Skip to content

जेनजी आन्दोलनपछिको बीमा दाबी भुक्तानी छिटो गर्न प्राधिकरणको निर्देशन

nabil bank

काठमाडौं । बीमा प्राधिकरणले जेनजी आन्दोलनका क्रममा भएका क्षतिको बीमा दाबी भुक्तानी प्रक्रियालाई छिटोछरितो बनाउन निर्जीवन बीमा कम्पनी, लघु निर्जीवन बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीलाई निर्देशन दिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले आन्दोलनका क्रममा भएको क्षतिको बीमा दाबी भुक्तानीयोग्य रहेको अवस्थामा बीमकहरूले बीमितलाई शीघ्र राहत दिनुपर्नेमा जोड दिए । उनले भने, ‘बीमकले प्रारम्भिक सर्भे रिपोर्टका आधारमा दाबी भुक्तानी गर्दै जानुपर्छ, बीमितले पैसा पाएको अनुभूति गर्नुपर्छ, र दाबी भुक्तानीबारे सार्वजनिक रूपमा जानकारी दिनुपर्छ।’

सुवेदीले बीमा कम्पनीहरूलाई बीमा दाबी भुक्तानी गर्दा कानूनी वा व्यावहारिक समस्या आएमा प्राधिकरणले आवश्यक सहजीकरण गर्ने आश्वासन दिए । साथै, बीमकहरूले सही तथ्याङ्क पेश गर्नुपर्ने, गलत तथ्याङ्क दिए कडाइका साथ कारबाही हुने चेतावनी दिए ।

उनले पुनर्बीमा कम्पनीहरूलाई तरलतालाई उच्च प्राथमिकतामा राख्दै बजारमा अविलम्ब तरलता प्रवाह गर्न निर्देशन समेत दिए । ‘बीमकले बीमितलाई र पुनर्बीमकले बीमकलाई समयमै एड्भान्स रकम उपलब्ध गराउनुपर्छ’ उनले भने ।

निर्जीवन र लघु निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले आन्दोलनका क्रममा भएका क्षतिको बीमा दाबी भुक्तानी गर्न आफूहरू तयार रहेको जानकारी गराए । उनीहरूले साना दाबीहरूको भुक्तानी सुरु भइसकेको, ठूला दाबीका लागि नगद प्रवाह आवश्यक भएकाले पुनर्बीमा कम्पनीको सक्रिय सहयोग जरुरी रहेको बताए ।

बीमकहरूले फिल्डमा बीमा सर्भेयरहरू खटाएर क्षतिको प्रतिवेदन संकलन सुरु भइसकेको र सर्भेयर रिपोर्ट आउने क्रम जारी रहेको जानकारी दिए ।

नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले पुनर्बीमा वापतको दाबी रकम भुक्तानी गर्न कम्पनी सक्षम रहेको र आवश्यक प्रक्रिया पूरा गरी बीमकहरूलाई छिटो रकम उपलब्ध गराइने प्रतिवद्धता जानकारी गराए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime