काठमाडौं । पछिल्लो केही समययता नेपालमा एटिएम मेसिनहरुमा १ हजार रुपैयाँ दरका नोटको अभाव देखिन थालेको छ । बैंकहरुमा एटिएममा राख्न मिल्ने ‘फिट नोट’ को केही अभाव बढ्न थालेको छ ।
अहिले एटिएममा गएर पैसा निकाल्दा एक हजार र ५ सय दरका नोट निकाल्न सहज छैन । एटिएममा सुकिला नोट चाहिन्छ । सुकिला नोट भयो भने सहजै निकाल्न सकिन्छ । बजारमा सुकिला नोट कम भएपछि बैंकहरुले केही पुराना नोट राख्ने गरेका छन् । जसका कारण एटिएमबाट पैसा निकाल्दा अड्किने समस्या रहेको स्वयम्र बैंकरहरुले नै बताउँदै आएका छन् ।
हाल नेपाल राष्ट्र बैंकले १ हजार र ५ सय दरका नोकट सीमित मात्रामा वितरण गरेको छ । जसका कारण एटिएममा पर्याप्त मात्रामा नोट छैनन् । केही बैंकले अस्थायी रूपमा ५०० र १०० रुपैयाँका नोट राखेर एटिएम सञ्चालन गरिरहेका छन्, तर यसले ठूलो रकम निकाल्न चाहने ग्राहकलाई असहज बनाएको बैंकरहरुको भनाइ छ ।
यता राष्ट्र बैंकले एटिएम मेसिनमा रकमको सिमा पनि घटाएको छ । पहिला एक पटकका लागि २५ हजारको सिमा रहेको थियो । त्यो सिमा केही समय अघि राष्ट्र बैंकले २० हजारमा कायम गर्न निर्देशन दिएको एक बैंकका सीईओले बताए ।
‘एटिएमका लागि आवश्यक पर्ने फिट नोटको अभाव भएपछि हामीले बैंकमा सेवाग्राहीले लिएर आउने नगदबाट अली सुकिला नोट छान्ने गरेका छौं ‘एक सीईओले भने, ‘कुनै कुनै दिन त, काउन्टर बन्द भएपछि काउन्टरमा रहेका कर्मचारीले सबै पैसा संकलन गरेर फिट नोटका लागि उपयुक्त हुने खालका छान्ने गरेका छौं । नोट पूरै अभाव भनिहाल्न मिल्दैन । केही असहज भने भएको हो ।’
पर्याप्त फिट नोट नहुँदा बैंकका कर्मचारीलाई नोट छान्ने चटारो बढ्दो छ । लामो समयदेखि राष्ट्र बैंकले नगद बोकेर हिँडनुभन्दा पनि डिजिटल कारोबारलाई प्रोत्साहन दिँदै आएको छ । एटिएममा नोट कम हुँदा डिजिटल भुक्तानीको प्रयोग केही बढेको होला । सहर बाहिरका सेवाग्राहीलाई विविध कारण डिजिटल कारोबारभन्दा नगद नै बढी प्रभावकारी हुने गर्छ ।
विगत ६ वर्षदेखि राष्ट्र बैंकले एक हजार र ५ सय दरका नयाँ नोट छापेको छैन । त्यसको असर पनि बैंकहरुमा एटिएममा राख्ने फिट नोटको केही अभाव छ । राष्ट्र बैंकले यसअघि २०७६ सालमा एक हजार दरका ४० करोड थान र ५ सय दरका १९ करोड थान नोट छापेको थियो । त्यसपछि नोट छापेको छैन । उक्त नोट २०७७ साउनदेखि चलनचल्तीमा ल्याइएको थियो ।
करिब ६ वर्ष पहिला छापिएका नोट एटिएममा राख्दा मेसिनमा अड्किने समस्या क्रमैसँग बढ्दो छ । राष्ट्र बैंकले २०७९ सालमा भारतीय कम्पनी सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन अफ इन्डियालाइ एक हजार र ५० रुपैयाँ दरका नोट छाप्ने ठेक्का दिएको थियो ।
भारतीय कम्पनीले छापेको नमुना नोट गुणस्तरहीन भएको भन्दै राष्ट्र बैंकले उक्त ठेक्का रद्द गरेको छ । ठेक्का रद्दपछि भारतीय कम्पनीले अदालतमा मुद्दा हालेको छ। जसका कारण नोट छाप्ने काम ढिलाइ भएको छ ।






प्रतिक्रिया दिनुहोस्