काठमाडौं । काठमाडौं महानगरपालिकाको सहकारी विभागले महानगर क्षेत्रभित्र सञ्चालित सहकारी संस्थाहरूलाई विवरण बुझान निर्देशन दिएको छ । महानगरपालिकाको नियामकीय तथा भौगोलिक कार्य क्षेत्रभित्र सञ्चालित सहकारी संस्थाहरूका लागि तीन बुँदे निर्देशन दिँदै विवरण बुझाउन भनेको छ ।
काठमाडौं महानगरपालिका सहकारी ऐन, २०७४ को दफा २८ (२) र १०४ बमोजिम सहकारी संस्थाहरूले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र साधारण सभा सम्पन्न गरी सभा सम्पन्न भएको मितिले १५ दिनभित्र महानगरपालिकामा वार्षिक प्रतिवेदन पेश गर्नुपर्छ ।
केही सहकारी संस्थाहरूले वार्षिक साधारण सभा सम्पन्न गरी आर्थिक वर्ष २०८१/०८२ सम्मको लेखा परीक्षण प्रतिवेदन, साधारण सभाको निर्णय तथा वार्षिक प्रतिवेदन पेश गरेका छैनन् । ती सहकारी संस्थाहरूले अविलम्ब वार्षिक साधारण सभा सम्पन्न गरी साधारण सभाको निर्णय तथा वार्षिक प्रतिवेनहरू बिभागमा पेश गर्न निर्देशन दिएको छ ।
सहकारी ऐन, २०७४ को दफा ६६ (३) बमोजिम २ आर्थिक वर्षदेखि वार्षिक साधारण सभा गरी वार्षिक विभागमा विवरण पेश नगर्ने सहकारी संस्थाहरूलाई निष्क्रिय तथा सहकारीको मूल्य, मान्यता र सिद्धान्त विपरीत कार्य गरेको मानी निष्क्रिय सहकारी संस्थाको विवरण सार्वजनिक गर्नुका साथै विभागले संस्था खारेजीको प्रक्रिया समेतको कानूनी कारबाही गर्ने जनाएको छ ।
यस्तै सहकारी ऐन २०७४ बमोजिम तोकिएको कार्यविधि तथा सूचक बमोजिम महानगरपालिकाको नियामकीय अधिकार क्षेत्रभित्र रहेका सहकारी संस्थाको अनुगमनका लागि महानगरपालिकाबाट खटिई आउने अनुगमन तथा निरीक्षण टोलीलाई आवश्यक सहयोग गर्न समेत अनुरोध गरेको छ । विभागले आफ्नो कार्य क्षेत्रभित्र पर्ने सहकारी संस्थाहरूको दर्ता, प्रवर्धन, अनुगमन लगायतका कार्यहरू गर्दै आएको जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्