काठमाडौं। प्रधानमन्त्री सुसीला कार्कीले नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित ‘राष्ट्रिय आर्थिक बहस २.०’ मा सहभागी हुँदै देशको आर्थिक पुनरुत्थानका लागि निजी क्षेत्र, श्रमिक र सरकारबीचको सहकार्य अत्यावश्यक रहेको बताइन्। उनले मुलुकको आर्थिक रूपान्तरणका लागि पारदर्शिता, सुशासन र सहकार्यलाई प्रमुख नीतिगत आधारका रूपमा अघि सार्ने सरकारको नीति स्पष्ट पारिन्।
कार्यक्रममा प्रधानमन्त्री कार्कीले भनिन्, “हाम्रो अर्थतन्त्रका तीन आधारस्तम्भहरू — रेमिट्यान्स, पर्यटन र प्राकृतिक स्रोत — बलिया छन्, तर संरचनागत कमजोरी र पुँजी पलायनका कारण हामीले अपेक्षित परिणाम हासिल गर्न सकेका छैनौं। अब हामी सबै मिलेर यो चुनौती पार गर्नुपर्छ।”
प्रधानमन्त्री कार्कीले निजी क्षेत्रलाई आर्थिक समृद्धिको मूल इन्जिन भन्दै आभार व्यक्त गरिन्। उनले भनिन्, “उद्योगी–व्यवसायीहरू मुलुकको समृद्धिको जग हुन्। उनीहरूको मनोबल उठेसँगै अर्थतन्त्र उठ्छ। सरकार सहकार्यका लागि सधैं तयार छ।”
उनले थपिन्, “निजी क्षेत्र सरकारको साझेदार हो। उनीहरूले राज्यलाई कर मात्र दिएका छैनन्, रोजगारी सिर्जना र सामाजिक सुरक्षाको भार पनि व्यहोरिरहेका छन्।”
भर्खरै सम्पन्न जेनजी आन्दोलनको सन्दर्भमा प्रधानमन्त्रीले युवाहरूको म्यान्डेटलाई परिवर्तनको प्रेरणा बताइन्। उनले भनिन्, “यो आन्दोलनले देखाएको छ — घुसखोरी, लेवी र नीतिगत चलखेल अब सह्य छैन। यो पुस्ताले पारदर्शी शासन र न्यायपूर्ण अर्थतन्त्र चाहन्छ।”
प्रधानमन्त्री कार्कीले आन्दोलनका क्रममा क्षति व्यहोरेका उद्योग–व्यवसायी र युवाहरूका लागि राहत र पुनर्संरचनाका कार्यक्रम तत्काल अघि बढाइने बताइन्।
प्रधानमन्त्री कार्कीले भन्सार, लेखा प्रणाली र सार्वजनिक प्रशासनमा आमूल सुधार ल्याउने प्रतिवद्धता जनाउँदै भनिन्, “हामी ‘फेसलेस प्रशासन’ लागू गर्दैछौं, जसले भ्रष्टाचारमा उल्लेखनीय कमी ल्याउनेछ। सम्पत्ति शुद्धता र लेखापरीक्षण प्रणाली सुदृढ बनाइनेछ।”
उनले जनाइन्, “राज्यको सम्पत्तिमाथि लुट, निजी क्षेत्रमाथि शंका र राजनीतिक आवरणमा हुने दुरुपयोग अब अस्वीकार्य छ। कानुनको शासन र सुरक्षाको प्रत्याभूति सुनिश्चित गर्न सरकार दृढ छ।”
प्रधानमन्त्री कार्कीले अर्थतन्त्रलाई पुनर्जीवित गर्न सहकार्यलाई इन्जिन, इन्धन र इन्जिनियरको सम्बन्धसँग तुलना गर्दै भनिन्, “नेपाल निर्माणका इन्जिनियर नेपाली स्वयं हुन्, सरकार र समाज इन्जिन हुन्, र उद्यमी तथा श्रमिक त्यसका इन्धन हुन्।”
उनका अनुसार सरकार उत्पादनमुखी अर्थतन्त्रतर्फ उन्मुख हुँदै जलविद्युत, पर्यटन र कृषिलाई प्राथमिकतामा राखेर नीति निर्माण गर्दैछ। “हामी रेमिट्यान्समा निर्भरता घटाउँदै आफ्नै उत्पादन र लगानीमा आधारित आत्मनिर्भर अर्थतन्त्रतर्फ अघि बढ्दैछौं,” उनले भनिन्।
आत्मविश्वास र भविष्यप्रतिको दृष्टि
प्रधानमन्त्री कार्कीले देशले भोगेका विपद् र संघर्षहरूले नेपालीलाई अझ बलियो बनाएको बताउँदै भनिन्,
“हामीले भूकम्प, महामारी र आन्दोलन पार गरेका छौं। अहिले हामी आत्मविश्वासका साथ अघि बढ्ने चरणमा छौं। अब भय होइन, विश्वासका साथ काम गर्नुपर्छ।”
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई उनले लोकतान्त्रिक अभ्यास सुदृढ गर्ने अवसरका रूपमा लिएर भनिन्,
“स्वच्छ निर्वाचनमार्फत हामीले विश्वलाई देखाउनेछौं — नेपाल आत्मनिर्भर र आशावादी राष्ट्र हो।” प्रधानमन्त्री कार्कीले भनिन्, “हाम्रो देश हामीले नबनाए कसैले आएर बनाइदिँदैन। हामी नै हाम्रा सन्ततिका लागि बस्नलायक नेपाल निर्माण गर्नेछौं। राष्ट्रिय आर्थिक बहस २.० ले समावेशिता, समानता र समृद्धिको खाका तय गर्नेछ।”






प्रतिक्रिया दिनुहोस्