काठमाडौं । कामना सेवा विकास बैंकले १९ औं वार्षिकोत्सव मनाएको छ । बैंकले आफ्नो १९ औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गरी आफ्नो वार्षिकोत्सव सम्पन्न गरेको हो।
बैंकले कार्तिक २७ गते बिहीबार देशव्यापी रूपमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो केन्द्रीय कार्यालय सहित सम्पूर्ण क्षेत्रीय कार्यालयहरूमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न स्थानहरूमा सम्पन्न भएको रक्तदान कार्यक्रमबाट कुल ४२९ पिन्ट रगत संकलन भएको छ ।
बैंकका सञ्चालक भीम प्रसाद तुलाचनबाट बैंकको बुटवल क्षेत्रमा भएको रक्तदान कार्यक्रमको समुद्घाटन भएको थियो । केन्द्रीय कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले हिमाल हस्पिटल, रक्तसञ्चार केन्द्रकी भावना पाण्डेलाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गरेको थियो ।
रक्तदान कार्यक्रम कोसी प्रदेशको विराटनगर शाखा, मधेस प्रदेशको बर्दिबास शाखा, नारायणगढ क्षेत्रको नारायणगढ शाखा, पोखरा क्षेत्रको न्युरोड पोखरा शाखा, बुटवल क्षेत्रको बुटवल शाखा र पश्चिम क्षेत्रको नेपालगन्ज शाखामा भएको रक्तदान कार्यक्रममा क्षेत्रीय प्रमुख, स्थानीय समाजसेवी, रक्तदाता तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा अन्तर बैंक तथा वित्तीय संस्था स्तरीय फुटसल कप (पाँचौँ संस्करण) पनि आयोजना गरेको थियो । उक्त प्रतियोगितामा पुरुष तर्फ सिद्धार्थ बैंक र महिला तर्फ लुम्बिनी विकास बैंक विजयी भएको थियो । १९ औं वार्षिकोत्सवकै अवसरमा बैंकको अमरसिंह शाखाले अमरसिंह उच्च मावि र पोखरा न्युरोड शाखाले पार्दी माविमा वित्तीय साक्षरता कार्यक्रम समेत सम्पन्न गरेका छन् ।
वार्षिकोत्सवको अवसर पारेर बैंकले नयाँ निक्षेप योजना ‘अल्फा ग्रो’ समेत सार्वजनिक गरेको छ । बैंकका अनुसार यो खाता १८ वर्ष सम्मका उमेर समूहका बालबालिकाहरूलाई लक्षित गरिएको हो । ‘अल्फा ग्रो’ खाताको विशेषतामा, खाता खोल्ने ग्राहकहरूलाई बैंकले आकर्षक खुत्रुके उपलब्ध गराउने र खातावालाको ५० हजार रुपैयाँसम्मको जीवन बीमा बैंकले नै व्यवस्था गर्नेछ ।
उक्त जीवन बीमाको प्रिमियम, खातावाला १८ वर्ष नपुग्दासम्म बैंकले नै भुक्तानी गर्ने बैंकले जनाएको छ । जसले बालबालिकाको भविष्यलाई सुरक्षित र दिगो बनाउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । ‘अल्फा ग्रो खाता मार्फत बालबालिकामा बचत गर्ने बानीको विकास र अभिभावकहरूलाई भविष्यमुखी वित्तीय सुरक्षा प्रदान गर्ने उद्देश्य बैंकले लिएको छ ।
प्रतिक्रिया दिनुहोस्