काठमाडौं । विश्व बैंकका अनुसार नेपालको आर्थिक वृद्धिदर घट्दै जाने भएको छ ।
विश्व बैैंकले गरेको प्रक्षेपण अनुसार सन् २०२५/०२६ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । यस्तै सन् २०२६/०२७ मा भने ४.७ प्रतिशत हुने प्रक्षेपण गरेको छ । यसअघि विश्व बैंकले सन् २०२५/०२६ मा नेपालको आर्थिक वृद्धि ५.२ र सन् २०२६/०२७ मा ५.५ हुने प्रक्षेपण गरेको थियो ।
आ.व. २०२५ मा वृद्धि दर ४.६ प्रतिशत पुगेको थियो । जुन आ.व. २०२४ को ३.७ प्रतिशत भन्दा बढी हो । यस वृद्धिलाई जलविद्युत उत्पादनको वृद्धि, औद्योगिक उत्पादनमा सुधार, र कृषिक्षेत्रको पुनरुद्धारले सहयोग गरेको थियो ।
तर, भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण पनि नेपालको आर्थिक वृद्धि खुम्चने विश्व बैंकले जनाएको छ । सरकारले गरेको सामाजिक सञ्जाल प्रतिबन्धपछि सृजित जेनजी आन्दोलन, भ्रष्टाचारविरुद्ध प्रदर्शन र त्यसले पारेको क्षतिले आर्थिक वृद्धिमा पर्ने जनाएको छ ।
जेनजी आन्दोलनले सार्वजनिक र निजी संरचनामा भएको क्षतिको मूल्यांकन अझै भइरहेको छ । यी प्रदर्शनहरूले शासन प्रणालीप्रति जनताको असन्तुष्टि र युवाहरूमाझ आर्थिक अवसरको अभावप्रति गहिरो निराशा प्रकट गरेको छ । यस्तो अवसरको कमीका कारण निजी क्षेत्रलाई काम गर्न समस्या हुने, व्यापारिक वातावरण नहुने जनाएको छ ।
यसका कारण नेपालको आर्थिक वृद्धि दर अन्य दक्षिण एशियाली देशहरूको तुलनामा सुस्त रहने जनाएको छ । विश्व बैंकका अनुसार सन् २०१२ देखि २०२४ सम्म नेपालको आर्थिक वृद्धिदर औषतमा ४.३ प्रतिशत रहेको थियो । यो अवधिमा रोजगारी सिर्जना पनि सीमित रह्यो । युवा बेरोजगारी दर आ.व. २०२३ मा करिब २२.७ प्रतिशत पुगेको छ । जुन दक्षिण एशियाका देशहरूमा सबैभन्दा उच्च दरमध्ये एक हो ।






प्रतिक्रिया दिनुहोस्