काठमाडौं । नेपाल राष्ट्र बैकले गभर्नर विश्वनाथ प्रा.डा पौडेलका लागि ललितपुरमा घर भाडामा खोज्न थालेको छ । जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीहरुले गभर्नर पौडेलको घरमा तोडफोड र आगजनी गरेपछि अहिले भाडामा घर खोजिएको छ ।
राष्ट्र बैंक खरिद विनियमावली, २०७१ (पाँचौ संसोधन समेत) को विनियम ९० को उप विनियम (१) अनुसार ललितपुर जिल्ला, ललितपुर महानगरपालिकाको बखुण्डोलदेखि भैंसेपाटीसम्मको क्षेत्रमा घर खोजिएको छ ।
राष्ट्र बैंकका अनुसार कम्तीमा १६ आनादेखि २४ आनासम्म जग्गा भएको, ६ वटा कार र जीप पार्किङ्ग गर्न मिल्ने, आरसिसी स्ट्रक्चरसहित कम्तीमा १००० वर्ग फिट पिलिन्थ क्षेत्रफलमा निर्माण भएको घर भाडामा खोजिएको हो ।
घरमा कम्तीमा एउटा मास्टर बेडरुमसहित ४ वटा बेडरुम, लिभिङ्ग हल, किचन, डाइनिङ्ग हल तथा स्टोर रुम भएको, सुरक्षाकर्मी बस्न छुट्टै भवन भएको हुनुपर्ने छ ।
यस्तै सुरक्षित कम्पाउण्ड वाल भएको, कालोपत्रे सडकसँग जोडिएको तथा बिजुली, ढल निकास र खानेपानी लगायतका पूर्वाधारको यथोचित प्रबन्ध भएको, २.५ तला देखि ३ तलासम्मको घर भाडामा चाहिएको जनाएको छ ।
घर भाडामा दिन ईच्छुक व्यक्ति÷फर्म÷कम्पनीहरुले राष्ट्र बैंकले उपलब्ध गराईने घरभाडा प्रस्ताव सम्बन्धी कागजात भरी असोज २७ गते कार्यालय समयभित्र प्रस्ताव पेश गर्न आग्रह गरिएको छ ।






प्रतिक्रिया दिनुहोस्