काठमाडौं । विश्व बैंकले दक्षिण एसियाको आर्थिक वृद्धि यसवर्ष ६.६ प्रतिशत हुने प्रक्षेपण गरेको छ । साथै आगामी वर्षमा केही सुस्त हुुने समेत संकेत गरेको छ ।
विश्व बैंकले आज सार्वजनिक गरेको प्रतिवेदनमा बङ्गलादेश, भूटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलङ्काले व्यापार उदारीकरण र प्रविधिको प्रयोग बढाए भने रोजगारी सिर्जना र आर्थिक वृद्धि दुबैको सम्भव रहेको उल्लेख छ ।
विश्व बैंकको नयाँ प्रतिवेदन “साउथ एशिया डेभलपमेन्ट अपडेटः रोजगारी, एआई र व्यापार” अनुसार, सन् २०२६ मा दक्षिण एसियाको वृद्धि घटेर ५.८ प्रतिशतमा झर्ने अनुमान गरिएको छ । यो अघिल्लो अनुमानभन्दा ०.६ प्रतिशत कम हो । प्रतिवेदनले विश्वव्यापी आर्थिक सुस्ती, व्यापार नीतिबारे अनिश्चितता, सामाजिक अशान्ति, र कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता प्रविधिले श्रम बजारमा ल्याउने चुनौतीलाई प्रमुख जोखिमका रूपमा देखाएको छ ।
विश्व बैंकका दक्षिण एसियाका उपाध्यक्ष जोहानेस जुट्टले भने, “दक्षिण एसियामा ठूलो सम्भावना छ, तर देशहरूले जोखिमहरूलाई समयमै सम्बोधन गर्नुपर्छ। एआईको फाइदा लिन र व्यापारका अवरोध घटाउन सके देशहरूले उत्पादकत्व बढाउन, निजी लगानी ल्याउन र नयाँ रोजगारी सिर्जना गर्न सक्छन्।” विश्व बैंकका अनुसार, दक्षिण एसियाका देशहरू अन्तर्राष्ट्रिय व्यापारका हिसाबले अझै धेरै बन्द छ ।
यस्तै सेवा क्षेत्रमा भने तुलनात्मक रूपमा कम शुल्क भएका कारण विगत दशकमा रोजगारीको तीन चौथाइ वृद्धि भएको छ । यस्तै चरणबद्ध रूपमा शुल्क घटाएर व्यापार सम्झौता विस्तार गर्न सके, निजी लगानी र रोजगारी दुवै बढ्न सक्ने प्रतिवेदनमा उल्लेख छ।
एआईको प्रयोगबारे प्रतिवेदनले भनेको छ- विश्वभरै एआईले काम गर्ने तरिका र रोजगारमा परिवर्तन ल्याइरहेको छ। दक्षिण एशियामा अझै पनि धेरैजसो काम कृषिमा आधारित भएकाले एआईको प्रयोग सीमित छ। तर, व्यवसायिक सेवा र सूचना प्रविधि क्षेत्रमा कार्यरत युवा कामदारहरू एआईबाट प्रतिस्थापन हुने जोखिममा छन्।
एआईबाट बढी प्रभावित क्षेत्रका रोजगारी विज्ञापनहरू करिब २० प्रतिशतले घटेका छन् । तर, प्रतिवेदनका अनुसार, एआईले मानव क्षमतासँग मिलेर काम गर्न सक्ने क्षेत्रमा उत्पादनशीलता बढाउने ठूलो सम्भावना छ । एआईसम्बन्धी सीप भएका व्यक्तिहरूको पारिश्रमिक अन्य पेशाभन्दा करिब ३० प्रतिशत बढी भएको तथ्यांकले देखाउँछ ।
विश्व बैंककी दक्षिण एसियाकी प्रमुख अर्थशास्त्री फ्रान्जिस्का ओन्सर्जले भनिन्, “व्यापार खुलापन र एआईको प्रयोगले दक्षिण एशियामा ठूलो परिवर्तन ल्याउन सक्छ। कामदारलाई नयाँ क्षेत्रतर्फ सजिलै स्थानान्तरण गर्न सक्ने नीतिहरूले लगानी र रोजगारी दुबै बढाउन मद्दत गर्छ।”






प्रतिक्रिया दिनुहोस्