काठमाडौं । गण्डकी प्रदेशमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको औद्योगिक कर्जा घटेको छ । एक वर्षको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट औद्योगिक क्षेत्रमा प्रवाह हुने कर्जा गत असार मसान्तसम्म ९.९९ प्रतिशतले घटेर २७ अर्ब ९१ करोड रुपैयाँमा सीमित भएको छ । पछिल्लो केहि वर्ष यता अर्थतन्त्रमा देखिएको समस्याको कारण यस क्षेत्रमा जाने कर्जा घटेको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले ३१ अर्ब १ करोड रुपैयाँ औद्योगिक कर्जा प्रवाह गरेका थिए । गण्डकी प्रदेशमा प्रवाहित कुल कर्जामा औद्योगिक कर्जाको हिस्सा ७.८२ प्रतिशत रहेको छ ।
यस प्रदेशमा सबैभन्दा धेरै औधोगिक कर्जा निर्माण उपशीर्षकमा गएको छ । राष्ट्र बैंकका अनुसार यस शिर्षकमा ८ अर्ब ३३ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । यसैगरी, गैर खाद्य वस्तु उत्पादन सम्बन्धी उपशीर्षकमा ८ अर्ब २० करोड रुपैयाँ, कृषि वन तथा पेय पदार्थ उत्पादन सम्बन्धी उपशीर्षकमा ७ अर्ब ६१ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।
यसैगरी, धातुका उत्पादन, मेसिनरी तथा ईलेक्ट्रोनिक उत्पादन सम्बन्धी उपशीर्षकमा २ अर्ब ८८ करोड रुपैयाँ, विद्युत, ग्यास तथा पानी उत्पादन सम्बन्धी उपशीर्षकमा ५४ करोड रुपैयाँ र खानी उत्पादनमा उपशीर्षकमा ३२ करोड रुपैयाँ लगानी गरेको छ ।






प्रतिक्रिया दिनुहोस्