Skip to content

मूल्य खस्किएपछि छिल्लीकोटका अदुवा किसान मारमा

nabil bank

घोराही । यहाँको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटका किसान विकास खड्काको बारीमा अनुमानित ५० क्विन्टल अदुवा छ । यतिबेला बारीको अदुवा खनेर बजार पठाइसक्नु पर्ने हो । तर, बजार भाउ नभएका कारण खड्काले अदुवा अझै खनेका छैनन् ।

गत वर्ष यही याममा ५५ देखि ६० प्रतिकिलो अदुवा बेचेका खड्कालाई अहिले बजार भाउले निकै खिन्न बनाएको छ । बजार भाउ ३० देखि ३५ रूपैयाँ रहेका कारण अदुवा खन्ने जाँगर नलागेको उनले बताए ।

अन्य कृषि बाली छोडेर अदुवा रोप्नुभएका उहाँ यो वर्ष भाउ नपाउँदा निराश छन् । खड्काले भने, ‘यो वर्ष अदुवा बिक्रीबाट लगानी पनि नउठ्ने अवस्था छ, बजार भाउ नपाउँदा यो वर्ष अझै खनेको छैन ।’ बेमौसमी वर्षाले पनि अदुवामा केही क्षति गरेको उनले बताए । उनले गत वर्ष दुई लाख रुपैयाँको अदुवा बिक्री गरेका थिए ।

छिल्लीकोटकै पलबहादुर खड्काले पनि गत वर्ष अदुवाले भाउ पाएको देखेर ५० हजार रूपैयाँको बीउ किनेर अदुवा लगाए। तर, अहिले अदुवाको भाउ सुनेर उहाँ पनि निराश छन् । बीउ किन्दाखेरिकै ५० हजारको सावाँब्याज अहिले ६५ हजार रुपैयाँ पुगेको छ । अदुवाको बीउ किन्दा लिएको ऋणको साँवाब्याज कसरी तिर्ने भन्ने पिरलो उनलाई छ ।

बजारमा व्यापारीले सस्तोमा भारतबाट अदुवा भित्र्याउँदा स्थानीयले उत्पादन गरेको अदुवा बिक्री नहुने अवस्था भएको छ । उनले भने, ‘बीउको ऋण तिर्न समस्या छ । अहिलेको अवस्थामा रहेको मूल्यमा अदुवा बिक्री गर्दा ऋण तिर्न पनि पुग्दैन ।’ पहाडी क्षेत्रमा जङ्गली जनावरले क्षति नगर्ने र राम्रो आम्दानी हुने भएपछि अधिकांश किसानले अदुवा रोप्ने गरेका छन् । तर मूल्य नपाउँदा किसान मर्कामा परेको स्थानीय पूर्णबहादुर पुन बताए ।

उनका अनुसार यहाँका स्थानीय ३०/३५ घरले अदुवाखेती गर्ने गरेका छन् । छिल्लीकोट क्षेत्रबाट मात्रै वार्षिक ६०० क्विन्टल बढी अदुवा बिक्री हुने गरेको छ । अदुवाको बजारीकरणमा स्थानीय सरकारले सहयोग गरेमा सहज हुने उनीहरुको आशा छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime