Skip to content

डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता उठाउन प्राधिकरण दृढ, जुनसुकै बेला लाइन काटिन सक्छः कार्यकारी निर्देशक सिलवाल

nabil bank

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता नतिर्ने २५ उद्योगको बक्यौता उठाउन दृढ रहेको जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले कानुनले तोकेको बक्यौता उठाउन आफू दृढ रहेको बताए । उनले सरकारले गरेको निर्णयअनुसार अघि बढ्नु पर्ने भएका कारण बक्यौता नतिर्ने २५ उद्योगीको जुनसुकै बेला पनि लाइन काट्न सकिने बताए ।

‘आइतबारसम्म १३ वटा उद्योगले बक्यौता तिरेका छन् । १० वटा उद्योगले पहिला नै चुक्ता गरिसकेका छन् । अरिहन्त मल्टिफाइबर, रघुपति जुट मिल,बाबा जुट मिल, युनाइटेड सिमेन्ट प्रालि, मारुती सिमेन्ट र पोलिप्याक्सले अदालतबाट स्टे अर्डर ल्याएका छन् । डाबर नेपाल, सुदूरपश्चिम हवाई कार्यालयको धरौती जफत भएको छ । हेटौडा र उदयपुर सिमेन्ट बन्द भएका छन्’ सिलवालले लगानी न्यूजसँग भने ‘बाँकी २५ वटा उद्योगले बाँकी बक्यौता तिरेका छैनन् । २५ वटा उद्योगमा जुनसुकै बेला पनि लाइट काटन सकिन्छ । आजै अहिले नै भन्ने छैन ।’

आइतबारसम्म प्राधिकरणमा अशोक स्टील इन्डष्ट्रिज लिमिटेड, सम्राट सिमेन्ट इन्डष्ट्रिज लिमिटेड, हुलास स्टील इण्डष्ट्रिज लिमिटेड, रोल्पा सिमेन्ट लिमिटेड, लक्ष्मी स्टील इण्डष्ट्रिज लिमिटेड, हामा आइरन एन्ड स्टील लिमिटेड, नव नेपाल प्लास्टिक इन्डिस्ट्रिज, सर्वोत्तम सिमेन्ट लिमिटेड, जीवी टेक्स्टाइल, शुभश्री अग्नि सिमेन्ट, रबर उद्योग लगायतले बक्यौता तिरेका छन् ।

बक्यौता तिर्न बाँकी रहेका उद्योगको बक्यौता उठाउन प्राधिकरण सँधै दृढ रहेको सिलवालले पुनः दोहोर्याए । प्राधिकरणका अनुसार सिमरास्थित हामा आइरन एन्ड स्टील इन्डस्ट्रिजले डेडिकेटेड ट्रंक लाइनको कुल बक्यौता ५ करोड ८५ लाख मध्ये पहिलो किस्ताबापत २० लाख ९० हजार रुपैयाँ बुझाएको छ ।

परासीस्थित लक्ष्मी स्टीलले किस्ता बापत ८४ लाख ९८ हजार बुझाएको छ । सर्वोत्तम सिमेन्टले ४० लाख रुपैयाँ बुझाएको छ । हुलास स्टिल इण्डस्ट्रिज प्रालिले २०७२ साल माघदेखि २०७५ साल वैशाखसम्म डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेको बापतको बक्यौता रकम तिर्न सुरु गरेको छ । उद्योगको कुल बक्यौता रकम १४ करोड १२ लाख ५ हजार रुपैयाँ रहेको र उक्त रकम २८ किस्तामा तिर्न प्राधिकरणले स्वीकृति दिएको छ । हुलासले पहिलो किस्ताका रूपमा ५० लाख ४३ हजार रुपैयाँ बुझाएको छ ।

सिमराकै अशोक स्टिल इण्डस्ट्रीले पनि १७ करोड ५८ लाख रुपैयाँ बक्यौता रकम किस्ताबन्दीमा तिर्न सुरु गरेको छ । अशोकले २८ किस्ताको सुविधा लिई पहिलो किस्ताका रूपमा ६३ लाख रुपैयाँ बुझाएको प्राधिकरणले जनाएको छ । सम्राट सिमेन्ट उद्योगले एकैपटक तीन किस्ता बराबर ४० लाख ४७ हजार रुपैयाँ बुझाएर जेठसम्मको किस्ता चुक्ता गरेको छ ।

रोल्पा सिमेन्टले पाँच किस्ता बराबर १७ लाख ७० हजार रुपैयाँ एकैपटक तिरेको हो। त्यस्तै नव नेपाल प्लास्टिक इन्डस्ट्रिजले १२ किस्ता बराबर १ लाख २३ हजार रुपैयाँ तिरेर आफ्नो सम्पूर्ण बक्यौता रकम चुक्ता गरेको छ । शुभश्री अग्नि सिमेन्टले ९८ लाख रुपैयाँ बक्यौतामध्ये पहिलो किस्ता बापत ३ लाख ५५ हजार रुपैयाँ भुक्तानी गरेको छ ।

प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रक लाइनबाट विद्युत सप्लाई लिएका उपभोक्ताहरुलाई बक्यौता विद्युत महशुल बुझाउन सूचना जारी गरेको थियो । असोज १० गते बसेको प्राधिकरण सन्चालक समितिको बैठकले बक्यौता विद्युत महशुल २१ दिन भित्र भुक्तानी गर्नुपर्ने निर्णय गरे थियो ।

मासिक किस्तावन्दीमा रकम भुक्तानी गर्न इच्छुक उपभोक्ताहरुलाई बढिमा २८ महिनाको किस्तावन्दीको सुविधा उपलब्ध गराएको छ । तोकेको समय सीमाभित्र बक्यौता महशुल बुझाउन नआएमा नेपाल विद्युत प्राधिकरण, विद्युत महशुल संकलन विनियमावली, २०७८ बमोजिम कारवाही हुने जनाएको छ ।

प्राधिकरणको डेडिकेटेड फिडर तथा ट्रंक लाईनमार्फत विद्युत उपभोग गरेबापत २०७२ माघदेखि २०७५ बैशाख महिनासम्मको विद्युत महशुल बक्यौता रहेका ग्राहकहरुलाई प्रशासकीय पुनरावलोकनको लागि २०८२ जेठ मसान्तभित्र निवेदन दिन सक्ने म्याद कायम गरी २०८२ वैशाख २६ गते र २०८२ वैशाख ३० गते सूचना प्रकाशित गरेको थियो ।

उक्त समयमा गरेको म्याद कायम गर्ने निर्णय तथा प्रशासकीय पुनरावलोकनसँग सम्बन्धित सम्पूर्ण काम कारवाहीहरु संचालक समितिको असोज १० गतेको निर्णयानुसार बदर भएको जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime