Skip to content

दुई महिनामा ०.६ प्रतिशत बिन्दुले बढ्यो कर्जा, आयात र सेयर बजारमा सबैभन्दा धेरै लगानी

nabil bank

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को भदौ महिनासम्म आउँदा निजी क्षेत्रतर्फ जाने कर्जा लगानी ०.६ प्रतिशत बिन्दुले मात्र बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको दुई महिनाको तथ्यांक अनुसार निजी क्षेत्रतर्फ जाने कर्जा लगानी २ महिनामा गत आर्थिक वर्षको सोही अवधिको भन्दा कम हो । गत आर्थिक वर्षमा १.२ प्रतिशत बिन्दुले कर्जा लगानी भएको थियो ।

राष्ट्र बैंकका अनुसार दुई महिनामा ३५ अर्ब ४८ करोड ९९ लाख रुपैयाँ कर्जा लगानी भएको छ । भदौ महिनासम्म आउँदा बैंक तथा वित्तीय संस्थाले ५६ खर्ब २७ अर्ब ५६ करोड २ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

आयात र सेयर धितो कर्जामा धेरै कर्जा लगानी
चालु आवको दुई महिनामा सबैभन्दा धेरै कर्जा लगानी वृद्धि आयात क्षेत्र (ट्रस्ट रिसिप्ट तथा इम्पोर्ट लोन) मा भएको केन्द्रीय बैंकले जनाएको छ । चालु आवको दुई महिनामा यस क्षेत्रतर्फ जाने कर्जा लगानी ६.७ प्रतिशत बिन्दुले बढेको छ । दुई महिनामा यस क्षेत्रमा ८ अर्ब ४४ करोड २४ लाख रुपैयाँ कर्जा लगानी भएको छ । भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले यस क्षेत्रमा १ खर्ब ३३ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ कर्जा लगानी गरेका छन्।

यसैगरी, चालु आवको दुई महिनामा सबैभन्दा धेरै कर्जा लगानी भएको दोस्रो क्षेत्र सेयर बजार रहेको छ । सेयर धितोमा जाने मार्जिन नेचर लोन दुई महिनामा ३.५ प्रतिशतले बढेको छ । दुई महिनामा बैंक तथा वित्तीय क्षेत्रले यस क्षेत्रमा ४ अर्ब ९० करोड ७० लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । चालु आवको दुई महिनासम्म आउँदा यस क्षेत्रमा १ खर्ब ४५ अर्ब ६० करोड ९१ लाख रुपैयाँ कर्जा लगानी भएको छ।

सबैभन्दा धेरै कर्जा लगानी भएको तेस्रो क्षेत्र व्यक्तिगत घर कर्जा (रिसेन्डियल पर्सनल होम लोन) रहेको छ । यस्तो कर्जा दुई महिनामा २.३ प्रतिशत बिन्दुले बढेको राष्ट्र बैंकले जनाएको छ । व्यक्तिगत घर कर्जा दुई महिनामा ९ अर्ब ७९ करोड ८६ लाख रुपैयाँले बढेको छ । भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत घर कर्जामा ४ अर्ब २७ अर्ब ३६ करोड ४४ लाख रुपैयाँ कर्जा लगानी गरेका छन् ।

यस अवधिमा क्यास क्रेडिट लोन पनि १.७ प्रतिशत बिन्दुले बढेको छ । दुई महिनामा यस क्षेत्रमा जाने यस्तो कर्जा ११ अर्ब १२ करोड ९४ लाख रुपैयाँले बढेको हो । यस अवधिसम्म यस क्षेत्रमा ६ खर्ब ६१ अर्ब ८३ करोड २५ लाख रुपैयाँ कर्जा लगानी भएको छ।

केन्द्रीय बैंकका अनुसार दुई महिनामा टर्म लोन पनि १.१ प्रतिशत बिन्दुले बढेको छ । दुई महिनामा यस्तो कर्जा लगानी २३ अर्ब २२ करोड ५५ लाख रुपैयाँ भएको छ । भदौ मसान्तसम्म आउँदा यस्तो कर्जा लगानी २ खर्ब ९ अर्ब ६७ करोड ८५ लाख रुपैयाँ पुगेको छ ।

यस अवधिसम्म आउँदा गाडी खरिदको लागि जाने हायर पर्चेज लोन पनि ०.५ प्रतिशत बिन्दुले बढेको छ । दुई महिनामा बैंक तथा वित्तीय संस्थाले गाडी खरिद गर्नको लागि ५९ करोड ३६ लाख रुपैयाँ कर्जा दिएका छन् । भदौ मसान्तसम्म यस्तो कर्जा लगानी १ खर्ब २९ अर्ब २८ करोड ९३ लाख रुपैयाँ पुगेको छ ।

चालु आवको दुई महिनामा वर्किङ क्यापिटल लोनतर्फ जाने कर्जा पनि ०.३ प्रतिशत बिन्दुले बढेको राष्ट्र बैंकले जानकारी दिएको छ । दुई यस क्षेत्रमा २ अर्ब २८ करोड ८९ लाख रुपैयाँ कर्जा लगानी भएको छ । भदौ मसान्तसम्म आउँदा बैंक तथा वित्तीय क्षेत्रले यस क्षेत्रमा ८ खर्ब २३ अर्ब २९ करोड ५९ लाख रुपैयाँ कर्जा लगानी गरेका छन् ।

अन्य प्रडक्टमा गर्ने लगानी पनि ०.३ प्रतिशत बिन्दुले नै बढेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । यस्तो क्षेत्रमा जाने कर्जा २ महिनामा १ अर्ब ५३ करोड ६९ लाख रुपैयाँ लगानी भएको छ । भदौ मसान्तसम्म ५ खर्ब ४५ अर्ब ९० करोड ३० लाख रुपैयाँ कर्जा लगानी भएको छ ।

४ क्षेत्रमा जाने कर्जा घट्यो
यस अवधिमा ४ वटा क्षेत्रमा जाने कर्जा लगानी घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको दुई महिनामा रियल स्टेट कर्जा १.६ प्रतिशत बिन्दुले घटेको छ । यस क्षेत्रमा जाने कर्जा २ महिनामा ४ अर्ब ४५ करोड ८९ लाखले घटेको हो । भदौ मसान्तसम्म आउँदा यस क्षेत्रमा २ खर्ब ७१ अर्ब ५० करोड ६ लाख रुपैयाँ कर्जा लगानी भएको छ ।

बैंक तथा वित्तीय क्षेत्रले ओभर ड्राफ्टतर्फको कर्जा लगानी पनि घटेको राष्ट्र बैंकले जानकारी दिएको छ । यस क्षेत्रमा जाने कर्जा लगानी दुई महिनामा ३.६ प्रतिशत बिन्दुले घटेको छ । दुई महिनामा यस्तो कर्जा लगानी ४ अर्ब ३ करोड ७४ लाख रुपैयाँले घटेको हो । भदौ मसान्तसम्म आउँदा बैंक तथा वित्तीय क्षेत्रले यो क्षेत्रमा १ खर्ब ७ अर्ब ३९ लाख ७६ लाख रुपैयाँ कर्जा लगानी गरेका छन् ।

यस अवधिमा राष्ट्र बैंकले तोकेको प्राथमिकता प्राप्त क्षेत्र (डिप्राइभड सेक्टर) तर्फ जाने कर्जा लगानी ५.९ प्रतिशत बिन्दुले घटेको छ । यस क्षेत्रतर्फ जाने कर्जा लगानी २ महिनामा १७ अर्ब ३९ करोड १० लाख रुपैयाँले घटेको हो । भदौ मसान्तसम्म आउँदा बैंक तथा वित्तीय क्षेत्रले यस क्षेत्रमा २ खर्ब ७९ अर्ब २३ करोड २९ लाख रुपैयाँ कर्जा लगानी भएको छ ।

यसैगरी, चालु आवको दुई महिनामा बिल खरिदतर्फ जाने कर्जा लगानी ४.४ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । दुई महिनामा यस्तो क्षेत्रमा जाने कर्जा लगानी ५४ करोड ५३ लाख रुपैयाँले घटेको छ । भदौ मसान्तसम्म आउँदा यस क्षेत्रमा ११ अर्ब ८२ करोड ६९ लाख रुपैयाँ कर्जा लगानी भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime