काठमाडौं । नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको काठमाडौं तराई मधेश द्रूतमार्ग सडक निर्माणको काम तिब्र रुपमा अघि बढेको छ ।
विसं २०७४ वैशाखमा उक्त सडक निर्माणको जिम्मेवारी सेनाले लिएको थियो । जिम्मेवारी प्राप्त भए पनि विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) स्वीकृतमा समय लाग्दा आयोजनाको काम सुरु गर्न केही ढिलाइ भएको थियो ।
कूल ७०.९७७ किमी लम्बाइको उक्त आयोजनाको भौतिक प्रगति हाल ४३.६ र वित्तीय प्रगति ४४.७२ रहेको आयोजना निर्देशक धर्मेन्द्रकुमार झाले जानकारी दिए । द्रूतमार्गअन्र्तगत ८७ वटाभन्दा बढी पुल निर्माण गर्नुपर्ने छ । तीमध्ये केही विशिष्ट प्रकृतिका ८२ मिटरसम्म अग्ला पुल रहने छन् ।
त्यस्ता पुल निर्माणको अन्तिम चरणमा रहेको जनाइएको छ । आयोजना निर्धारित मिति २०८३ चैत मसान्त र प्रारम्भिक अनुमानित लागत दुई खर्ब १३ अर्बभित्रै निर्माण सम्पन्न हुने झाले स्पष्ट पारे ।
यो काठमाडौं उपत्यकासँग मध्यतराईको सिधा सम्पर्क जोड्ने छोटो दूरीको राजमार्ग हुनेछ । निर्माणपछि तराईबाट काठमाडौँमा ल्याइने सामान ढुवानीमा ठूलो मात्रामा लागत र समय घट्ने तथा मुलुकको आर्थिक विकासमा उल्लेख्य टेवा पुग्ने अपेक्षा गरिएको छ ।
आयोजनाअन्तर्गतका सात वटा सुरुङमध्ये दुई वटा छिचोलिएको, दुई वटा निर्माणाधीन रहेका र तीन वटाको ‘पोर्टल’ कार्य भइरहेको सेनाले जनाएको छ । सेनाले आयोजनाको लक्ष्यअनुसार कार्यसम्पन्न गर्न विशेष प्रयास गरिरहेको निर्देशक झाले बताए ।






प्रतिक्रिया दिनुहोस्