काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले संयुक्त राज्य अमेरिकाको वासिङ्गटन डीसीमा आयोजित ४८ औं सार्क फाइनान्स गभर्नरर्स ग्रुपको बैठकमा सहभागी भएका छन् ।
अमेरिकाको वासिङ्गटन डीसीमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकका दौरानमा उक्त बैठकमा सहभागी भएका हुन् ।
बङ्गलादेशका गभर्नर डा. असान एच. मन्सुरको अध्यक्षतामा आयोजित बैठकमा दक्षिण एसिया क्षेत्रका केन्द्रीय बैंकका गभर्नर, डेपुटी गभर्नर, अर्थ मन्त्रालयका अधिकारी र अन्य प्रतिनिधिको सहभागिता थियो ।
बैठकमा गभर्नर डा. पौडेलले नेपालको वर्तमान आर्थिक स्थितिको विश्लेषण गर्दै मुद्रास्फीति र बाह्य क्षेत्रका सूचकहरू सहज अवस्थामा रहेको बताए । तथापि, हालै विकसित राजनीतिक परिस्थितिका कारण वित्तीय सन्तुलन र दिगो आर्थिक वृद्धिका प्रयासमा चुनौती थपिएको धारणा उनले राखे ।
गभर्नर पौडेलले उक्त चुनौतीलाई सम्बोधन गर्दै अर्थतन्त्रको पुनरुत्थान र गतिशीलताको निम्ति नीतिगत सहजीकरणको प्रयास थालिएको बताए । बैठकमा बङ्गलादेशका गभर्नर मन्सुरले दक्षिण एसिया क्षेत्रमा केन्द्रीय बैंक बीच क्षेत्रीय सहकार्य र असल अभ्यासको आदानप्रदानका निम्ति सार्क फाइनान्स साझा मञ्च रहेको बताए ।
सहभागी केन्द्रीय बैंकका तर्पmबाट आ–आफ्नो देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे प्रस्तुति दिइएको थियो । बैठकमा सार्क पेमेन्ट काउन्सिलको प्रभावकारिता, सार्क क्षेत्रमा वित्तीय समावेशीकरण, सार्क मुलुकबीच ‘करेन्सी स्वाप’को सम्भावना, साझा अनुसन्धान र तथ्याङ्क प्रणाली, सार्क छात्रवृत्ति र आगामी कार्यदिशाका विषयमा सहभागीहरूबीच छलफल भएको बताइएको छ ।
कार्यक्रममा सहभागी केन्द्रीय बैंकका गभर्नरहरूबाट सार्क सदस्य राष्ट्रबीच आगामी दिनमा आर्थिक तथा वित्तीय क्षेत्रका समसामयिक विषयमा समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकतामा जोड दिए । उक्त बैठकबाट सार्क फाइनान्सको अध्यक्षता भुटानको केन्द्रीय बैंक ‘रोयल मनिटरी अथोरिटी’मा हस्तान्तरण भएको छ ।






प्रतिक्रिया दिनुहोस्