काठमाडौं । लगानीकर्ता र सूचीकृत कम्पनीका सञ्चालकहरूको आन्दोलनपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) लचक भएको छ । बोर्डले लगानीकर्ताको मागबमोजिम पुँजी बजार सुधार कार्यदलले दिएको सुझावअनुसारको काम गर्ने प्रतिबद्धता गरेको हो ।
बोर्डले पुँजी बजार सुधार कार्यदलले दिएको सुझाव कार्यान्वयन कार्य योजना बनाएको छ। आइतबार लगानीकर्ता तथा सूचीकृत कम्पनीका सञ्चालकले कार्यदलले दिएको सुभाव तत्कालै कार्यान्वयन गर्नुपर्ने भन्दै बोर्ड घेराउ गरेका थिए । जसको कारण सेबोन उक्त कार्यदलले दिएको सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता गरेको हो ।
बोर्डमा सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल, सिटी होटलका सञ्चालक तथा लगानीकर्ता तिलक कोइरालालगायत छन् । कार्यालय घेराउ गर्न पुगेको अग्रवालले १८ वटा माग राखेको बताए । आफ्नो माग पूरा गर्ने आश्वासन दिएको र माग पूरा नगरे तिहारपछि ठूलो आन्दोलन गर्ने बताए ।
उनीहरु केही समय गेटबाहिर बसेर कार्यालय घेराउ गरेका थिए । केही समयपछि प्रहरीको सुरक्षा घेरा तोडेर कार्यालयभित्रै प्रवेश गरेका थिए । लगानीकर्ताले पुँजीबजार सुधार सुझाव कार्यदलले दिएको सुझाव तत्कालै कार्यान्वयन गर्नसमेत माग गरेका छन् ।
धितोपत्र बोर्डको भागमा तत्काल गर्नुपर्ने ९ वटा काम परेका छन्। धितोपत्र बोर्डको भागमा परेको सबैभन्दा पहिलो काम धितोपत्र दलाल व्यवसायीमार्फत मार्जिन कारोबार प्रणाली कार्यान्वयन गर्ने रहेको छ । त्यसका लागि पनि अध्ययन समिति बनिसकेको छ। यसले रिपोर्ट दिने बित्तिकै त्यसलाई कार्यान्वयनमा लैजाने कार्य योजनामा छ। कार्तिक मसान्तसम्म उक्त काम भइसक्ने समय सीमा रहेको बोर्डका सह प्रवक्ता तोला कान्त न्यौपानेले बताए ।
यसैगरी, सिडिएस तथा क्लियरिङ्ग लिमिटेडबाट प्रदान गरिने आइजिन सम्बन्धमा एकरूपता कायम गर्न निश्चित मापदण्ड तय गरी लागू गर्ने भन्ने छ। त्यसको पनि निर्देशिका बनेर आइसकेको छ। त्यसलाई स्वीकृत गरेपछि उक्त विषय पनि सकिने कार्य योजनामा उल्लेख छ। उक्त विषय पनि आउने कार्तिक मसान्तसम्म लागू भइसक्ने समय सीमा रहेको छ ।
सङ्गठित संस्थाले लगानीकर्तालाई प्रदान गर्ने बोनस सेयर वितरण गर्दा लाग्ने लाभांश कर सम्बन्धित सङ्गठित संस्थाले नै मिलान गरी भुक्तानी गर्नुपर्ने व्यवस्था गर्ने विषयमा बोर्डले तत्कालै सूचीकृत कम्पनीहरूलाई निर्देशन दिने उल्लेख छ। जसलाई बोर्डले तुरुन्त निर्देशन दिने कार्य योजनामा भनिएको छ।
धितोपत्र दलाल व्यवसायीले लगानीकर्ताले समयमै खरिद आदेशबमोजिमको रकम भुक्तानी गर्न नसकेमा वा धितोपत्र दलाल व्यवसायीले समयमा लगानीकर्तालाई भुक्तानी गर्न नसकेमा उक्त रकमबाट सृजित दायित्व वा प्रतिफल भुक्तानी सम्बन्धी व्यवस्थामा एकरूपता कायम गर्ने भन्ने छ। त्यसको लागि बोर्डले समयमा नै रकम लेनदेन हुन नसक्दा उक्त रकमबाट सृजित दायित्व वा प्रतिफल सम्बन्धी बेन्चमार्क दरका सम्बन्धमा अविलम्ब अध्ययन गरी उक्त व्यवस्थामा एकरूपता कायम गर्ने उल्लेख छ। जसको लागि आउँदो मङ्सिर १५ गतेसम्मको समयमा तोकिएको छ।
बोर्डको निर्देशनपछि ब्रोकरलाई भुक्तानी दिन ढिला भए लगानीकर्ताले ब्याज सहित तिर्नुपर्ने छ भने ब्रोकरले ढिला गरे लगानीकर्तालाई ब्याजसहित दिनुपर्ने छ । लगानीकर्ताले दुई वा सोभन्दा बढी हितग्राही खाता खोल्न सक्ने व्यवस्था गर्ने सम्बन्धमा धितोपत्र बोर्डले सिडिएससीलाई निर्देशन दिइसकेको उल्लेख छ। कार्तिक १५ सम्म उक्त काम पनि सकिने कार्य योजनामा उल्लेख छ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडले सूचीकृत कम्पनीहरूको वित्तीय सबलता,तरलता तथा संस्थागत सुशासनको अवस्थाका आधारमा गर्ने वर्गीकरण वस्तुनिष्ठ बनाउने तथा उक्त वर्गीकरणपश्चात् जेड समूहमा पर्ने कम्पनीहरूको कारोबार गर्दा शतप्रतिशत नगद मार्जिन लिनुपर्ने व्यवस्था गर्ने सुझावमा बोर्डले नेप्सेलाई तुरुन्त निर्देशन दिने उल्लेख छ।
लगानीकर्ताको समस्या तथा गुनासो तत्काल सम्बोधनका लागि आवश्यक गुनासो व्यवस्थापन संयन्त्रको स्थापना गरी सञ्चालनमा ल्याउने र लगानीकर्ताहरूमा पुँजी बजारसम्बन्धी साक्षरताका लागि विभिन्न प्रशिक्षण तथा कार्यशाला सञ्चालन गर्ने विषय अहिले पनि रहेकोले त्यसलाई थप प्रभावकारी बनाइने र सो काम तुरुन्त हुने न्यौपानेले बताए ।






प्रतिक्रिया दिनुहोस्