काठमाडौं । नेपाल विद्यार्थी संघले निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निःवर्तमान गृहमन्त्री रमेश लेखकलाई तत्काल अनुसन्धानको दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।
नेपाली काँग्रेसमा आवद्ध विद्यार्थी संगठन नेविसंघले सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघका अध्यक्ष दुजाङ शेर्पाले जेन जी आन्दोलनमा भएको मानवीय क्षतिको जिम्मेवारी तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकले पनि लिनुपर्ने भएकाले उनीहरुमाथि अनुसन्धान गरी दोषी देखिएर कारबाही गर्न सरकारसँग माग गरेका हुन् ।
उनले जेनजी आन्दोलनको पहिलो दिन भदौ २३ गते नै धेरै मानवीय क्षति भएकाले आफूहरुले सोही दिन नै तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको राजीनामा मागेको पनि स्पष्ट पारेका छन्। उक्त आन्दोलनको नेतृत्वकर्ताका रुपमा काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह देखिएको उल्लेख गर्दै सिंहदरबार जलाउने लगायतका घटनाका विषयमा उनीमाथि पनि अनुसन्धानको काम तत्काल अघि बढाउन सरकारलाई दबाब दिएका छन् ।
‘तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि छानविनको दायरामा ल्याएर उनीहरुको पनि बयान लिएर दोषी देखिए उहाँहरुलाई पनि कारबाही गर्नु पर्छ भनेर हामीले यो आज मात्रै होइन, हामीले सेप्टेम्बर ८ को बेलुका जुन घटना घट्यो । त्यतिबेला नै हामीले प्रधानमन्त्रीज्यु र गृहमन्त्रीज्युले यसको नैतिक जिम्मेवारी लिनुपर्छ । उहाँहरुले राजीनामा दिनुपर्छ ।’ मागमा भनिएको छ ।
यसैगरी, शक्तिशाली छानविन आयोग गठन गरेर यसको निकास दिनु पर्ने उनीहरुको माग छ । यसैगरी, राजनीतिक दलहरूको पुनर्संरचना प्रक्रिया अघि बढाई पाटी, संसद, संघीय, प्रदेश र स्थानीय तहका निकायहरूमा युवा तथा विद्यार्थीको कम्तीमा ४० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग पनि संघले राखेको छ ।
संघले भातृ संगठनका रूपमा रहेका विद्यार्थी संघ–संगठनहरू आज दलगत अधीनमा सीमित भएको यथार्थलाई आत्मसमिक्षा गर्दे विद्यार्थी आन्दोलनको ऐतिहासिक योगदान र सामाजिक भूमिकाको सम्मानका लागि संघ–संगठनहरूलाई संस्थागत सुधार र पुनर्संरचना गरी कार्यगतरुपमा स्वतन्त्र, स्वचालित र उत्तरदायी रूपले अघि बढ्ने सुनिश्चितता गर्नुपर्ने माग पनि राखेको छ ।
संघले विद्यार्थी संगठनहरूमा आवधिक अधिवेशन र सम्मेलन अनिवार्य रूपमा सुनिश्चित गर्न, त्यसका लागि कानुनी र संगठनात्मक संयन्त्र निर्माण गर्न सरकार र राजनीतिक दलहरूलाई आग्रह पनि गरेको छ ।
‘वर्तमान सरकारले २०६२ फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा गरेको छ, यस सन्दर्भमा पार्टी भित्र जारी रूपान्तरणको आन्तरिक बहसलाई संघले सकारात्मक लिएकोछ तर्सथ निर्वाचनलाई दृष्टिगत गर्दै पाटीले निर्वाचन अगावै नियमित महाधिवेशन सम्पन्न गरी निर्वाचनमा भाग लिनु उपयुक्त हुने विषय मातृ पाटीलाई गम्भीरतापूर्वक ध्यानाकर्षण गराउने निर्णय गरियो ।’ मागमा भनिएको छ ।






प्रतिक्रिया दिनुहोस्