Skip to content

चुनौतीको सामना गरिरहेको एनआईसी एसिया बैंकको ‘फर्स्टम्यान’मा शाक्यको इन्ट्री, जोगाउन सक्लान साख

nabil bank

काठमाडौं । विगत केही वर्षदेखि केही व्यक्ति तथा नियामक निकायको नजरमा परेर विभिन्न चुनौतीको सामना गरिरहेको एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृत ‘सीईओ’ (बैंकको फर्स्टम्यान) मा सुजितकुमार शाक्य नियुक्त भएका छन् । एनआईसी एसिया बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले शाक्यलाई सीईओको जिम्मेवारी दिएको हो।

धेरैवटा बैंकमा काम गरिसकेका शाक्य ‘फर्स्टम्यान’मा रूपमा एनआईसी एसियामा पहिलो पटक काम गर्न लागेका हुन् । बैंकको सञ्चालक समितिले आगामी ३० दिनभित्र बैंकमा सीईओको कार्यभार सम्हाल्ने गरी शाक्यलाई नियुक्त गरिएको छ ।

बैंक सञ्चालक समितिले शाक्यलाई ४ वर्षे कार्यकालका लागि नियुक्त गरेको छ । सीईओ नियुक्त भएपछि शाक्यले बैंकलाई थप उचाइमा पुर्याउने बताएका छन्। शाक्य नबिल बैंकको वरिष्ठ डेपुटी सीईओ थिए। उनले नबिल बैंकमा कायम–मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।

शाक्यसँग बैंकिङको करिब ३ दशक अनुभव छ। उनी नबिल आउनुअघि ग्लोबल आइएमई बैंकमा थिए। त्यसअघि उनी जनता बैंकमा थिए। जनता ग्लोबलमा गाभिएपछि उनले ग्लोबलमा केही समय काम गरेका थिए। उनले जनताअघि सिभिल बैंकमा पनि काम गरेका थिए। त्योभन्दा अगाडि उनले एनआईसी एसिया बैंकमा नै पनि काम गरिसकेका छन् ।

उनीसँग नेपालका विभिन्न बैंकहरू नेपाल श्रीलङ्का मर्चेन्ट बैंक, हिमालयन बैंक, लक्ष्मी बैंक, बैंक अफ एसिया नेपाल, एनआईसी एसिया बैंक, सिभिल बैंक, जनता बैंक, ग्लोबल आईएमई बैंक लिमिटे लगायतका बैंकमा काम गरेको अनुभव छ। शाक्यले इन्स्टिच्युट अफ प्रोडक्टिविटी म्यानेजमेन्ट, लखनऊ, यूपी, भारतबाट व्यवसाय व्यवस्थापनमा स्नातकोत्तर गरेका छन्।

धेरैवटा बैंकमा काम गरिसकेका शाक्यलाई एनआईसी एसिया बैंकमा भने वित्तीय सूचकहरूमा व्यापक सुधार ल्याउनु पर्ने खालको काम गर्नुपर्ने चुनौती रहेको छ । २०७९ फागुनमा दुर्गा प्रसाईँले एनआईसी एसिया बैंकविरुद्ध सार्वजनिक रूपमा निम्नलिखित अभिव्यक्ति दिएका थिए । उनले आफ्नो फेसबुक मार्फत ‘एनआईसी एसिया बैंक डुब्न लागेको छ । बचतकर्ताले आफ्नो रकम तुरुन्त निकाल्नु होला’ भन्ने स्टाटस प्रकाशित गरे। त्यसपछि बैंकका केही निक्षेपकर्ताहरुले आफ्नो निक्षेप निकाल्दा बैंकको निक्षेप घटेको थियो ।

प्रसाईँले बैंकको बारेमा अन्य ठाउँ तथा कार्यक्रममा पनि ‘बैंकका मालिक अर्थात् विशाल ग्रुप १ वर्षभित्र देश छोडेर भाग्न आफ्नो व्यवहार मिलाउँदै छ र बचतकर्ताले आफ्नो रकम सुरक्षित राखौँ ।’ राख्यौ भन्ने खालको टिप्पणी गरेका थिए । प्रसाईँले गरेको सार्वजनिक अभिव्यक्तिको कारण बैंक प्रतिग्राहकको विश्वासमा पनि कमी आएको छ । तर, नेपाल राष्ट्र बैंकले भने उक्त बैंकमा निक्षेप कर्ताको निक्षेप सुरक्षित रहेको स्पष्ट गरेको थियो ।

यसैगरी, नेपाल राष्ट्र बैंकले बैंकका सञ्चालक, निर्देशक तथा तत्कालीन सीईओलाई चेतावनी दिइएको थियो । यसैगरी, राष्ट्र बैंकले केही वर्ष अगाडि बैंकलाई ऋण वर्गीकरण, कर्जा नोक्सानका लागि छुट्टाउने लोन लस प्रोभिजन, पुँजी पर्याप्तता, जोखिम भार लगायतका क्षेत्रमा नियम उल्लङ्घन गरेको भन्दै कारबाही पनि गरेको थियो । जसको कारण बैंकले २ आर्थिक वर्षसम्म आफ्ना लगानी कर्तालाई लाभांशसम्म बाँड्न पाएको थिएन ।

बैंकले ऋण सम्झौतामा लाग्ने ब्याजदर, किस्ता व्यवस्था, ऋणलगायत ग्राहकलाई सूचित गर्नुपर्ने महत्त्वपूर्ण सूचना स्पष्ट नदिएको भन्दै राष्ट्र बैंकले बैंकलाई कारबाही गरेको थियो ।

हाल यस बैंकको शाखा धेरै भएको कारण सञ्चालन खर्च पनि धेरै छ । जसको कारण बैंक शाखा व्यवस्थापन गर्नुपर्ने अवस्थामा रहेको छ । यसैगरी, यस बेला बैंकको गैर बैंकिङ सम्पत्ति पनि अत्यधिक बढ्दो अवस्थामा रहेको छ । जसको कारण बैंकले हरेक दिन जसो पत्रिकामा आफ्नो गैर बैंकिङ सम्पत्ति बिक्रीका लागि सूचना जारी गरिहरेको छ । शाक्यलाई निष्क्रिय कर्जाको व्यवस्थापन गर्न पर्ने चुनौती पनि छ ।

यसैगरी, गत आर्थिक वर्षमा बैंकले आफ्ना लगानीकर्तालाई लाभांश दिन सक्ने क्षमता नै ऋणात्मक रहेको छ । बैंकको नाफा, प्रतिसेयर आम्दानी, प्रतिसेयर नेटवर्थ लगायतका सूचकहरू पनि घट्दो अवस्थामा रहेका छन् ।

गत आर्थिक वर्षमा यस बैंकको नाफा १५ करोड ६७ लाख ७५ हजार रुपैयाँमात्र रहेको छ । अघिल्लो आर्थिक वर्षमा यस बैंकको नाफा १ अर्ब ९१ करोड ४८ लाख ९१ हजार रुपैयाँ रहेको थियो । बैंकको नाफा एक वर्षमा ९१.८१ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षमा यस बैंकको खुद ब्याज आम्दानी घटेको र इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घटेको छ ।

गत आर्थिक वर्षमा यस बैंकका खुद ब्याज आम्दानी ७ अर्ब ९६ करोड २५ लाख १९ हजार रुपैयाँ रहेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २.७८ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्षमा बैंकको यस्तो आम्दानी ८ अर्ब १८ करोड ८१ लाख रुपैयाँ थियो । अघिल्लो आर्थिक वर्षमा २ अर्ब १४ करोड ८५ लाख रुपैयाँमात्र इम्पेरमेन्ट चार्जका लागि छुट्ट्याएको यस बैंकले गत आवमा ३ अर्ब ५ करोड २ लाख रुपैयाँ छुट्ट्याएको छ । जसको कारण बैंकको खुद नाफा घटेको हो ।

चालु आर्थिक वर्षको दोस्रो महिनासम्म आउँदा यस बैंकले लोन लस प्रोभिजनमा १३ अर्ब १० करोड ५७ लाख रुपैयाँ छुट्ट्याएको छ । बैंकको अधिकांश ऋणको धितो सकारेर गैर बैंकिङ सम्पत्तिमा परिणत गरेको छ । जसको कारण बैंकको खराब कर्जा भने अन्य बैंकको तुलनामा केही कम देखिएको हो । गत आर्थिक वर्षको अन्त्यसम्म आउँदा बैंकको खराब कर्जा १.९२ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको दोस्रो महिनासम्म आउँदा यस बैंकको गैर बैंकिङ सम्पत्ति ४ अर्ब ५१ करोड १३ लाख रुपैयाँ रहेको छ ।

यसैगरी, बैंकको आम्दानी र प्रतिसेयर नेटवर्थ पनि घट्दो अवस्थामा छन् । गत आर्थिक वर्षमा यस बैंकको प्रतिसेयर आम्दानी १.४० रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षमा यस बैंकको प्रतिसेयर आम्दानी १७.२९ प्रतिशत रहेको थियो । एक वर्षमा यस कम्पनीको प्रतिसेयर आम्दानी १५.८९ प्रतिशत घटेको बैंकले जनाएको छ । यता गत आर्थिक वर्षमा यस बैंकको प्रतिसेयर नेटवर्थ १९९.३० रुपैयाँ रहेको छ । यो पनि अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ । अघिल्लो आर्थिक वर्षमा यस बैंकको यस्तो नेटवर्थ २०५.४७ रुपैयाँ रहेको थियो ।

गत आर्थिक वर्षमा यस बैंकको वितरण योग्य नाफा पनि ऋणात्मक रहेको छ । गत आर्थिक वर्षमा यस बैंकको वितरण योग्य नाफा ३ अर्ब ५६ करोड ९२ लाख रुपैयाँले ऋणात्मक रहेको छ । जसको कारण बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानी कर्तालाई लाभांश वितरण गर्न सक्ने सम्भावना छैन । बैंकले आफ्नो नाफाको रकम प्रोभिजन गर्नुपर्दा वितरण योग्य नाफा ऋणात्मक हुन पुगेको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime