Skip to content

आज विजया दशमी, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइदै

nabil bank

काठमाडौं । आज विजया दशमी । आज नवदुर्गाको प्रसाद स्वरुप मान्यजनको हातबाट शुभ साइतमा रातो टीका र समृद्धिको प्रतीकको रुपमा जमरा लगाइँन्छ ।

टीका प्रसाद ग्रहण गर्ने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

तथापी विजयादशमी आफैँमा टीका लगाउन साइत खोज्नु नपर्ने पनि बताइन्छ । बिहान ९ बजेर २३ मिनेटमा देवी बिसर्जनको साइत रहेको छ ।

आश्विन शुक्ल दशमीका दिन यो पर्व हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा ग्रहण गरेर मनाइन्छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्ने गरिन्छ ।

असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडा दसैँको सबैभन्दा महत्त्वपूर्ण दिन हो ।

त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ । यसैले आजको दिनलाई विजयको प्रतीकका रूपमा पनि लिइन्छ ।

आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरूबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।

विजयादशमीमा पुरुषलाई टीका लगाइदिँदा आशीर्वाद दिने मन्त्र

आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।

ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।

शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।

विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायण ।।

अर्थात् द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु होस्, अयोध्याका राजा दशरथको जस्तो श्री होस्, दशरथका छोरा रामको जस्तो शत्रु नाश होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस्, भीष्मको जस्तो शुरता होस्, बलरामको जस्तो बल होस्, कुन्तीका छोरा कर्णको जस्तो दानशीलता होस्, विदुरको जस्तो ज्ञान विज्ञान होस्, नारायणको जस्तो कीर्ति होस् भनी आशीर्वाद दिने गरिन्छ ।

महिलालाई दुर्गा देवीको स्वरूप मानेर आशीर्वाद दिने मन्त्र

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।

दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime