काठमाडौं । वित्तीय क्षेत्रमा तरलता धेरै भए पनि लगानीका अवसर सीमित भएपछि बैंकहरूले अहिले मुद्दती निक्षेप (एफडी) लिनै छाडेका छन् । घट्दो कर्जा लगानीको कारण बैंकिङ क्षेत्रले संस्थागत मुद्दती निक्षेपमा पैसा लिन आनाकानी गरिरहेका हुन्।
एक सहकारी संस्थाका सञ्चालक भन्छन्, ‘अहिले संस्थागत लगानीकर्ताको निक्षेप बैंकहरूले २.५ देखि २.७५ प्रतिशत ब्याजदरमा पनि लिन मानिरहेका छैनन् । बैंकमा निक्षेप राख्न पनि पावर लगाउन पर्ने अवस्था छ ।
बैंकमा राखेको निक्षेपलाई निरन्तरता दिन पावर लगाउन पर्ने अवस्था छ ।’ कुनै समय निक्षेप लिनका लागि निक्षेप कर्तालाई तानातान गर्ने बैंकरहरू अहिले निक्षेप लिन आउनुस्भन्दा पनि खासै चासो नदेखाउने अवस्थामा रहेको उनी बताउँछन् ।
अहिले सरकारी संस्थान, बीमा क्षेत्र, सहकारी क्षेत्र लगाएका सम्पूर्ण संस्थागत लगानीकर्ताको निक्षेप बैंकमा राख्न पावर लगाउनुपर्ने अवस्था रहेको निक्षेपकर्ताहरू बताउँछन् । पछिल्लो केही समय यता अर्थतन्त्रमा देखिएको सुस्तताको कारण बैंकको कर्जा लगानी घट्दो अवस्थामा रहेको छ ।
अर्थतन्त्रमा देखिएका विभिन्न चुनौतीहरू जस्तै कोरोना महामारीको असर नसकिँदै भएको जेनजी आन्दोलनले लगानी क्षेत्रको मनोबल खस्किँदो अवस्थामा रहेको छ । जसको कारण निजी क्षेत्रमा ऋण माग घटेको छ ।
आयातमा कमी, निर्माण क्षेत्रको गतिविधि कम हुनु, र सरकारी खर्च समयमै नहुने समस्या लगायतका कुराले पछिल्लो केही समययता बैंकहरूबाट कर्जा लगानी कम भइरहेको छ । जसको कारण बैंक तथा वित्तीय संस्थामा लगानी योग्य रकम थुप्रिएर बसेको छ । यसले गर्दा बैंकहरूले आफ्ना निक्षेपकर्तालाई दिने कर्जाको ब्याजदर घट्दो अवस्थामा छ भने बैंकहरू थप निक्षेप थुपारेर बस्ने मुडमा देखिएका छैनन् ।
नेपाल राष्ट्र बैंकका अनुसार गत मंगलबारसम्म ७४ खर्ब ७९ अर्ब रुपैयाँ निक्षेप संकलन भएको र ५६ खर्ब ३६ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ । मंगलबारसम्म आउँदा बैंकहरूको (कर्जा निक्षेप अनुपात) सिडी रेसियो ७४.४९ प्रतिशत रहेको छ । राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले सिडी रेसियो ८० प्रतिशतसम्म पु¥याएर कर्जा लगानी गर्न पाउने व्यवस्था रहेको छ ।
बैंकर्सहरूका अहिले सबै बैंकमा तरलता प्रशस्त छ । ऋण माग घटेकाले एफडीमा उच्च ब्याज दिने आवश्यक नै छैन । धेरै बैंकले नयाँ एफडी नलिने मुडमा रहेको एक बैंकर बताउँछन् । पुराना एफडिहरू नै नवीकरण गर्न सकस भइरहेको उनी बताउँछन् ।
यसैगरी, राष्ट्र बैंकका अनुसार गत मंगलबारसम्म बैंकको चालु आवको दोस्रो महिनासम्म बैंकहरूले निक्षेपमा दिने ब्याजदर औसत २.७५ प्रतिशत रहेको छ । नेपाल सरकारका विभिन्न मन्त्रालय, विभाग, र कार्यालयहरूले आफ्नो राजस्व र कोष बैंकमार्फत सञ्चालन गर्छन् । नेपाल विद्युत् प्राधिकरण, नेपाल आयल निगम, नेपाल टेलिकम र नागरिक उड्डयन प्राधिकरण, जस्ता सार्वजनिक संस्थाहरूले पनि ठूलो परिमाणमा रकम बैंकमा निक्षेप गर्छन् ।
यसैगरी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष लगायतका कोषहरूले पनि आफ्नो कोषको ठूलो हिस्सा वाणिज्य बैंकको निक्षेपमा राख्ने गर्छन् । यी निकायहरू बैंकहरूका लागि दीर्घकालीन निक्षेप स्रोत हुन् । जीवन र निर्जीवन दुवै प्रकारका बीमा कम्पनीहरूले आफ्नो संकलित प्रिमियम रकम बैंकमा निक्षेप राख्ने गरेका छन् । यता ठूला सहकारी संस्थाले पनि वाणिज्य बैंको निक्षेपमा लगानी गरेका हुन्छन् ।
बैंकले एपडीमा पैसा राख्न बन्द गर्दा वा ब्याजदर सस्तो बनाउँदा माथि उल्लेखित संस्थाको नाफा लगायतका सूचकमा गिरावट आउने देखिएको छ । बीमा कम्पनीले चालु आर्थिक वर्षको दोस्रो महिनासम्म ६ खर्ब ७७ अर्ब ३६ करोड १९ लाख रुपैयाँ जम्मा गरेका छन् ।
कात्तिक महिनासम्मको बैंकहरूको संस्थागत लगानीकर्ता तर्फको निक्षेपको ब्याजदर औसत ३.६५ प्रतिशत रहेको छ । एक महिनामा नै बैंकहरूको संस्थागत लगानीकर्ताको निक्षेपको ब्याजदर ०.२२ प्रतिशतले घटेको छ। जसको असर बीमा कम्पनीको नाफामा पर्ने हुन्छ । बीमा कम्पनीहरूको नाफा घट्दा यसले बिमितले पाउने बोनस पनि घटाउँछ ।






प्रतिक्रिया दिनुहोस्