Skip to content

बाढी-पहिरोमा परेका सबै घर प्रदेश सरकारले बनाइदिने, इलामका ७ पालिकालाई संकटग्रस्त घोषणा गर्न सिफारिस गर्ने

nabil bank

विराटनगर । कोशी प्रदेश सरकारले केही दिनअघि गएको बाढी पहिरोले भत्किएका र बगाएका सबै घरको पुनर्निर्माण गरिदिने भएको छ ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज बसेको प्रदेश विपद व्यवस्थापन परिषद्को बैठकले सबै घर बनाइदिने निर्णय गरेको हो ।

विपतमा सबैभन्दा बढी क्षति भएको इलाम, झापा र मोरङका घरहरू तत्कालै बनाउन सुरु गर्ने कोशी प्रदेश सरकारले जानकारी दिएको छ ।

घरहरूको सम्पूर्ण विवरण संकलन पनि गर्दै जाने र निर्माण कार्य अगाडि बढाउँदै जाने बैठकले निर्णय गरेको छ ।

बैठकले इलाम जिल्लाका सातवटा पालिकालाई संकटग्रस्त घोषणा गर्नको लागि संघीय सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

प्रदेश सरकारले राहत र पुनर्स्थापनाका लागि इलाम जिल्लामा समन्वय गर्न आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना, भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राई र आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीलाई जिम्मा दिएको छ । उक्त टोलीले सम्पूर्ण क्षेत्रको स्थलगत निरीक्षण गर्दै पुनर्निर्माणलाई फिल्डमै खटेर तीव्रता दिनेछ ।

त्यस्तै सुनसरी जिल्लाको हकमा वन पर्यटन तथा वातावरण मन्त्री सदानन्द मण्डल र आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले समन्वय गरी काम गर्नेछन् ।

झापा जिल्लाका लागि खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीलाई आवश्यक पुनर्निर्माण र सबै खालको समन्वय गर्ने जिम्मेवारी तोकिएको छ । बैठकले चालु बजेटका खर्च र योजनाहरु हेरेर कटौती गरी पुनर्निर्माणमा खर्च गर्नका लागि कोशी प्रदेश सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

भौतिक पूर्वाधार मन्त्रालयले तत्कालै सबै खालका बाटोहरू खुलाउनका लागि आफ्ना सबै संयन्त्र परिचालन गर्नका लागि पनि आजको बैठकले निर्देशन गरेको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पुनर्निर्माण र राहतमा कुनै कसर नराखी काम अगाडि बढाउनका लागि बैठक निर्देशन दिए ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime