काठमाडौं । हिमालयन बैंकमा रहेको पाकिस्तानको हबिब बैंकको सेयर नेशनल लाइफ इन्स्योरेन्सले २ कारोबार दिनमा खरिद गरेको छ ।
नेशनलले बिहीबार र आज (आइतबार) दुई कार्यदिनमा सबै सेयर किनेको हो । दुई कारोबार दिनमा २ करोड ८० लाख १२ हजार ४४७ कित्ता सेयर ३ अर्ब ३३ करोड १ लाख १९ हजार ६९८ रुपैयाँमा कारोबार भएको हो ।
बिहीबार १ करोड ४० लाख ६ हजार २३० कित्ता सेयर १ अर्ब ६६ करोड ५० लाख ६० हजार ६२२ रुपैयाँमा कारोबार भएको थियो । आज आइतबारको १ अर्ब ६६ करोड ५० लाख ५९ हजार ७६ रुपैयाँको १ करोड ४० लाख ६ हजार २३० कित्ता सेयर खरिद बिक्री भएको छ ।
उक्त सेयर ४८ नम्बरको ब्रोकरले बिक्री गरेको छ भने ४४ नम्बर ब्रोकरबाट खरिद गरिएको छ । उक्त सम्झौता अनुसार नै २ कारोबार दिनमा २ करोड ८० लाख १२ हजार ४४७ कित्ता सेयर ३ अर्ब ३३ करोड १ लाख १९ हजार ६९८ रुपैयाँमा कारोबार भएको हो ।
पाकिस्तानको हबिब बैंकले हिमालयन बैंकमा रहेको आफ्नो सेयर प्रतिकित्ता ११८.८८ रुपैयाँमा बिक्री गर्न भन्दै साउन २९ गते सम्झौता गरेको थियो ।
हिमालयन बैंकमा रहेको १२.९३ प्रतिशत स्वामित्व अब नेशनल लाइफमा गएको छ । यसअघि नै हिमालयन बैंकमा नेशनलको १.२५ प्रतिशत स्वामित्व रहेको थियो । यो सँगै हिमालयन बैंकको ठूला सेयरधनीको पहिलो नम्बरमा नेशनल लाइफ इन्स्योरेन्स भएको छ ।
यो सँगै अब हिमालयन बैंकबाट पाकिस्तानको हबिब बैंक हिमालयन बैंकबाट बाहिरिएको छ । हबिबले हिमालयन बैंकबाट आफ्नो स्वामित्व बिक्री गरेसँगै राज्यले १३ करोड २२ लाख १८ हजार ७४९ रुपैयाँ पुँजीगत लाभकर पाएको छ ।
हबिबले आफ्नो स्वामित्वमा रहेको सेयर नेशनल लाइफलाई बिक्री गरेसँगै राज्यलाई २५ प्रतिशत पुँजीगत लाभकर तिरेको हो ।
बैंकले २ करोड ८० लाख १२ हजार ४४७ कित्ता सेयर प्रतिकित्ता ११८.८८ रुपैयाँले बिक्री गरेको हो । जसमा सय रुपैयाँ अंकित मूल्य हो ।बैंकले सेयर बिक्री गर्दा अंकित मूल्यमा १८.८८ रुपैयाँ थपेर सेयर बिक्री गरेको छ । थप मूल्यबाट भएको आयमा २५ प्रतिशत पुँजीगत लाभकर तिरेको हो ।
हिमालयन बैंकमा रहेको सेयर बिक्री भइरहेको समयमा हबिब बैंकका प्रतिनिधि नेपालमा रहेका छन् । हबिबका प्रतिनिधि गत साता नेपालमा आएका हुन् । प्रतिनिधिले यसैसाता राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ अधिकारीसँग भेट गर्ने तयारी रहेको छ ।
स्रोतका अनुसार गभर्नर अधिकारीसँगको भेटमा सेयर बिक्री भएको पैसा सकेसम्म छिटो लैजानका लागि सहजिकरण गरिदिन आग्रह गर्ने तयारी रहेको छ । गत साता नेपाल आएको टोली सबै काम सकेर यही साता फर्कने तयारीमा रहेको बताइएको छ ।






प्रतिक्रिया दिनुहोस्