Skip to content

कांग्रेसका विशेष महाधिवेशन पक्षधरले भने– केन्द्रीय समिति म्याद थप्न उद्दत देखिन्छ

nabil bank

काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर हस्ताक्षरकर्ताले पार्टी महाधिवेशन अविलम्ब हुनुपर्ने माग गरेका छन् । आइतबार बिहान काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले यस्तो माग गरेका हुन् ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर हस्ताक्षर अभियानको अगुवाइ गरेका नेता गुरुराज घिमिरेले पार्टी विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशनको माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दर्ता गरिसकेको बताए। जारी केन्द्रीय समितिको बैठकलाई सुक्ष्म रूपमा नियालिरहेको उनले बताए।

राष्ट्रिय राजनीति तिव्रताका साथ अघि बढिरहेको बेला पार्टी महाधिवेशन आयोजनामा विलम्ब गर्ने, अलमलिने र पार्टीको नेतृत्व र नीति चयन गर्न ढिलाइ गर्ने सुविधा नभएको विशेष महाधिवेशन पक्षधर जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

 

भनिएको छ, ‘गत असोज २८ बाट प्रारम्भ भएको केन्द्रीय समितिको बैठक अस्वाभाविक रूपमा लम्ब्याउने र टुङ्गिनेसमेत अनिश्चित देखिनुले कार्यसमितिको मनसाय मंसिरभित्र नियमित महाधिवेशन नगर्ने र आफ्नो म्याद थप्नेतर्फ उद्दत देखिन्छ। वर्तमान केन्द्रीय समितिको यस्तो चाल र प्रवृत्ति आपत्तिजनक छ।’

यस्ता छन् उनीहरूले केन्द्रीय समितिको बैठकलाई गराएका ५ बुँदे ध्यानाकर्षणः–
१. पार्टी विधानको धारा १७(२) बमोजिम विशेष महाधिवेशनको माग गर्ने सार्वभौम अधिकार महाधिवेशन प्रतिनिधिहरूमा निहित रहेकोले कुनै पनि कारण देखाएर यसको अवमूल्यन गर्ने वा टार्ने, छल्ने छुट कसैलाई पनि छैन।

२. पार्टीको १४ औँ महाधिवेशनबाट निर्वाचित भएको केन्द्रीय कार्यसमितिको असफलताको मानक स्वरूप नेपाली राजनीतिमा धेरै घटनारदुर्घटनाहरू भएको पृष्ठभूमि हाम्रो सामु छ। तसर्थ यस कार्यसमितिले आफ्नो म्याद थपेर पार्टीलाई नेतृत्व गर्ने नैतिक धरातल गुमाइसकेको छ।

३. आगामी फागुन २१ गते नेपाल सरकारबाट घोषित प्रतिनिधिसभाको निर्वाचन अगावै पार्टी महाधिवेशनमार्फत नयाँ नीति र नेतृत्व चयन गरी आगामी चुनावमा जानुपर्ने राष्ट्रिय आवश्यकता महसुस गरी विशेष महाधिवेशनको माग गरिएको हो। यसभन्दा उत्तम हामीसँग अर्को विकल्प छैन। तसर्थ यस मागप्रति गम्भीर रहन र कार्यान्वयन तर्फ अग्रसर रहनु अनिवार्य आवश्यकता रहेको ब्यहोरा पुनः स्मरण गराउन चाहन्छौँ।

४. विगतका निर्वाचनमा नेपाली कांग्रेस पार्टीले महाधिवेशन मार्फत पार्टी भित्र नयाँ जनादेश लिएर नवनिर्वाचित केन्द्रीय कार्यसमितिले नै निर्वाचन हाँकेको इतिहास छ। त्यही भएर अहिले पनि आगामी मंसिरभित्र विधिवत् महाधिवेशन गरी नयाँ कार्यसमितिको चयन आजको अपरिहार्यता हो।

५. केन्द्रीय कार्यसमितिको जारी बैठकमा पार्टी विधानको मूल भावना, मर्म र क्षेत्राधिकार विपरीत केही सदस्यहरूले आफ्ना धारणा राखु आपत्तिजनक छ। केन्द्रीय सदस्यहरूका यस्ता अभिव्यक्तिले केन्द्रीय कार्य समिति पार्टीको मूल जिम्मेवारीबाट भाग्न खोजेको र बरालिएको महसुस गरेका छौँ। अतः विशेष महाधिवेशनको मागलाई वैधानिक, समयसापेक्ष र स्वाभाविक आवश्यकताको रूपमा ग्रहण गरी कार्यान्वयन तर्फ अघि बढ्न आग्रह गर्दछौँ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime