काठमाडौं । आज साँझदेखि नेपालका केही स्थानमा वर्षा हुने भएको छ । पश्चिमी वायुको प्रभाव, अरब सागरमा बनेको न्यून चापीय प्रणाली र बङ्गालको खाडीमा बनेको मोन्था नामको सामुद्रिक आँधीको कारणले नेपालमा वर्षा गराउने भएको हो ।
पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावले आज कात्तिक १० गते रातिदेखि कात्तिक १२ गते बिहानसम्म गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा भारी हिमपातको पनि सम्भावना रहेको छ ।
बुधबारबाट भने बङ्गालको खाडीमा बनेको मोन्था नामको सामुद्रिक आँधीको प्रभाव नेपालमा देखिने मौसमविद्हरु बताएका छन् । यो आँधीको प्रभावले बुधबारदेखि शनिबारसम्म पूर्वी नेपालमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा यस प्रणालीले वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात गराउने बताइएको छ। धेरै प्रभाव भने कोशी, मधेस र बागमतीमा देखिने छ।






प्रतिक्रिया दिनुहोस्