Skip to content

जेनजी आन्दोलनले पर्यटन व्यवसायमा धक्का, व्यवसायीले ऋण तिर्न नसक्दा बैंकको खराब कर्जा बढ्ने सम्भावना

nabil bank

काठमाडौं । जेनजी आन्दोलनका कारण पर्यटन व्यवसायमा धक्का पुग्ने देखिएको छ । व्यवसायमा धक्का पर्दा त्यसको असर बैंकमा समेत पर्ने बताइन्छ ।

आन्दोलनले सृजना गर्ने असुरक्षालाई देखाउँदै विदेशी पर्यटनको आगमन घट्न सक्ने व्यवसायीको भनाइ छ । पर्यटन आगमनमा कमी आउँदा ऋण लिएर व्यवसाय गर्नेलाई बैंकको ऋण तिर्न समस्या पर्ने भएको छ । पर्यटन तथा होटल व्यवसायीले समयमा बैंकको ऋण तिर्न नसक्दा बैंकको खराब कर्जा बढ्ने सम्भावना उत्तिकै छ ।

कोभिड–१९ महामारीको चपेटाबाट बिस्तारै तङ्ग्रिँदै गरेको नेपालको पर्यटन क्षेत्र, जेनजी आन्दोलनका कारण नयाँ फेरि समस्यामा पर्ने देखिएको छ । सामाजिक न्याय, सुशासन, रोजगारीका अवसर र भ्रष्टाचारमुक्त समाजको मागसहित देशका प्रमुख सहरहरूमा चर्किएको यो आन्दोलनले अनपेक्षित रूपमा पर्यटन उद्योगलाई गहिरो असर पुर्याएको पर्यटन व्यवसायीहरूको धारणा छ । पर्यटन व्यवसायमा संकट गहिरिँदै जाँदा बैंक तथा वित्तीय संस्थाले गरेको लगानी पनि संकटमा रहेको देखिन्छ । जसको कारण बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढ्ने सम्भावना बढेको छ ।

नेपालको अर्थतन्त्रमा पर्यटनको भूमिका हाल २ प्रतिशतको हाराहारीमा रहेको छ। हाल नेपालमा बर्सेनि ७ लाखको हाराहारीमा पर्यटन भित्रिने गरेका छन् । राष्ट्रिय योजना आयोगका अनुसार आर्थिक वर्ष २०८५/८६ सम्म वार्षिक पर्यटक आगमन वार्षिक २५ लाख पुर्याउने लक्ष्य राखिएको थियो । आर्थिक वर्ष २०८५/८६ सम्म नेपालको जीडीपीमा पर्यटनको योगदान ७ प्रतिशत पुर्याउने भनिएको थियो । तर, यसमा धक्का पुगेको पर्यटन व्यवसायीहरूको बुझाई छ ।

जेनजी आन्दोलनको कारण बहुराष्ट्रिय होटल कम्पनी ध्वस्त भएको छ । जेनजी आन्दोलनका क्रममा हिल्टन, ह्यात रिजेन्सी होटल लगायतका कम्पनीहरूमा आगजनी भएको छ । होटल संघ नेपालका अनुसार जेनजी आन्दोलनमा झन्डै २ दर्जन होटलमा ठूलो क्षति पुगेको छ । संघको अनुसार देशभरि २ दर्जन होटलमा क्षति पुग्नुका साथै २५ अर्ब रुपैयाँभन्दा धेरैको क्षति भएकाे छ । ‘प्रत्यक्ष रूपमा क्षति भएको होटलको मूल्यांकन भइरहेकाे छ । बीमा गरेका कम्पनीको क्षतिलाई बीमाले रिकभर गर्छ ।’ एक होटल व्यवसायी भन्छन्, ‘तर, आन्दोलनका क्रममा क्षति नभएका पर्यटन तथा होटल व्यवसायीलाई झनै अप्ठ्यारो अवस्था आएको छ । यो आन्दोलनको कारण ३० प्रतिशतसम्मको ‘अकुपेन्सी’ रद्द भएको छ ।’

जेनजी आन्दोलनको कारण नेपालमा आउने पर्यटनको सङ्ख्यामा ३० देखि ४० प्रतिशतसम्म गिरावट आएको ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डे बताउँछन् । ‘यो बेला पर्यटनको सिजन हो । सिजनको बेलामा आन्दोलन भयो,’ उनी भन्छन्, ‘यसले यो वर्षको पर्यटन व्यवसायमा ३० देखि ४० प्रतिशतसम्मको घाटा हुने अनुमान छ ।’

आन्दोलनका कारण व्यवसायमा सँगै युवाको रोजगारमा पनि असर परेको उनले बताए । पछिल्लो समयको राजनीतिक अस्थिरताले पर्यटन व्यवसायमा नै धेरै ठूलो असर गरेको उनको बुझाई छ । ‘बहुदल आएपछि नेपालको टुरिजम क्षेत्र कुपोषण लागेको बच्चा जस्तै भएको उनको भनाई छ ।’ उनी भन्छन्, ‘नेपालमा पर्यटन क्षेत्रमा वृद्धि भइरहेको तथ्यांक आउने गरेको प्रतिअसहमति जनाउँदै निकै सुस्त गतिमा बढिरहेको बताए । सन् १९९८ मा ४ लाख ६३ हजार पर्यटक आएको नेपालमा अहिले ११ लाख ५० हजार मात्रै आएको बताए ।’

विदेशी पर्यटकहरूले कुनै पनि देशको भ्रमण गर्नुअघि त्यहाँको शान्ति सुरक्षाको अवस्था र राजनीतिक स्थिरतालाई गम्भीरतापूर्वक मूल्यांकन गर्छन्। अहिले नेपालमा देखिएको अस्थिरताको चित्रले अन्तर्राष्ट्रिय मिडियामा समेत स्थान पाएको छ, जसले सम्भावित पर्यटकहरूलाई नेपालभन्दा अन्य तुलनात्मक रूपमा शान्त र स्थिर गन्तव्यतर्फ आकर्षित गरिरहेको छ ।

नेपालमा पर्यटनको सिजन भनेको अक्टोबर–नोभेम्बर हो । पर्यटकीय सिजन सुरु हुनै लाग्दा पनि विदेशी पर्यटकको बुकिङ नै क्यान्सिल गर्नुपर्ने अवस्था आएको सम्बद्ध क्षेत्रका व्यवसायीहरू बताउँछन् । विशेष गरी, सगरमाथा क्षेत्र, अन्नपूर्ण सर्किट, लाङटाङलगायतका पदयात्रा रुटहरूमा पर्यटकको संख्यामा उल्लेख्य कमी आएको छ। ‘लामो पदयात्राका लागि आउने पर्यटकहरूले महिनौँ पहिले योजना बनाएका हुन्छन्। यात्राको क्रममा आउने कुनै पनि अवरोधले उनीहरूको सम्पूर्ण तालिका बिग्रन्छ, जसले गर्दा धेरैले नेपाल यात्राको सट्टा अन्यत्र जाने निर्णय गरेका छन्,’ पाण्डे भन्छन् ।

बैंकको खराब कर्जा बढ्ने चिन्ता

पर्यटन र होटल व्यवसायमा देखिएको समस्याले नेपालको वित्तीय प्रणालीमा समेत असर पार्ने जोखिम बढाएको छ। नेपाली बैंक तथा वित्तीय संस्थाहरूले पर्यटन,  होटल,  कृषि, जलविद्युत र घरजग्गा लगायतका क्षेत्रहरूमा ठूलो मात्रामा कर्जा लगानी गरेका छन्। कोभिड महामारीको समयमा यी क्षेत्रमा खराब कर्जाको दर उल्लेख्य रूपमा बढेको थियो । कोभिड–१९ को असर कम गर्न राष्ट्र बैंकको व्यवसायीलाई पुनर्संरचना तथा पुनर्तालिकीकरण गरेर व्यवस्थापन गरेको थियो। तर, अहिलेको अवस्थाले फेरि त्यस्तै खराब कर्जा बढ्ने सक्ने चिन्ता बैंकरहरूमा बढेको छ। यद्यपि राष्ट्र बैंकले जेनजी आन्दोलन कारण क्षति भएको व्यवसायको लागि पनि शुक्रबार कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्ने व्यवस्था गरेको छ । तर, यसले क्षति भएको व्यवसायलाई मात्र समेट छ ।

‘सिजनमा हुने व्यवसायमा आन्दोलनको कारण समस्या आयो । यसले आम्दानी घट्छ । आम्दानी घट्ने बित्तिकै ऋण तिर्न गाह्राे’  पाण्डे भन्छन्, ‘हाम्रो आम्दानी ५० देखि ६० प्रतिशत अपरेटिङ कष्टमा नै खर्च भएको हुन्छ । यसैगरी, कर तिर्न पर्याे बैंकको ब्याजदर तिर्न पर्याे ।’ पछिल्लो केही वर्षयता बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढ्दो अवस्थामा रहेको छ । यस आन्दोलनको कारण बैंकहरुलाई थप चुनौती थपिएको एक बैंकर बताउँछन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार हाल बैंक तथा वित्तीय क्षेत्रको खराब कर्जाको रेसियो औसत ४.६२ प्रतिशत रहेको छ । जसमा वाणिज्य बैंकको खराब कर्जा ४.४४ प्रतिशत रहेको छ भने विकास बैंकको खराब कर्जा ५.०५ प्रतिशत रहेको छ । फाइनान्स कम्पनीको खराब कर्जा ११.०५ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime