काठमाडौं । नेपालमा जलवायु परिवर्तनका कारण बढ्दो प्राकृतिक विपद्का जोखिमहरू व्यवस्थापन गर्न एसियाली विकास बैंक (एडिबी), विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) र स्विस विकास तथा सहकार्य एजेन्सी (एसडीसी) बिच सहकार्य भएको छ ।
उक्त दातृ संस्थाले तीन वर्षे सम्झौता पत्रमा हस्ताक्षर गर्दै नेपाल सरकारलाई विपद् जोखिम न्यूनीकरण तथा जलवायु प्रतिरोधी पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल पछिल्ला वर्षहरूमा बाढी, सुक्खा, पहिरो, हिमनदी पग्लनेजस्ता जलवायुजन्य संकटको सामना गर्दै आएको छ । जसको कारण मानवीय जीवन र अर्थतन्त्रमा गहिरो असर पारेको छ। जलविद्युत् जस्ता प्रकृतिमुखी क्षेत्रहरू-देशको आर्थिक वृद्धि र ऊर्जा सुरक्षाका आधार स्तम्भ-यी परिवर्तनका प्रत्यक्ष प्रभावमा परिरहेका छन्।
एडीबीका लागि नेपालका निर्देशक अर्नाउड काउचोइसले भने, ‘जलवायु प्रतिरोधी पूर्वाधार र विपद् जोखिम व्यवस्थापनमा लगानी गर्नु अहिलेभन्दा महत्त्वपूर्ण कहिल्यै थिएन । यसले समुदायहरूलाई सुदृढ पार्ने, सम्पत्ति र संरचना सुरक्षित गर्ने मात्र होइन, रोजगारी सिर्जना र दीर्घकालीन आर्थिक वृद्धि पनि सुनिश्चित गर्छ।’ उनका अनुसार, एडीबी, आईडीए र एसडीसीले संयुक्त समन्वय र प्राविधिक सहकार्यमार्फत नेपालमा जलवायु प्रभावहरूसँग लड्ने क्षमता बढाउने र लगानीका फाइदा दीर्घकालीन रूपमा जनस्तरसम्म पुर्याउने उद्देश्य लिएका छन् ।
साझेदार संस्थाहरूले नेपाल सरकारलाई दुधकोशी नदी बेसिन (कोसी प्रदेश) भित्र लचिलो पूर्वाधार विकास गर्न तथा जलविद्युत् क्षेत्रलगायतका परियोजनाहरूमा सहयोग गर्ने योजना बनाएका छन्। ‘नेपाल विश्वका जलवायु आघातप्रति अत्यन्त संवेदनशील देशहरूमध्ये एक हो।’ विश्व बैंकका मालदिभ्स, नेपाल र श्रीलंकाका विभागीय निर्देशक डेविड सिसलेन भन्छन्, ‘त्यसैले जोखिम घटाउने र संकटका लागि तयारी गर्ने निरन्तर प्रयासहरू नेपालका विकास योजनाको केन्द्रमा हुनुपर्छ। एडिबी, विश्व बैंक र एसडीसीले संयुक्त रूपमा आफ्नो अनुभव, स्रोत र प्रतिबद्धता प्रयोग गरी नेपालको दिगो विकासलाई सुदृढ बनाउनेछन्।’
यस साझेदारीले नेपालको विपद् प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ। यसअन्तर्गत बहुविपद् जोखिम मूल्यांकन मोडेल विकास, व्यापक प्रारम्भिक चेतावनी प्रणाली स्थापना, जलवायु जोखिम व्यवस्थापन र जलवायु प्रतिरोधी पूर्वाधारका लागि वित्तीय सेवाको प्रवर्द्धन, ज्ञान आदान–प्रदान र जनचेतना विस्तारजस्ता कार्यहरूलाई प्राथमिकता दिइनेछ।
साथै, संयुक्त विश्लेषणात्मक अध्ययन, क्षमता विकास, संस्थागत सुदृढीकरण र स्थानीय सरोकारवालासँग नजिक समन्वयमा प्राविधिक सहकार्य पनि अघि बढाइनेछ। एसडीसीका सहायक महानिर्देशक तथा एसिया–अमेरिका विभागका प्रमुख राजदूत आर्नो विकीले भने, ‘स्विट्जरल्याण्ड नेपालमा लचिलोपन र दिगो विकास प्रवर्द्धनमा दृढ प्रतिबद्ध छ। यस साझेदारीमार्फत स्विस शैक्षिक तथा निजी क्षेत्रका विज्ञहरूको टोलीलाई नेपालका सरोकारवालाहरू, एडिबी र आईडीएसँग सहकार्य गर्न परिचालित गरिनेछ, जसले विपद् जोखिम न्यूनीकरण र जलवायु प्रतिरोधी पूर्वाधारमा नवीन समाधानहरू ल्याउनेछ।’
उनका अनुसार, यो सहकार्य स्विट्जरल्याण्डको दीर्घकालीन क्षेत्रीय संलग्नता र ‘समावेशी, ज्ञान–आधारित साझेदारीमार्फत सुरक्षित र दिगो भविष्य निर्माण’ गर्ने विश्वासको प्रतिबिम्ब हो। यस साझेदारीमार्फत एडीबी, आईडीए र एसडीसीले नेपालमा दिगो र जलवायु प्रतिरोधी विकास प्रवर्द्धन गर्ने साझा प्रतिबद्धता पुनः दोहो¥याएका छन्। उनीहरूले आपसी समन्वय सुदृढ गर्दै, दोहोरोपन हटाउँदै, र संयुक्त स्रोत तथा विशेषज्ञता प्रयोग गरेर दीर्घकालीन प्रभावकारी परिणाम सुनिश्चित गर्ने उद्देश्य लिएका छन्।
प्रतिक्रिया दिनुहोस्