वीरगञ्ज । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त वीरगञ्ज महानगरलाई विभिन्न संघसस्थाले विद्युतीय उपकरण र फर्निचर सहयोग गरेका छन् ।
सामाजिक उत्तरदायित्वअन्तर्गत एनपीएल सामाज कल्याण संस्थाले सात थान ‘डेस्कटप कम्प्युटर’ र तीन थान ‘प्रिन्टर’ उपलब्ध गराएको छ । वीरगञ्जस्थित महानगर कार्यालयमा आयोजित कार्यक्रममा संस्थाका निर्देशक अरविन्द अमात्यले उक्त सामग्री हस्तान्तरण गर्दै नगरवासीका लागि हुने सेवामा सहजता ल्याउन सहयोग गरेको बताए ।
त्यसैगरी निजी क्षेत्रको ब्रिटानिया नेपाल प्रालिले पनि आजै महानगरका लागि २० थान कुर्सी प्रदान गरेको छ। यसअघि सूर्य नेपाल प्रालिले ल्यापटप, कम्प्युटर र प्रिन्टर सहयोग गरेको छभने औषधि उत्पादक संघ, वीरगञ्ज इकाइले कम्प्युटर, प्रिन्टरसहितका विद्युतीय सामग्री उपलब्ध गराएको थियो ।
प्राप्त सहयोगले कार्यालय सञ्चालन गर्न सहज हुनाका साथै कर्मचारीमा मनोबल वृद्धि गरेको महानगरले जनाएको छ । महानगर प्रमुख राजेशमान सिंहले कठिन समयमा साथ र सहयोग गर्ने सबै संघ–संस्था र उद्यमी समुदायप्रति आभार व्यक्त गरे ।
‘महानगरको सम्पत्ति जल्नु भनेको नगरवासीकै सम्पत्ति नष्ट हुनु हो । यस्तो कठिन घडीमा साथ र सहयोगका हात अघि बढाउनु हामी सबैका लागि हौसला दिने काम हो । यसले महानगरलाई फेरी उठ्न प्रेरणा दिएको छ,’ उनले भने ।






प्रतिक्रिया दिनुहोस्