको सेवा टेन्टबाट भइरहेको र ट्राफिक कन्ट्रोल रुम सञ्चालनमा आएपछि धेरै सहज हुने उनले बताए ।

एनआरएनए उपाध्यक्ष एवं डिजास्टर म्यानेजमेन्ट कमिटीका संयोजक मनोज श्रेष्ठ ुगोर्खालीु ले अहिले फाउन्डेसनको काम भइरहेको बताउँदै उपकरणहरू चाँडै जडान हुने बताए । यसैगरी सहसंयोजक एवं महिला उपाध्यक्ष रश्मि थापाले कामदारको सङ्ख्या बढाएर भए पनि दसैँको टिका अगाडि काम सक्ने तयारी रहेको जानकारी दिइन् ।

प्रदर्शनका क्रममा ट्राफिक कन्ट्रोल रुमको सबै संरचना जलेर ध्वस्त भएको छ । उक्त संरचना तयार पार्नका लागि कम्तीमा ८० लाख लाग्ने अनुमान गरिएको छ । एनआरएनएले कम्प्युटर, टिभी, फर्निचर, रेडियो सेट लगायतका उपकरण प्रदान गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए । यस्तै, एनआरएन अभियन्ता राजेन्द्र कुमार (आरके) शर्माले नेपाल सरकारले प्रवासमा बस्ने नेपालीहरूसँग सहकार्य गरेर पुनर्निर्माणमा ध्यान केन्द्रित गर्नु पर्नेमा जोडदिए ।

यसैगरी, मङ्गलवार नै अध्यक्ष श्रेष्ठले रानीपोखरीस्थित काठमाडौँ उपत्यका प्रहरी कार्यालयका एआइजी दानबहादुर कार्कीसँग पनि छलफल गरेका छन् । एआइजी कार्कीले पनि प्रहरीलाई आवश्यक पर्ने उपकरणहरू सहयोग गर्न लागेकोमा धन्यवाद दिए । सो अवसरमा एनआरएनए अभिन्ता जानकी गुरुङ, युवा संयोजक भीमसेन थापा, सदस्य सचिव धर्मराज गिरी, सदस्यहरू प्रदीप खनाल, नीराजन खत्री लगायतको सहभागिता रहेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime