काठमाडौं । पछिल्लो केही समय यता सुन–चाँदीको मूल्यमा ‘बुल रन’ देखिएको छ। अन्तर्राष्ट्रिय बजारमा नै सुन–चाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड कायम गरेको हो ।
एक वर्षको अवधि (२०८१ असोज २९ गतेदेखि २०८२ सालको असोज २९ गतेसम्ममा) आउँदा नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८८ हजार ४०० रुपैयाँले बढेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । २०८१ असोज २८ गते १ लाख ६० हजार रुपैयाँ रहेको सुनेको मूल्य २०८२ असोज २९ गतेसम्म आउँदा २ लाख ४८ हजार ९०० रुपैयाँ पुगेको छ ।
सुनसँगै नेपाली तथा अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । महासंघका अनुसार एक वर्षमा चाँदीको मूल्य १ हजार ३ सय ३५ रुपैयाँले बढेर ३ हजार ३ सय २५ रुपैयाँ कायम भएको छ । २०८१ को असोजमा चाँदीको मूल्य १ हजार ९ सय ५ रुपैयाँ थियो ।
यसैगरी, २०८२ सालको वैशाख १ गतेदेखि हालसम्म आउँदा सुनको मूल्य ६४ हजार ६०० रुपैयाँ बढेको छ । गत वैशाख १ गते सुनको मूल्य १ लाख ८४ हजार ३०० रुपैयाँ थियो। असोज महिना लागेपछि मात्र सुनको मूल्य ३२ हजार ८०० रुपैयाँले बढेको छ । असोज १ गते २ लाख १६ हजार १०० रुपैयाँ थियो ।
सुन–चाँदीको मूल्य आकासिएको भए तापनि अहिले नेपाल बजार यसको माग उच्च रहेको व्यवसायीहरू बताउँछन् । अहिले नेपालले अन्तर्राष्ट्रिय बजारअनुसार गरेको मूल्य निर्धारणमा सुनको मूल्य २ लाख ४८ हजार ९०० रुपैयाँ भएको भए तापनि सर्वसाधारण सुन किन्दा उक्त मूल्यमा पनि सरकारले लगाएको २ प्रतिशत विलासिता कर तिर्नुपर्ने हुन्छ । २ लाख ४८ हजार ९०० सय रुपैयाँ सुनको मूल्यमा विलासिताको कर थप्दा सुनको मूल्य २ लाख ५५ हजार रुपैयाँभन्दा माथि तिरेर सुन किन्नु पर्ने अवस्था रहेको छ ।
यसरी सरकारले लगाएको विलासिता कर तिरेपश्चात् पनि सुनको ज्याला र जर्ती व्यवसायीले जोडेर सुन बेच्ने गदर्छन् । सुनमा ज्याला जर्ती जोड्दा नेपाली बजारमा सुनको मूल्य तोलाको नै २ लाख ५५ हजारदेखि ६० हजार रुपैयाँसम्म पुगेको शाक्य बताउँछन् । यसरी नै चाँदीको मूल्य पनि बढ्ने व्यवसायीहरूले बताए ।
सुनसँगै यस अवधिमा चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाई रहेको छ । महासंघका अनुसार गत वैशाख १ गते १ हजार ९ सय ९४ रुपैयाँ रहेको चाँदीको मूल्य आज १ हजार ३ सय ८० रुपैयाँले बढेर ३ हजार ३ सय २५ रुपैयाँ कायम भएको छ । असोज महिनामा मात्र चाँदीको मूल्य ७ सय ७५ रुपैयाँ बढेको छ । असोज १ गते चाँदीको मूल्य २ हजार ५ सय ५० रुपैयाँ रहेको थियो ।
यता अन्तर्राष्ट्रिय बजारमा एक वर्षमा सुनको मूल्य प्रतिऔंस १ हजार ४५१.८४ रुपैयाँ डलरले बढेको छ । ६ महिनाको अवधिमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ८९०.२७ रुपैयाँ डलरले बढेको छ । ३० दिनमा नै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ४३२.६२ रुपैयाँले बढेको छ । मंगलबारसम्म अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार ९५.८८ रुपैयाँ डलर रहेको छ ।
यसैगरी, अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्यमा पनि दैनिक नयाँ रेकर्ड कायम भइरहेको छ । मंगलबार अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य ५१.३४ रुपैयाँ डलर रहेको छ । एक वर्षमा अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य २०.३७ रुपैयाँ डलर बढेको छ । ६ महिनामा १९.५३ रुपैयाँ डलर र ३० दिनमा ९.३० रुपैयाँ डलर चाँदीको मूल्य बढेको छ ।
सुन–चाँदीको भाउ किन बढिरहेको छ ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशमा ट्यारिफ (कर नीति) ल्याएका छन् । उनले विभिन्न देशलाई १० देखी ५० प्रतिशतसम्म करको दर बढाएका छन् । जसको असर सुन–चाँदी व्यवसायमा परेको छ । विभिन्न देशले ट्रम्पको नीतिलाई असुरक्षित नीति र व्यापार युद्ध निम्त्याउने नीतिका रूपमा लिएका छन् । यसको कारण पनि सुन खरिद बिक्री बढेको छ र यसले सुनको मूल्य वृद्धि भएको हो ।
पछिल्लो समय नेपालमा भारतीय र नेपाली मुद्राबीच नेपाली मुद्रा सस्तो भइरहेको छ। विश्व बजारमा नेपाली मुद्रा धेरै नै सस्तो भएका कारण यसले पनि नेपालीले महँगोमा सुन खरिद-बिक्री गर्नु परेको महासंघका पूर्व अध्यक्ष शाक्य बताउँछन् । पछिल्लो केही समय यता अमेरिकी डलरको भाउ पनि उच्च रूपमा बढेको छ ।
डलरको मूल्य दर बढ्दा आयात पनि महँगो हुन्छ । नेपाल आयात–केन्द्रित अर्थतन्त्र भएकाले अमेरिकी डलरको सटही दरले मूल्य निर्धारणमा ठूलो भूमिका खेल्छ । हाल डलर मजबुत भएका कारण आयातकर्ताले बढी मूल्य तिरेर सुन खरिद गर्नुपर्ने बाध्यता छ । जसको कारण सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड कायम भएको छ ।
विगत केही वर्षदेखि सुरु भएको युक्रेन–रुस युद्ध, मध्यपूर्वमा बढ्दो तनाव तथा एसियाली क्षेत्रमा आपूर्ति सञ्जालमा अवरोध भएको छ । जसको कारण विश्वव्यापी व्यापार महँगो भएको छ । यसले विश्व बजारमा नै सुनको मूल्य बढेको छ । यसको प्रभाव नेपालमा पनि परेको हो ।
यसैगरी, बैंक अफ अमेरिकाले सन् २०२६ को मध्यसम्म सुनको मूल्य प्रतिऔंस ४ हजार अमेरिकी डलरसम्म पुग्ने अनुमान गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । फेडरल रिजर्भको स्वतन्त्रतामाथि देखिएको अनिश्चितता र बढ्दो भूराजनीतिक तनावको कारण सुनको मूल्य बढ्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको दाबी छ ।
पछिल्लो केही समय यता बैंक अफ युके लगायतका देशहरूले मुद्दती निक्षेपको ब्याजदर घटाइ रहेका छन्। जसका कारण बैंक अफ अमेरिकाले पनि ब्याजदर घटाउने संकेत गरेको छ । यसले पनि सुनको मूल्य बढ्न सहयोग गरेको छ । बैंक अफ अमेरिकाले ब्याजदर घटायो भने लगानीकर्ताले सुनमा लगानी बढाउने भएको कारण सुनको मूल्यमा वृद्धि हुने नेपाल सुन–चाँदी व्यवसायी महासँगको पधादिकारीहरु बताउँछन् ।
केही समय यता चीन र पोल्यान्डजस्ता देशहरूले सुन किन्ने दरलाई तीव्र बनाएका छन् । विभिन्न देशका केन्द्रीय बैंकहरूले निरन्तर रूपमा सुन खरिद गरिरहेका छन् । जसको कारण सुनको मूल्य बढेको हो ।
विश्व बजारमा चाँदी कम पाउन थाल्यो, नेपालको अवस्था के छ?
पछिल्लो समय चाँदीको माग उच्च हुँदा विश्व बजारमा नै चाँदी कम पाउन थालेको सुन–चाँदी व्यवसायीहरू बताउँछन् । नेपाल सुन–चाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष माणिक रत्न शाक्यका अनुसार पछिल्लो केही समय यता नेपाल बजारमा पनि चाँदीको अभाव देखिन थालेको छ । ‘सुनको मूल्य आकासिएसँगै चाँदीको पनि मूल्य आकासिने क्रम जारी छ। विश्व बजारमा नै सुन–चाँदीलाई सुरक्षित लगानीको रूपमा हेरिन्छ ।’ उनी भन्छन्, ‘जसको कारण सुनमा लगानी गर्न नसक्नेले चाँदी नै भए पछि लगानी गर्ने भन्ने मनस्थिति बनाउँदा चाँदीको अभाव देखिएको छ।’
यसैगरी, तिहारको समयमा नेपालीले चाँदीका भाँडा खरिद गर्ने प्रचलन रहेको छ । जसको कारण बजारमा चाँदीको माग बढेको कारण पनि चाँदीको अभाव नेपाली बजारमा देखिएको व्यवसायीहरूको बुझाई छ । ‘चाँदीको माग धेरै छ । आपूर्ति माग अनुसार हुन नसक्दा यसको अभाव भएको हो ।’ एक व्यवसायी भन्छन् । भविष्यमा चाँदीको मूल्य बढ्ने र यसमा लगानी सुरक्षित हुन्छ भन्ने कुराले यसको माग वृद्धि भएको छ ।
यसको अभाव विश्व बजारमा र नेपालमा नै छ । नेपालमा एक पटकमा १ लाख ५० हजार रुपैयाँ डलरको चाँदी वाणिज्य बैंकहरुले आयात गर्न पाउँछन् । त्यो व्यवसायीले खरिद गरिसके पछि फेरी चाँदी खरिद गर्ने व्यवस्था छ ।
दुई महिनामा १६० किलो सुन र २२१ किलो चाँदी आयात
काँचो चाँदी आयात चालु आवको दुई महिनामा १ अर्ब ८ करोड ११ लाख ७२ हजार रुपैयाँ बराबरको भन्सार विभागले जानकारी दिएको छ । चालु आर्थिक वर्षको २ महिनामा ६ हजार १६०.५५४ किलो चाँदी आयात भएको भन्सार विभागले जनाएको छ । चाँदी आयात गरेर सरकारले १० करोड ८१ लाख २० हजार रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ । भन्सार विभागका अनुसार दुई महिनामा गहना तयार भएर ४० लाख ६० हजार रुपैयाँ बराबरको चाँदी आयात भएको छ ।
यसैगरी, चालु आर्थिक वर्षको २ महिनामा ३ अर्ब ४२ करोड ६४ लाख ८२ हजार रुपैयाँ बराबरको काँचो सुन आयात भएको भन्सार विभागले जानकारी दिएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको दुई महिनामा २२१.८९३ किलो सुन आयात भएको छ । यसबाट सरकारले ३४ करोड २९ लाख १७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । विभागका अनुसार बाहिरबाट गहना तयार भएर दुई महिनामा ५ करोड २६ लाख ६२ हजार रुपैयाँ बराबरको सुन भित्रिएको छ ।
विश्व र नेपाली बजारमा सुन–चाँदीकोको मूल्य कसरी निर्धारण गरिन्छ ?
विश्वको थोक मूल्य निर्धारण मानिने ‘लेगल प्राक्टिस म्यानेजमेन्ट एसोसिएसन’ले हरेक दिन सुनको मूल्य २ पटक अमेरिकी डलरमा तोक्ने गरेको छ। यसैगरी, अमेरिकाको कमेक्स, जापानको टोकम, सांघाई गल एक्सचेन्ज लगायतका अन्तर्राष्ट्रिय एक्सचेन्जहरूमा गरिने मूल्य निर्धारण (फ्युचरर्स कनट्याक्ट) गरिएको हुन्छ । यो भनेको भविष्यको कुनै निश्चित मितिमा एउटा निश्चित मूल्यमा सुन किनबेच गर्ने सम्झौता भएको हुन्छ । यसैगरी, सुनको लागि ठुला बैंक तथा व्यापारी सिधै आफै ओटिसी मार्केटबाट पनि सुनको खरिद बिक्रीको कारोबार गर्ने गरेका छन् । यसको कारण विश्वमा सुनको मूल्यमा दैनिक उतारचढाव भएको छ ।
मुद्रास्फीति बढ्यो भने मान्छेहरू पैसाको साटो सुनमा लगानी गर्न रुचाउँछन् । सुनको माग बढे मूल्य वृद्धि हुने देखिन्छ । यसैगरी अमेरिकी डलरको मूल्य पनि सुनको मूल्यसँग जोडिएको छ । सामान्यतया डलरको मूल्य कमजोर भयो भने सुनको मूल्य बढ्ने गर्छ । सुनको मूल्य डलरमा तोकिने हुन्छ । यसले डलर सस्तो हुँदा अन्य मुद्रामा सुन खरिद गर्नेले सस्तोमा सुन किन्न सक्छन् । यसैगरी, विभिन्न देशका केन्द्रीय बैंकले पनि सुन किनेर राख्ने गरेका छन् । यसरी किनबेच हुँदा बजारमा सुनको आपूर्ति घट्छ र मूल्य बढ्छ ।
यसैगरी, ब्याजदरको प्रभाव पनि सुनको मूल्यमा पर्ने गरेको छ । जब विश्वमा राजनीतिक तथा आर्थिक अनिश्चितता सुरु हुन्छ यसले पनि सुनको मूल्य वृद्धिमा प्रभाव पार्ने गरेको हुन्छ । अन्तर्राष्ट्रिय क्षेत्रमा भएको व्यापार युद्ध, अन्य युद्ध लगायतका कारणले पनि सुनको मूल्य बढ्छ । लगानीकर्ताले सुनलाई सुरक्षित लगानीको रूपमा लिने गरेका छन् ।
यसैगरी, नेपालमा अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनको भाउ निर्धारण गरिन्छ। अन्तर्राष्ट्रिय बजारमा हरेक दिन बिहान साढे १० बजे कायम भएको प्रतिऔंस सुनको मूल्य, भन्सार दर, बैंकको लागत र नाफा, वैदेशिक विनियम दर र व्यवसायीको नाफा जोडेर तय गरिने गरेको नेपाल सुन–चाँदी व्यवसायी महासंघका एक अधिकारीले बताए । अहिले नेपाल सरकारले सुनको भन्सार दर २० प्रतिशत तोकेको छ।
यसैगरी, यसमा सुन आयात गर्ने वाणिज्य बैंकहरुले ०.५ प्रतिशत नाफा राख्छन् । यसैगरी, आयात गरिएको मूल्यमा ०.५ प्रतिशत नाफा राखेर व्यवसायीले सुनको मूल्य निर्धारण गर्ने गर्दछन् । यता ग्राहकले १० लाख रुपैयाँभन्दा बढीको सुन किन्दा भने अतिरिक्त २ प्रतिशत विलासी शुल्क तिर्नुपर्ने हुन्छ।
मूल्य निर्धारण गर्ने क्रममा यो शुल्कको हिसाब गरिएको हुँदैन। नेपालमा सुनको मूल्य निर्धारण भने नेपाल सुनचाँदी व्यवसायी महासंघले तय गर्ने गरेको छ। यसका लागि महासंघले पाँच जनाको दर निर्धारण समिति बनाएको छ । उक्त समितिले शनिबार बाहेक दिनमा सुनको मूल्य तय गर्ने गरेको छ ।






प्रतिक्रिया दिनुहोस्