कैलाली । कैलाली भन्सार कार्यालय, धनगढीले तीन महिनामा १ अर्ब ७९ करोड २८ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि असोजसम्ममा सो परिमाणमा राजस्व संकलन गरेको हो ।
कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालका अनुसार भन्सार महसुलतर्फ ६९ करोड ६७ लाख, मूल्य अभिवृद्धि करतर्फ ६८ करोड ९८ लाख, अन्तःशुल्कतर्फ ५ करोड ३ लाख र अन्यतर्फ ३५ करोड ५८ लाख रुपैयाँ राजस्व संकलन भएको छ । चालु आर्थिक वर्षका कुनै पनि महिनामा राजस्व सङ्कलन लक्ष्यमा भने पुग्न सकेको छैन ।
साउनमा ७१ करोड ६१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा ५७ करोड ८० लाख, भदौमा ७४ करोड २१ लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य रहेकामा ५३ करोड ७० लाख र असोजमा ७६ करोड ७७ लाख राजस्व सङ्कलनको लक्ष्य रहेकामा ६७ करोड ७८ लाख रुपैयाँ मात्रै राजस्व सङ्कलन भएको सूचना अधिकारी अर्यालले जानकारी दिए । चालु आर्थिक वर्षमा ९ अर्ब ७१ करोड १५ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको उनले बताए ।
तीन महिनामा सङ्कलन भएको राजस्व वार्षिक लक्ष्यको १८ दशमलव ४६ प्रतिशत हो । आर्थिक वर्ष २०८१/८२ मा पनि राजस्व लक्ष्यअनुसार सङ्कलन भएको थिएन । गत आर्थिक वर्षमा ११ अर्ब १६ करोड २६ लाख राजस्व सङ्कलनको लक्ष्य रहेकामा आठ अर्ब ६६ करोड ९८ लाख रुपैयाँ मात्रै राजस्व सङ्कलन भएको सूचना अधिकारी अर्यालले जानकारी दिए । यो वार्षिक लक्ष्यको ७७ दशमलव ६७ प्रतिशत मात्रै हो ।






प्रतिक्रिया दिनुहोस्