काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा ७९ करोड ४९ लाख ५३ हजार रुपैयाँको सिमेन्ट तथा क्लिंकर निर्यात भएको छ । भन्सार विभागका अनुसार साउन, भदौ र असोजमा नेपालबाट भारतमा ७९ करोड ४९ लाख ५३ हजार रुपैयाँको ३ लाख ५९ हजार ६२ टन सिमेन्ट तथा क्लिंकर भारततर्फ निर्यात गरेको हो ।
विभागमा अनुसार गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा नेपालबाट निर्यात हुने सिमेन्ट र क्लिंकर निर्यात ६१.४२ प्रतिशतले बढेको छ । गत आवको तीन महिनामा नेपालबाट भारतमा ४९ करोड २४ लाख ७२ हजार रुपैयाँको २ लाख ४१ हजार ४९७ टन सिमेन्ट र क्लिंकर निर्यात भएको थियो ।
विभागका अनुसार चालु आवको तीन महिनामा १५ करोड १६ लाख ३० हजार रुपैयाँको ४० हजार २९८ मेट्रिक टन क्लिंकर र ६४ करोड ३३ लाख २३ हजार रुपैयाँको ३ लाख १८ हजार ७६३ मेट्रिक टन पोर्टल्यान्ड सिमेन्ट निर्यात भएको छ ।
गत आवको सोही अवधिमा ३९ करोड ५ लाख २४ हजार रुपैयाँको २ लाख २३ हजार १८८ मेट्रिक टन पोर्टल्यान्ड सिमेन्ट र १० करोड १९ लाख ४७ हजार रुपैयाँको १८ हजार ३०८ किलो क्लिंकर भारत निर्यात भएको थियो ।
नेपालमा उत्पादन भएको सिमेन्ट गुणस्तरीय हुने भन्दै भारतका बजारमा उच्च माग हुने गरेको छ । यतिबेला भने सिमेन्ट लगायत उद्योगले डेडिकेटेड फिडर र र ट्रंकलाइनको बक्यौता नतिरेको भन्दै २५ उद्योगको विद्युत विद्युत प्राधिकरणले काटेको छ ।
प्राधिकरणले कात्तिक ३ गते र ७ गते सबै उद्योगको लाइन काटेको छ । प्राधिकरणले लाइन काटेपछि सबै उद्योगको उत्पादन ठप्प भएको छ ।






प्रतिक्रिया दिनुहोस्