ललितपुर । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संवत् नेपालीहरुको गौरव, सभ्यता र पहिचानको प्रतीक भएको बताएकी छन् ।
नेपाल संवत् ११४६ तथा नयाँ वर्षका अवसरमा नेपाल भाषा मङ्का खलः यलको संयोजन, ललितपुर महानगरपालिकाको सहयोग तथा पाटनका विभिन्न जातीय समाजको सहकार्यमा आज पाटन मङ्गलबजारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले नेपाल भाषाको संरक्षण र प्रवद्धर्नमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
आजभन्दा ११४६ वर्षअघि राजा राघवदेवको शासनकालमा शङ्खधर साख्वाले गरिबी र ऋणमा डुबेका नागरिकको ऋणमोचन गरी उनीहरूलाई मुक्त गरेको ऐतिहासिक दिन नै ‘नेपाल संवत्’को शुभारम्भको आधार भएको उनले बताइन्।
शङ्खधर साख्वाःले देखाएको सामाजिक एकता, त्याग र मानवीयताको बाटोमा हिँड्न हामी सबैलाई प्रेरणा मिलोस् भन्नुहुँदै प्रधानमन्त्री कार्कीले आजदेखि सुरु भएको ‘नयाँ वर्ष’ले हामी सबैको जीवनमा सुख, शान्ति, सामाजिक सद्भाव र प्रगतिको नयाँ आयाम थप्न सकोस् भन्ने कामना गरिन्।
‘नेपाल सम्वतका प्रवर्तक शङ्खधर साख्वा एक व्यापारी हुनुहुन्थ्यो, उनले केवल नाफा कमाउने मात्रै नभएर एक महान समाजसेवी र लोककल्याणकारी समाजसेवी हुनुहुन्थ्यो, उनको यही सामाजिक न्यायको महान् कार्यको कदरस्वरूप विसं ९३६ मा नेपाल संवत्को थालनी गरियो, सम्मानस्वरुप उनलाई विसं २०५६ मा राष्ट्रिय विभूति घोषणा गरियो । २०६५ सालदेखि नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गरी सरकारी कागजातमा नेपाल संवत्समेत उल्लेख गर्न थालिएको छ ।’ उनले भने ।
‘नेपाल संवत् नेपाली धर्तीमा उत्पत्ति भएको हो । नेपाली जनताले यसको प्रादुर्भाव गरेका हुन्, तसर्थ राष्ट्रियता, मौलिकता एवं सामाजिक इतिहासको महत्त्वपूर्ण धरोहर हो यो संवत्, यस संवत्को प्रबर्द्धक एवं समाजसेवी साख्वाबाट सिक्ने कुरा धेरै छन् । व्यक्तिगतभन्दा सामूहिक र दलगत हितभन्दा माथि राष्ट्रिय हितलाई राखेर हिँड्न सकेमात्र हाम्रो राष्ट्रिय अभिष्ट पूरा हुन सक्छ ।’ प्रधानमन्त्री कार्कीले भने ।
गत भदौ २३ र २४ गते ‘जेन जेड’ समूहले मुलुकमा व्याप्त भ्रष्टाचारविरुद्ध गरेको आन्दोलनमा कलिला युवाहरुको अनाहकमा ज्यान गएको र सयौँको सङ्ख्यामा घाइते भएको घटनाले आफू अत्यन्त दुःखी भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले भने, ‘उक्त आन्दोलनमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’
‘जेन जेड आन्दोलनको बलमा बनेको यस नागरिक सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने जिम्मेवारी प्राप्त गरेको यहाँहरुलाई विदितै छ, यस सरकारसँग नेपालको संविधानको अधिनमा रही जेन जेड आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्नुपर्ने दायित्व रहेको छ । यसका लागि समाजका सबै तह, तप्का र वर्ग समुदायको उत्तिकै भूमिका हुन्छ । आउनुहोस्, यसमा सहाकार्य गरौँ र सचेत नागरिकको भूमिका निर्वाह गरौँ,’ उनले भनिन् ।
उनले लोकतान्त्रिक सबलीकरण, आर्थिक समृद्धि र नागरिक अधिकारको रक्षा गर्न आगामी फागुन २१ गते हुने निर्वाचनमा भयरहित ढङ्गले नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट गर्दै प्रधानमन्त्री कार्कीले सम्पूर्ण नेपालीको सहभागितासहित स्वतन्त्र, निष्पक्ष एवं भयसहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने अभियानमा सम्पूर्ण राजनीति दल, वर्ग, समूहको साथ, सहयोग प्राप्त हुने विश्वास व्यक्त गरिन् ।
विभिन्न जातीय समुदायको तर्फबाट उपत्यकाको ललितपुर भक्तपुर र काठमाडौँमा विशेष कार्यक्रम गरी हर्षोल्लासका साथ आज नेपाल संवत् मनाइँदै छ । यसैगरी विशेषगरी नेवार समुदायको बसोबास भएका देशका विभिन्न गाउँ, सहर, बजारमा समेत ‘नेपाल संवत्’ उल्लसमय वातावरणका बीच मनाईंदै छ ।






प्रतिक्रिया दिनुहोस्