काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ नेपाल प्रहरीका डिएसपीको कमान्डमा रहेको सुरक्षा घेरामा कार्यालय पुगेका छन् ।
बोर्डका कर्मचारीका अनुसार अध्यक्ष श्रेष्ठ कार्यालय पुग्नु अघि प्रहरीको एक टोली सेबोन प्राङ्गणमा पुगेको थियो । त्यसको केही समयपछि अघि–अघि अध्यक्ष पछि–पछि जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपीको गाडीसहित ११ बजे कार्यालय पुगेका छन् ।
‘अध्यक्षज्यू आउनुभन्दा केही समयअघि प्रहरी सेबोनमा आएको थियो’ बोर्डका एक कर्मचारीले भने, ‘प्रहरी आएको केही समयपछि करिब ११ बजे हाम्रो अध्यक्षज्यू पनि गाडीमा कार्यालय आउनुभयो । उहाँको गाडी पछाडि डिएसपीसहितको गाडी आयो ।’ ती कर्मचारीका अनुसार अध्यक्ष श्रेष्ठलाई कार्यकक्षसम्म प्रहरीले सुरक्षा दिएर पुर्याएको छ । बोर्डका प्रहरी करिब १० मिनेट बसेका थिए । त्यसपछि प्रहरी फर्केको बताइएको छ । अध्यक्ष श्रेष्ठ अहिले पनि कार्यालयमा नै रहेको एक कर्मचारीले बताए ।
यता बोर्डका कर्मचारीले भने ३७ दिनदेखि कामकाज ठप्प पारेर आन्दोलन गरिरहेका छन् । आन्दोलनमा रहेका कर्मचारीबाट असुरक्षित महसुस गर्दै प्रहरी लिएर कार्यालय पुगेको बोर्डका कर्मचारीको बुझाइ छ ।
अर्थ मन्त्रालयले गरेको निर्णयबिरुद्ध बोर्डका कर्मचारी ३७ दिनदेखि आन्दोलनमा छन् । अर्थ मन्त्रालयले असोज २ गते पठाएको पत्रका कारण बोर्डका सबै कर्मचारी आन्दोलित भएका हु्न् ।कर्मचारी कार्यालय आउने, कार्यालय समयमा मुलगेटमा धर्ना दिने काम भइरहेको छ ।
मन्त्रालयले असोज २ गते बोर्डलाई ‘धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा २२, दफा ११६, विधायन ऐन, २०८१ को दफा १५, नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०७४ र नेपाल धितोपत्र बोर्ड कर्मचारी सेवा, शर्तसम्बन्धी नियमावली, २०६८ को नियम १६७ विपरीत जारी भएका नेपाल धितोपत्र बोर्ड कर्मचारी कल्याणकोष कार्यविधि, २०७१ र नेपाल धितोपत्र वोर्ड कर्मचारी सुरक्षण कोष (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ तत्काल खारेज गर्ने’ भन्ने पत्र पठायो ।
कर्मचारीले आफूले गरेका काममा जुनसुकै बेला अर्थ मन्त्रालयले प्रश्न उठाउने सक्ने, बनेका विनियमावली, निर्देशिका, कार्यविधि खारेज गर्न सक्ने भन्दै सेबोनलाई स्वायत्त निकाय बनाउनुपर्ने र असोज २ गतेको पत्र फिर्ता गर्नुपर्ने माग गरेका छन् ।






प्रतिक्रिया दिनुहोस्