काठमाडौं । सातको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर बजार मापक नेप्से परिसूचक आज ३०.७५ अंकले बढेर २६३१.१४ बिन्दुमा पुगेको छ । यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ४.४१ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.२० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२३ अंक बढेको छ।
सेयर बजारसँगै आइतबार सेयर कारोबार रकम पनि बढेको छ । गत बिहीबार ७ अर्ब ५१ करोड ३९ लाख ३८ हजार ४७३ रुपैयाँ बराबरको कारोबार भएको सेयर बजारमा आइतबार ९ अर्ब २० करोड ३१ लाख ४६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएको १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ । बाँकी १ उपसमूहको परिसूचक घटेको छ।
आज वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.१७ प्रतिशत बढेको छ। आज जीवन बीमा उपसमूहको परिसूचक करिब साढे ४ प्रतिशत बढेको छ । यता होटल तथा पर्यटन, जलविद्युत, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन १.१० प्रतिशत घटेको छ।
आज कारोबारमा आएको ६ वटा कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज सामुदायिक लघुवित्त वित्तीय संस्था, गोर्खाज फाइनान्स, पञ्चकन्या माइ हाइड्रोपावर, पिपुल्स पावर, तेह्रथुम पावर र गुह्येश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको सेयरमा सकारात्मक सर्किट लागेको हो । यसैगरी, आज उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य करिब १० प्रतिशत बढेको छ । कारोबारमा आएको खानी खोला हाइड्रोपावरको सेयरमूल्य यस दिन सर्वाधिक ४.७६ प्रतिशत घटेको छ।
आज सबैभन्दा धेरै कारोबार हिमालयन बैंकको संस्थापक सेयर भएको छ । आज १ अर्ब ६६ करोड ५० लाख रुपैयाँ बराबरको संस्थापक सेयर कारोबार भएको छ। आज युनियन हाइड्रोपावरको करिब साढे ३४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आज बुटवल पावर कम्पनीको कारोबार रकम २५ करोड रुपैयाँ नाघेको छ।
प्रतिक्रिया दिनुहोस्