काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कर्मचारीले दोस्रो दिन पनि आन्दोलन जारी राखेका छन् । नेप्से सिध्याउन लागेको भन्दै अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ) विरुद्ध कर्मचारीहरु मंगलबारदेखि आन्दोलनमा उत्रिएका हुन् ।
कर्मचारीले नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सिइओ) लाई कार्यालयमा प्रवेश गर्न नदी आन्दोलन जारी राखेका छन् । मंगलबार कर्मचारीलेहरुले अध्यक्ष र सीईओलाई कार्यालयमा थुनेर राखेपछि पटक–पटक प्रहरी नेप्सेमा पुगेको थियो । प्रहरी पुग्दा विवाद मिलिसक्यो भनेर फिर्ता पठाएका थिए । मध्ये रातिसम्म पनि कर्मचारीले अध्यक्ष र सीईओलाई बन्दी बनाएर राखेपछि प्रहरी वृत सिंहदरबारको टोली करिब साढे १० बजे नेप्सेमा पुगेर करिब १२ बजे कर्मचारीको रोहबरमा सबैलाई घर पठाइएको स्रोतको दाबी छ ।
नेप्सेका कर्मचारीले नाफाबाट ५ प्रतिशत बोनस सेयर पाउँदै आएका थिए । चार वर्षअघि अर्थ मन्त्रालयले १ प्रतिशत मात्रै बोनस दिनु भनेर निर्देशन दियो । अर्थको निर्देशनपछि नेप्से सञ्चालक समितिले कर्मचारीलाई १ प्रतिशत मात्रै बोनस दिने भयो। सञ्चालक समितिको उक्त निर्णयको विरोध गर्दै नेप्सेका कर्मचारी युनियन श्रम अदालत गयो ।
श्रम अदालतले ५ प्रतिशत बोनस सेयर दिनुभन्दै गत असारमा आदेश दियो । कर्मचारी अदालतको आदेशअनुसार ५ प्रतिशत बोनस सेयर पाउनुपर्ने माग गरिरहेका थिए । तर, सञ्चालक समितिले श्रम अदालतको आदेशले मात्रै नपुग्ने मन्त्रालयको पनि निर्देशन चाहिने अडान लियो ।
बोनस नियमावलीको ६ (३) मा अर्थ मन्त्रालयले स्वीकृति दिनुपर्ने भन्ने व्यवस्था छ । व्यवस्थापन त्यही नियमावली देखाएर अर्थको सहमति बिना निर्णय गर्न नसकिने अडानमा रहेको छ । यता कर्मचारीहरु भने अदालतभन्दा ठूलो मन्त्रालय होइन । अदालतको आदेशअनुसारको बोनस चाहिने अडानमा छन् ।






प्रतिक्रिया दिनुहोस्