काठमाडौं । एक महिनाअघि अर्थात् भदाै २३ र २४ गते जेनजी आन्दोलनका क्रममा संघीय संसद् रहेको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जल्यो । जेनजीले गरेको आन्दोलनका क्रममा तत्कालीन सम्मेलन केन्द्र, अहिलेको संसद् भवन जलाइयो ।
करिब २७ घन्टाको आन्दोलनले सरकार ढाल्यो । अहिले जेनजी आन्दोलनको बलमा सरकार बनेको छ । यही सरकार बनाउन गरिएको आन्दोलनमा सिंहदरबारभित्र जलेका करिब २ हजार गाडी तथा अन्य सरकारी निकायमा जलेका गाडीको डम्पिङ साइट बनेको छ ।
संसद् बस्ने, देशका लागि आवश्यक ऐन कानुन निर्माण हुने, दुरदराजका समेत जनताको आवाज बोल्ने स्थल भदौ २४ गते आन्दोलनकारीले जलाएपछि एक महिनाको अन्तरमा डम्पिङ साइटमा परिणत भएको हो।
जेनजीले आन्दोलनका क्रममा आगजनी सुरु गरेको पहिलो स्थान नै त्यही संसद भवन हो । त्यसपछि सिंहदरबार, सर्वोच्च अदालत, जिल्ला अदालत, ट्राफिक कार्यालय, विभिन्न प्रहरी कार्यालय जलाइए । ती कार्यालय लगाउँदा डढेका गाडी राख्ने स्थान बनेको छ, संघीय संसद् भवन ।
यो भवन २०५० सालमा तत्कालीन राजा वीरेन्द्रले उद्घाटन गरेका थिए । चीन सरकारको करिब १८ करोड रुपैयाँ अनुदानमा बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा विभिन्न ठूला सम्मेलन हुने गरेका थिए । उच्चस्तरीय बैठक हुने गरेका थिए ।
संविधानसभा निर्वाचनपछि संसद् भवनको रुपमा परिचित थियो । जेनजी आन्दोलनमा जलेर नष्ट भएसँगै जलेका गाडी राख्ने डम्पिङ साइट बनेको छ ।







प्रतिक्रिया दिनुहोस्