Skip to content

बीमा प्राधिकरणमा १० महिनामा ५ अध्यक्ष, कर्मचारीको काम स्वागत गर्दै जाऔं !

nabil bank

काठमाडौं । बीमा कम्पनीहरुको नियमन गर्ने निकाय बीमा प्राधिकरणले करिब १० महिनाको अवधिमा ५ जना अध्यक्ष पाएको छ ।

करिब १० महिनाको अवधिमा प्राधिकरणले ५ जना अध्यक्ष पाएको हो । जसमा एक जना मन्त्रालय बाहिरका हुन् भने बाँकी मन्त्रालयका सहसचिव रहेका छन् । मदन दहाल, सेवन्तक पोर्खेल र जनकराज शर्मालाई अर्को व्यवस्था नभएसम्मका लागि तत्कालिन समयमा सरकारले नियुक्त गर्यो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राधिकरणका तत्कालिन अध्यक्ष सूर्यप्रसाद सिलवाललाई २०८१ मंसिर २४ गते नागरिकतामा पटक पटक जन्म मिति संशोधन गरी नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरी नपाउने लाभ, सुविधा लिएको भन्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गर्यो । पदमा बहाल रहेको समयमा मुद्दा दायर भएपछि उनी निलम्बीत भए ।

त्यसपछि मन्त्रालयले २०८१ मंसिर २७ गते प्राधिकरणमा अर्को व्यवस्था नभएसम्मका लागि सहसचिव मदन दहाललाई कामकाजको जिम्मेजारी दियो । दहाल प्राधिकरणमा शरद ओझा अध्यक्ष नभएसम्मका लागि थिए । जब मन्त्रिपरिषदले ओझालाई अध्यक्षमा २०८१ फागुन १२ गते नियुक्त गर्यो, त्यसपछि दहाल मन्त्रालय फर्किए ।

खुला प्रतियोगिताबाट सरकारले ओझालाई अध्यक्षमा नियुक्त गरेको हो । तै पनि ओझाले प्राधिकरणमा करिब साढे ४ महिना भन्दा बढी काम गर्न पाएनन् । जुन सरकारले ओझालाई नियुक्त गर्यो, त्यही सरकारले विभिन्न बाहनामा निलम्बन गर्यो । २०८२ असार ३० गते बसेको मन्त्रिपरिषदको बैठकले ओझाविरुद्ध छानविन गर्न समिति गठन गर्यो । अध्यक्ष ओझाको कार्यसम्पादनमा चित्त नबुझेको भन्दै उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा छानबिन समिति गठन गर्यो ।

समितिको सदस्यमा कपिल ओली र जीवन सिटौला रहेका थिए । त्यही समितिले दिएको सुझावको आधारमा सरकारले भदौ २ गते ओझालाई पदमुक्त गर्यो । सरकारले ओझालाई निलम्बन गरे लगत्तै असार ३१ गते नै प्राधिकरणका सहसचिव सेवन्तक पोखरेललाई अध्यक्षको रुपमा पठाएको थियो । करिब साढे २ महिनापछि पुन अध्यक्ष फेरिएका छन् । जेनजी आन्दोलनबाट बनेको सरकारले अहिले जनकराज शर्मालाई प्राधिकरणमा पठाएको छ । उनले शुक्रबार सपथ ग्रहणका साथै पदभार ग्रहण गरेका छन् ।

सरकारले मनलाग्दी रुपमा अध्यक्ष परिवर्तन गर्न थालेपछि प्राधिकरणका कर्मचारी भने निकै रुष्ट बनेका छन् । अहिले प्राधिकरणका कर्मचारीको काम, अध्यक्षलाई स्वागत गर्दै जाऔं जस्तै भएको छ । १० महिनाको अवधिमा ५ जना अध्यक्ष परिवर्तन भएपछि कर्मचारी यतिबेला रुष्ट बनेका छन् । कर्मचारीले सरकारको यस्तो कामले आफ्नो मनोबल खस्केको जनाएका छन् ।

नेपाल बीमा प्राधिकरण कर्मचारी युनियन र नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनले असोज पहिलो साता अर्थमन्त्रालयलाई ध्यानाकर्षण गराउँदै आफ्नो मनोबल समेत खस्कन थालेको जनाएका छन् ।

‘देशमा भैरहेको विषम परिस्थितिलाई मध्येनजर गर्दा समेत बीमा क्षेत्रको महत्वलाई उजागर गरी राज्य तथा जनमानस (बीमित) मा भएको आर्थिक क्षतिबाट पुनरुत्थान गर्न महत्वपूर्ण भूमिका खेल्नुपर्ने समयमा नियामक निकायमा देखिएको नेतृत्वको अस्थिरताका साथै एक बर्षको अवधिमा ४÷५ पटक अध्यक्ष परिवर्तन भैरहेको सन्दर्भमा समग्र बीमा क्षेत्र तथा कर्मचारीहरुको मनोवल खस्किएको हुँदा यथाशक्य निकास दिई हालको परिस्थितिलाई सहजिकरण गर्ने बातावरण सृजना गरिदिनुहुन संस्थाका समग्र कर्मचारी, तथा ट्रेड यूनियन यहाँको ध्यानाकर्षण गराउन चाहन्छौँ’ पत्रमा भनिएको छ ।

समग्र बीमा बजारलाई नियमन गर्दै, बीमितको हक हित संरक्षण गर्नु र बीमा क्षेत्रलाई वित्तीय प्रणालीको एउटा हिस्सा प्राधिकरणलाई मानिन्छ । सरकारले बेला बेलामा अध्यक्ष परिवर्तन गर्दा कर्मचारीले काम गर्न नसकेको, बीमा प्राधिकरणबाट हुनुपर्ने काम हुन नसकेको उनीहरुको गुनासो छ । प्राधिकरणका कर्मचारीहरु अहिले दैनिक कार्यालय सञ्चालन हुने बाहेक काम गर्न नपाएको गुनासो गर्दै आएका छन् । सरकारले २, ३ महिनामा अध्यक्ष परिवर्तन गर्दा बीमा क्षेत्रको विश्वसनियतामा समेत प्रश्न उब्जन थालेको जानकारहरुको तर्क छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime