Skip to content

सप्तकोशी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले गर्यो शीघ्र सुधारात्मक कारबाही, सीईओलाई नसिहत

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले सप्तकोशी डेभलपमेन्ट बैंकलाई शीघ्र सुधारात्मक कारबाही गरेको छ । त्यति मात्रै नभएर राष्ट्र बैंकले सीईओलाई नसिहतसमेत दिएको छ ।

सप्तकोशीको न्यूनतम पुँजीकोष सीमा २४.९ प्रतिशत न्यून भएपछि कारबाही गरेको हो । राष्ट्र बैंकले सप्तकोशीमा स्थलगत निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा कर्जा नोक्सानी व्यवस्था समायोजन गर्दा २०८१ असार मसान्तमा संस्थाको पुँजीकोष अनुपात यस बैंकले तोकेको १० प्रतिशतको न्यूनतम पुँजीकोष अनुपातमा ४२.७ प्रतिशतले नपुग रहेको पाइएको छ ।

साथै २०८२ असार मसान्तको पछिल्लो वित्तीय विवरणअनुसार न्यूनतम पुँजीकोष अनुपात ७.५१ प्रतिशत रहेको थियो । जुन केन्द्रीय बैंकले तोकेको न्यूनतम पुँजीकोष अनुपातमा २४.९ प्रतिशतले न्यून रहको थियो । जसले गर्दा राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड “क” मा रहेको व्यवस्था बमोजिम शीघ्र सुधारात्मक कारबाही गरिएको जनाइएको छ ।

केन्द्रीय बैंकले सप्तकोशीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेशकुमार पोखरेललाई नसिहत दिएको छ । केन्द्रीय बैंकले तयार गरेको स्थलगत निरीक्षण प्रतिवेदन, २०८१ मा बैंकले प्रवाह गरेको चालु पुँजी प्रकृतिका कर्जाहरु आवश्यक कागजात नलिई संस्थाको कोर बैंकिङ्ग प्रणालीमा समयावधि थप गरेको, कर्जा नोक्सानी व्यवस्थासम्बन्धी विवरण यथार्थपरक नभएको तथा यस बैंकमा गरेको रिपोर्टिङ्ग विस्वसनीय नभएको पाइएको छ । राष्ट्र बैंकले दिइएका निर्देशनहरु पालना नगरेको पाइएकाले संस्थाका सीईओ पोखरेललाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (क) बमोजिम नसिहत दिइएको जनाइएको छ ।

यस्तै राष्ट्र बैंकले गरेको स्थलगत निरीक्षणका क्रममा पाइएका कैफियतहरु सुधार गर्ने जिम्मेबारी संस्थाको सञ्चालक समितिमा रहन्छ । कैफियत/गल्ती तथा अवस्था पुनः दोहोरिन नदिन र सीईओबाट भएका कैफियतहरु सुधारको लागि जिम्मेवार रहन संस्थाको सञ्चालक समितिलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (ग) बमोजिम लिखित आदेश जारी गरिएको जनाइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime