काठमाडौं। । लगातारको वर्षाका कारण देशका विभिन्न राजमार्ग र सडकखण्डहरूमा बाढी तथा पहिरोका घटना बढ्दा यातायात आवागमन ठप्प भएको छ। विभिन्न स्थानमा सडक कटान र पहिरो खसेपछि सवारी आवतजावतमा व्यापक असर परेको स्थानीय प्रशासन र सम्बन्धित कार्यालयहरूले जनाएका छन्।
भक्तपुरको साँगा स्थित झोलुङ्गेपुल नजिकै पहिरो खसेर सवारी आवागमन प्रभावित भएको छ। यस्तै, नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ तुइन खोला पुल नजिक खसेको पहिरोका कारण सडक अवरुद्ध छ।
ललितपुरको बागमती गाउँपालिका–३ टाकुचे र टिकाभैरवमा पहिरो खसेपछि आवागमन बन्द भएको छ। मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ सिस्नेरी बजार नजिक कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौँ सडकखण्डमा पर्ने डोडारे खोलामा बाढीले पुल डुबानमा पर्दा सवारी सञ्चालन रोकिएको छ।
वि.पी. राजमार्गमा पर्ने काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ माम्तीखोला र बुलढुंगामा पहिरो खसेर सडक बन्द भएको छ। मंगलटार खोलामा आएको बाढीले सडक कटान गरेपछि सो खण्डमा पनि आवागमन रोकिएको छ।
हेटौडा–भैँसे–नौबिसे सडकखण्डमा अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो जाँदा आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।
अरनिको राजमार्गमा पनि समस्या गम्भीर बनेको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलोमा सडक भासिएको र धुलिखेल, खावा तथा ५४ किलोमा पहिरो खसेर सडक बन्द भएको जनाइएको छ।
त्यस्तै, कोशी राजमार्गमा संखुवासभाको मकालु गाउँपालिका–३ एकुवा र भोटखोला गाउँपालिका–४ बरुणमा पहिरो खसेर सवारी साधन आज पनि सञ्चालनमा आउन सकेका छैनन्।
पासाङल्हामु राजमार्गमा रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ स्थित घट्टेखोला, बालुवाखानी र तातोपानीमा पहिरो खसेर सडक बन्द छ। रसुवागढीस्थित नेपाल–चीन नाका जोड्ने मितेरी पुल भने असार २४ गतेको बाढीबाट क्षतिग्रस्त भएकाले अझै बन्द छ।
सुरक्षा निकाय र सडक विभागका टोलीहरूले विभिन्न क्षेत्रमा सडक खोल्ने प्रयास जारी राखेका छन्।
यात्रीहरूलाई सम्बन्धित निकायबाट भरपर्दो जानकारी लिएर मात्रै यात्रा गर्न र जोखिमपूर्ण क्षेत्रमा सतर्क रहन अनुरोध गरिएको छ।






प्रतिक्रिया दिनुहोस्