काठमाडौं । नेपाल धितोपत्र बोर्डका कर्मचारीले आन्दोलनको ३९ औं दिनमा अध्यक्ष सन्तोष नारायण श्रेष्ठको राजीनामा मागेका छन् ।
अर्थमन्त्रालयले गरको निर्णय बिरुद्ध ३९ दिनदेखि आन्दोलनमा रहेका कर्मचारीले आज भने अध्यक्षका राजीनामा माग्नुका साथै कार्यकक्षमा प्रवेश गर्न नदिने चेतावनी दिएका छन् ।
सम्पूर्ण कर्मचारीहरूले निरन्तर संवादको अवस्था कायमै राखेको अवस्थामा बोर्ड अध्यक्ष श्रेष्ठले कात्तिक १२ गते प्रहरी प्रशासनको साथ कार्यालय प्रवेश गर्ने कार्यप्रति खेद प्रकट गरेका कर्मचारीले अब भने कार्यालयमा प्रवेश गर्न नदिने जनाएका छन् ।
सङ्घर्ष टुङ्गाउदै काममा फर्किन बोर्डका कर्मचारीहरू, बोर्डमा क्रियाशिल यूनियन संगठन पूर्णरूपमा लचक भएता पनि बोर्ड अध्यक्ष र संचालक बोर्डबाट समस्या समाधान केन्द्रीत ठोस प्रयास नभएको बोर्डमा रहेका नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठन र नेपाल धितोपत्र बोर्ड कर्मचारी यूनियनको दाबी छ ।
‘अध्यक्ष मार्फत संचालक बोर्डबाट कुनै निकास आउने नदेखिएको हुँदा, कर्मचारीको हित र संचालक बोर्डको विगतको आफ्ना निर्णयको रक्षा गर्दै उभिन नसक्ने बोर्ड अध्यक्ष नैतिकताको आधारमा एक मिनेटका लागि सो पदमा बस्न योग्य छैनन भन्ने हाम्रो ठम्याई रहेको छ’ जारी विज्ञप्तिमा भनिएको छ ‘यसर्थ, बोर्ड अध्यक्षले आफ्नो पदबाट राजिनामा दिई मार्ग प्रसस्त गर्नु पर्दछ, सो नगर्दासम्म बोर्ड अध्यक्षलाई बोर्डको कार्यकक्षमा समेत प्रवेश गर्न दिइने छैन ।’
अर्थ मन्त्रालयबाट समेत धितोपत्र बोर्डमा सिर्जित बिषम परिस्थितिलाई संवोधन गर्ने यथोचित प्रयास नभएको र पूँजीबजारको नियामक बन्द गरेर पूँजी बजारको विकास र विस्तारको सरकार लक्ष्य प्राप्त हुन नसक्ने जनाइएको छ । धितोपत्र बोर्डको संचालक बोर्डले जारी गरेको कार्यविधि खारेज गर्ने राजस्व सचिव स्तरिय निर्णय अविलम्ब फिर्ता लिई बोर्डको स्वयात्तता अक्षुण राख्न दुवै युनियनले सरकारसँग माग गरेका छन् ।







प्रतिक्रिया दिनुहोस्