काठमाडौं । नेपाल सरकारले र जापान सरकारबिच बीपी राजमार्गको पुनर्निर्माण तथा मर्मत सम्भारका लागि अनुदान सम्झौतामा भएको छ । बिहीबार अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र गृहमन्त्री ओम प्रकाश अर्यालको समुपस्थितमा आज अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा हस्ताक्षर भएको हो ।
महोत्तरी जिल्लाको बर्दिबासदेखि काभ्रेपलान्चोक जिल्लाको धुलिखेलसम्म १५९ किलोमिटर लम्बाई भएको बिपी राजमार्ग नेपालको एक महत्त्वपूर्ण राष्ट्रिय राजमार्ग हो। यो राजमार्गको निर्माण जापान सरकारको अनुदान सहयोगमा गरिएको थियो।
गत वर्षको विनाशकारी बाढी र पहिरोका कारण सो राजमार्गका विभिन्न खण्डहरू गम्भीर रूपमा क्षतिग्रस्त भएका थिए, जसमा विशेष गरी रोशी नदी आसपासका केही भागहरू पूर्ण रूपमा नष्ट भएका थिए।ती क्षतिग्रस्त खण्डको पुनर्निर्माण र मर्मत सम्भारका लागि जापान सरकारले नेपाल सरकारलाई २ अर्ब ८० करोड जापानी येन (करिब २ अर्ब ६० करोड नेपाली रुपैयाँ) बराबरको अनुदान सहायता प्रदान गरेको छ।
अनुदान सहायतासम्बन्धी एक्सचेन्ज अफ नोट्समा नेपाल सरकारको तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र जापानको तर्फबाट नेपालका लागि राजदूत महामहिम तोरु माएदाले हस्ताक्षर गरेका छन्।
त्यसैगरी, अनुदान सम्झौतामा नेपालको तर्फबाट अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखाका सहसचिव धनीराम शर्मा र जापानको तर्फबाट जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी मिजुकीले हस्ताक्षर गरेका छन्।
हस्ताक्षर समारोहपछि नेपाल सरकारको तर्फबाट अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र जापान सरकारको तर्फबाट महामहिम जापानी राजदूत तोरु माएदा र जाइका नेपालको तर्फबाट प्रमुख प्रतिनिधि मात्सुजाकी मिजुकीले भनाइहरू राखेका छन् ।
अर्थ मन्त्री खनालले आफ्नो सम्बोधनमा जापान नेपालका लागि एक विश्वसनीय र भरोसायोग्य विकास साझेदार रहेको उल्लेख गर्दै जापानले नेपालको आर्थिक(सामाजिक विकास र पूर्वाधार निर्माणका क्षेत्रमा निरन्तर पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गरेका छन्। साथै, उनले हाल प्रदान गरिएको अनुदान सहायता नेपाल र जापानबिचको मित्रता र सहकार्यको अर्को महत्त्वपूर्ण प्रतीक भएको पनि बताए।
जापानी राजदूतले जापानले प्रदान गरेको यो अनुदान सहयोगले बिपी राजमार्गका क्षतिग्रस्त भागहरू पुनः स्थापना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै नेपाल र जापानबिचको दसकौँ पुरानो मित्रतापूर्ण सम्बन्धको स्मरण गरे ।
प्रतिक्रिया दिनुहोस्