काठमाडौं । नेपाल राष्ट्र बैंक र भारतीय रिजर्व बैंक (आरबीआई) को साझा समन्वय संयन्त्र (जेटीसीसी) को नवौँ बैठक काठमाडौंमा सम्पन्न भएको छ ।
उक्त बैठकको उद्घाटन गर्दै गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले मौद्रिक तथा वित्तीय क्षेत्रका अन्तरदेशीय सरोकारका विषयमा परिणाममुखी संवाद र तिनलाई प्राविधिक रूपमा समाधानका लागि उक्त संयन्त्र प्रभावकारी रहेको बताए ।
त्यस अवसरमा उनले मौद्रिक नीति, विदेशी विनिमय व्यवस्थापन, नियमन, सुपरिवेक्षण र भुक्तानी प्रणालीका उत्कृष्ट अभ्यासको आदानप्रदान, प्राविधिक क्षमता अभिवृद्धि र नीति तर्जुमाको प्रभावकारिताको सन्दर्भमा ‘जेटीसीसी’ महत्वपूर्ण मञ्चको रूपमा स्थापित भएको स्पष्ट पारे ।
आगामी दिनमा उक्त मञ्चमार्फत दुई केन्द्रीय बैंकबीचको संस्थागत सम्बन्ध र प्राविधिक सहयोगको आदानप्रदान थप सघन बन्दै जाने विश्वास समेत गभर्नर पौडेलले व्यक्त गरे ।
त्यस अवसरमा भारतीय रिजर्व बैंकका कार्यकारी निर्देशक एवम् ‘जेटीसीसी’ संयोजक अर्णबकुमार चौधरीले उक्त संयन्त्र स्थापना भएयता मुद्रा व्यवस्थापन, वैदेशिक व्यापार र भुक्तानी कारोबारको सहजीकरण, वित्तीय समावेशीकरणको प्रवद्र्धनका सन्दर्भमा फलदायी अभ्यासहरू कार्यान्वयनमा आएको विचार व्यक्त गरे ।
‘जेटीसीसी’मार्फत दुई केन्द्रीय बैंकको पारस्परिक सहकार्य र समन्वय आगामी दिनमा थप सबल हुने विश्वास उहाँले व्यक्त गरे । बैठकमा गभर्नरको कार्यालयका कार्यकारी निर्देशक एवम् राष्ट्र बैंकका तर्पmबाट ‘जेटीसीसी’ संयोजक राजनविक्रम थापाले दुईपक्षीय हित प्रवद्र्धनका निम्ति उक्त संयन्त्रलाई आगामी दिनमा सार्थक र परिणाममुखी बनाउनुपर्ने आवश्यकता औँल्याए । बैठकको दोस्रो सत्रमा दुवै केन्द्रीय बैंकका ‘जेटीसीसी’सम्बद्ध अधिकारीहरूबीच द्विपक्षीय सरोकारका विभिन्न एजेण्डामा छलफल भएको थियो ।
त्यस अवसरमा नेपाल र भारतबीच अन्तरदेशीय विद्युतीय भुक्तानी कारोबारको सहजीकरण र अन्य समसामयिक विषयमा छलफल भएको थियो । यसै गरी, मौद्रिक नीति, तरलता व्यवस्थापन, विदेशी विनिमय व्यवस्थापनलगायतका विषयमा आरबीआईले गरेका असल नीतिगत अभ्यासलाई अवलम्बन गर्न सकिने सम्भावनाबारे छलफल भएको थियो ।






प्रतिक्रिया दिनुहोस्