काठमाडौं । लगातार ४ वर्षदेखि नोक्सानमा रहेरपछि हकप्रद सेयर निष्कासन गरेको नारायणी डेभलपमेन्ट बैंकले आवेदन दिने समय थपेको छ ।
बैंकले असोज २ गतेदेखि हकप्रद सेयर निष्कासन गरेको थियो । माग गरे अनुसार आवेदन नपरेपछि १०० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने समय थपिएको हो । अब कात्तिक ९ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।
बैंकले १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको छ । बैंकले प्रतिकित्ता सय रुपैयाँका दरले २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँको २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ ।
हकप्रद सेयर निष्कासन गरेको बैंकले भदौ ९ गते बुकक्लोज गरेको छ । भदौ ८ गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन पाउने छन् ।
यसको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । हकप्रदमा आवेदन क्यापिटलका साथै नारायणी डेभलपमेन्ट बैंकको केन्द्रिय कार्यालय, यज्ञपुरी, टाँडी, पर्सा र नारायणगढ शाखा कार्यालयबाट आवेदन दिन सकिने छ । त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।
बैंकले पुँजी कोष पर्याप्तता कायम गर्ने उद्देश्य राखेर राइट सेयर निष्कासन गर्न लागेको हो । बैंक विगत चार वर्षदेखि खुद नोक्सानीमा रहेको छ । राष्ट्र बैंकले तोकेको विभिन्न क्षेत्रमा कर्जा विस्तार गर्नका लागि पनि बैंकले हकप्रद सेयर जारी गरेको हो । बैंकले हकप्रद सेयर बेचेर आएको पैसाले २ वटा शाखा विस्तार गर्ने उद्देश्य राखेको छ ।
शाखा सञ्चालन गर्नको लागि बैंकले हकप्रद सेयरबाट उठेको पैसाबाट ९० लाख रुपैयाँमा २ वटा शाखा विस्तार गर्ने जनाएको छ । यसैगरी, हकप्रद सेयर जारी गरेर लगानी अभिवृद्धि (धितोपत्रमा लगानी, सरकारी ऋणपत्रमा लगानी, म्युचअल फण्डमा लगानी) भौतिक पूर्वाधारमा लगानी बढाउने बैंकको उद्देश्य छ । बैंकले हकप्रद सेयरबाट उठेको २५ अर्ब ३४ करोड ६७ लाख ६० हजार रुपैयाँ पैसा धितोपत्रमा लगानी, सरकारी ऋणपत्रमा लगानी, म्युचअल फण्डमा लगानी गर्ने जनाएको छ ।
‘नेपाल राष्ट्र बैंकले मिति २०७७-०४-२१ मा संस्थालाई समस्याग्रस्त वित्तीय संस्थाको सूचीबाट फुकुवा गर्दा दिएको निर्देशन तथा २०८१-११-२० को निर्देशानुसार यस वित्तीय संस्थाको लागि तोकिएको न्यूनतम चुक्ता पुँजी तथा पुँजीकोष पर्याप्तता कायम गर्न’ बैंकले हकप्रद जारी गरेको हो ।






प्रतिक्रिया दिनुहोस्