कञ्चनपुर । कञ्चनपुरमा यस वर्षको धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा हस्ताक्षरित सूचनाअनुसार, मोटो धानको मूल्य प्रतिक्विन्टल तीन हजार ४६३ रुपैयाँ ८१ पैसा र मध्यम धानको मूल्य प्रतिक्विन्टल तीन हजार ६२८ रुपैयाँ ३३ पैसा तोकिएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को गत साउन २६ गतेको निर्णयानुसार जिल्लामा समर्थन मूल्य निर्धारण गरिएको हो । प्रमुख जिल्ला अधिकारी ढकालले जारी गरेको सूचनाअनुसार कृषक, धानचामलका उद्योगी तथा व्यापारीहरुलाई तोकिएको मूल्यमा धान खरिद–बिक्री गर्न आग्रह गरिएको छ । पालिका क्षेत्रभित्र निर्णय कार्यान्वयन गराउनका लागि स्थानीय तहलाई निर्देशन दिइएको छ ।
हाल जिल्लाभर धानबाली काट्ने, सुकाउने र थ्रेसिङ गर्ने चटारो चलिरहेको छ । किसानले समर्थन मूल्य समयमा नै निर्धारण गरिएको भन्दै स्वागत गरेका छन् । स्थानीय किसान गहनु चौधरीले धानको समर्थन मूल्य निर्धारण गरिएको निर्णय स्वागतयोग्य रहेको बताए । पालिकास्तरमा सरकारी धान खरिद डिपो सञ्चालन गरेर तोकिएको मूल्यमा नै खरिद गरिदिएमा किसानलाई राहत मिल्ने उनको भनाइ छ ।






प्रतिक्रिया दिनुहोस्