Skip to content

प्रधानमन्त्री कार्कीले मानिनन् ओलीले प्रयोग गरेका सोसल अकाउन्ट, नयाँ एकाउन्ट सार्वजनिक

nabil bank

काठमाडौं । सामान्यतया प्रधानमन्त्री पदबाट बिदा हुँदै गर्दा भावी प्रधानमन्त्रीलाई सामाजिक सञ्जालको युजरनेम र पासवर्ड पनि हस्तान्तरण गर्नुपर्छ । प्रधानमन्त्री पदमा जो आए पनि त्यही सामाजिक सञ्जालको अकाउन्ट प्रयोग गरिन्छ । किनभने त्यो सरकारको आधिकारिक हुन्छ ।

तर, भदौ २३ र २४ गतेको जेनजी युवा विद्रोहबाट सत्तामा आएकी सुशीला कार्कीले अघिल्ला प्रधानमन्त्री केपी शर्मा ओलीले प्रयोग गर्दै आएको सामाजिक सञ्जाल प्रयोग गरिनन् । उनले फेसबुक, एक्स (ट्वीटर) र इन्सटाग्रामको नयाँ अकाउन्ट प्रयोग गर्ने भएकी छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव एवं प्रवक्ता रविलाल पन्थले जारी गरेको प्रेस विज्ञप्तिमा अघिल्ला प्रधानमन्त्रीहरुले प्रयोग गर्दै आएको सामाजिक सञ्जालको भन्दा हालका प्रधानमन्त्री कार्कीले प्रयोग गर्ने अकाउन्टको फरक युजरनेम छ ।

अघिल्ला प्रधानमन्त्रीहरुले एक्समा @PM_nepal ह्याण्डल प्रयोग गर्दथे । तर प्रधानमन्त्री सुशीला कार्कीले अबदेखि एक्स ह्याण्डल @pmsushilakarki प्रयोग गर्ने विज्ञप्तिमा उल्लेख छ।

प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख सल्लाहकार अजयभद्र खनाल पनि पुरानो अकाउन्ट चलाउँदा अघिल्ला प्रधानमन्त्री केपी शर्मा ओलीकै गतिविधिहरु देखिने भएकाले नयाँ प्रयोग गर्न थालिएको बताउँछन् ।

ओलीको सचिवालयबाट एक्स अकाउन्ट मात्र हस्तान्तरण

खनालका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले एक्स (ट्वीटर) अकाउन्ट मात्र हस्तान्तरण गरेको छ, त्यो पनि आइतबार मात्रै ।

फेसबुक र इन्स्टाग्राम भने अझै हस्तान्तरण भएको छैन । त्यसैले फेसबुक र इन्सटाग्राममा नयाँ अकाउन्ट खोलिएको खनालले बताए ।

अहिले प्रधानमन्त्री कार्कीको सचिवालयसँग ओलीको सचिवालयले चलाउँदै आएको @PM_nepal र नयाँ खोलिएको @pmsushilakarki दुवै एक्स अकाउन्टमा एक्सेस छ । तर धेरैजसो @pmsushilakarki अकाउन्ट प्रयोग गर्ने खनालले बताए ।

@pmsushilakarki एक्स अकाउन्टमा पोष्ट भएका कुनै–कुनै एकदमै आधिकारिक सरकारी सूचनाहरु छन् भने तिनलाई @PM_nepal बाट रिट्वीट गर्ने उनले जानकारी दिए ।

फेसबुक र इन्सटाग्राम म्यानेज गर्ने विषयमा प्राविधिक टोलीहरुसँग सल्लाह भइरहेको उनले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime